विराटनगर । साना तथा मझौला व्यवसायले न्यूनतम श्रोतसाधनमा पनि नयाँ नयाँ रोजगारीका अवसरहरूको सिर्जना गरेर अर्थतन्त्रको विकासमा योगदान पुर्याएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा स्टेपअप परियोजना आसमान नेपालको सहकार्यमा बुधबार विराटनगरमा आयोजित साना तथा मझौला व्यवसायीहरूको व्यापार प्रवर्द्धन तथा श्रम संसार वेभ पोर्टल सम्बन्धी कार्यशाला गोष्ठीमा साना उद्योगीहरूको योगदानबारे चर्चा गरिएको हो ।
महासंघ कोशी प्रदेश समितिका सदस्य राजन श्रेष्ठको अध्यक्षतामा भएको कार्यशालामा मुलुकको आर्थिक एवं सामाजिक विकासमा लघु, घरेलु तथा साना उद्योग व्यवसायले महत्वपूर्ण टेवा पुर्याएको जनाइएको हो ।
नेपाल चार्टर्ड एकाउन्ट संस्था (इक्यान) कोशी प्रदेशका पूर्वअध्यक्ष मनोज अधिकारीले व्यापार प्रवद्र्धन, विद्यमान कर तथा करसम्बन्धी नीतिबारे कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेका थिए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ अध्यक्ष चेतन निरौला, मासु व्यवसायी महासंघका सुभाषचन्द्र शिवाकोटी, विराट बायोटेक सञ्चालक ढुन्डीराज ढकाल, ग्रिन यार्ड एग्रोफार्मका संचालक गिरिराज बस्नेत, ढाका उद्योगी चन्द्रकला राई, महिला उद्यमी अमृता भण्डारी र सुनिता छाराहाङ लगायतले व्यवसाय प्रवर्द्धन र कर सम्बन्धी विषयका कारण साना तथा लघु उद्योगमा परेका समस्याबारे आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा महासंघ कोशी प्रदेश समितिले सञ्चालनमा ल्याएको व्यवसायिक विकास सेवाबारे जानकारी गराइएको थियो । स्टेप अप परियोजनाको तर्फबाट युवराज बास्तोलाले श्रम संसार वेभ पोर्टल सम्बन्धी अभिमुखीकरण गरेका थिए । त्यस्तै आसमान नेपालका परियोजना संयोजक गणेश दाहालले कार्यक्रमको आवश्यकता र उद्देश्यबारे जानकारी गराएका थिए ।
View : 387
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved