Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कांग्रेसको निर्णयलाई डा. शेखरको चुनौती

आफ्नै नेतृत्वमा सरकार बन्ने प्रचार

उद्‌घोष संवाददाता
१९ माघ २०८२, सोमवार

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले आइतबार दिउँसो आफ्नो आधिकारिक फेसबुक पेजमा एउटा सामग्री पोस्ट गर्यो । निर्वाचनमा खडा भएका उम्मेद्वारहरूले चुनाव प्रचारको सामग्री राख्नु अन्यथा होइन । तर, प्रचार सामग्रीमा जे लेखेर पोस्ट भएको छ, त्यसले भने पार्टी केन्द्रीय समितिको आधिकारिक निर्णयलाई सोझै चुनौती दिएको छ । 

नेता  कोइरालाको तस्वीरसहितको सो चुनावी पोस्टरमा उनले भनेका छन् ‘मेरो नेतृत्वमा स्थिर सरकार, युवा अवसर र जनताको विश्वास फिर्ता ल्याउँछु ।’  सो पोस्टरमा डा. कोइराला ‘रहस्य होइन, खुला नेतृत्व’ भएको बताउँदै उनको पक्षमा मतदान गर्न आह्वान गरिएको छ । नेता कोइराला मोरङ ६ बाट फागुन २१ को निर्वाचन लड्दैछन् । ‘मेरो नेतृत्वमा स्थिर सरकार, युवा अवसर र जनताको विश्वास फिर्ता ल्याउँछु’ भन्ने घोषणा गरेर डा शेखरले अबको सरकार आफ्नो नेतृत्वमा बन्ने सन्देश दिन खोजेका छन् ।  

यद्यपि  कांग्रेस केन्द्रीय समितिको माघ ९ मा बसेको बैठकले सभापति गगन थापालाई पार्टीका तर्फबाट भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने सर्वसम्मत निर्णय गरिसकेको छ । भावी प्रधानमन्त्रीका रूपमा पार्टी अघि सारेपछि सभापति थापा मधेशमा आफैं चुनाव लड्न सर्लाही ४ मा ओर्लिएका छन् । 

पार्टी निर्णयअनुसार सभापति थापा कांग्रेसको पुरानो गढ मधेश झरेर प्रधानमन्त्रीको दौडमा रहेकै बेला अहिले कांग्रेस केन्द्रीय समितिभन्दा बाहिर रहेका नेता कोइरालाले किन ‘मेरो नेतृत्वमा स्थिर सरकार’ भन्ने नारा अघि सारेका हुन् ? यसबारे कोइरालाको सचिवालयले थप प्रष्टीकरण दिएको छैन । तर, पार्टी केन्द्रले सभापति थापालाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेका बेला उनलाई चुनौती दिंदै कोइरालाले आफूलाई नै भावी प्रधानमन्त्रीका रूपमा अघि सारेकोप्रति कांग्रेस संस्थापनका नेताहरू अचम्मित भएका छन् ।

‘पार्टीको निर्णय जे हो, आगामी दिनमा सोहीअनुसार हुने हो । कसैले व्यक्तिगत रूपमा के भन्छ भन्ने कुराले खास अर्थ राख्दैन,’ कांग्रेसका एक पदाधिकारीले यसबारे भने ‘केन्द्रको निर्णय अनुसार पार्टी अघि बढ्छ ।’ नेता कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले चलाउने सचिवालयको फेसबुक पेजबाट यो सामग्री पोस्ट भएको छ । निर्वाचनपछि के गर्ने भन्नेबारे डा. कोइराला स्वयम्ले केही बताइसकेका छैनन् । तर, उनको स्वकीय सचिवले चलाउने आधिकारिक पेजबाट आएको सामग्रीले कोइरालाको आगामी योजना र तयारी भने बताउँछ ।

यद्यपि शेखर निकट रहेका कांग्रेस विराटनगर सभापति दीपक चापागाईंले भने पार्टी निर्णय नभई नेता कोइरालाले त्यसो नभन्ने बताउ“छन् । ‘शेखर दाइले त्यसो भनेको मलाई त थाहा छैन’ उनले भने ‘काठमाडौंको सचिवालयले पनि कांग्रेसको नेतृत्वमा स्थिर सरकार भनेको हुनुपर्छ ।’ 

कांग्रेसभित्र तत्कालीन सभापति शेरबहादुर देउवासँग १४ औं महाधिवेशनमा सभापति लडेर पराजित बनेपछि कोइराला संस्थापनइतर पक्षको नेता बनेका थिए । महाधिवेशन लगत्तैदेखि नियमित महाधिवेशन समयमै गर्नुपर्ने, नेतृत्व फेर्नुपर्ने बताउँदै आएका थिए । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि विशेष महाधिवेशन गर्नुपर्ने मत सबैभन्दा प्रखर रूपमा राखेका कोइराला देशभरीका बहुमत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउन माग गरेपछि भने देउवासँगै गएर मिलेका थिए । तर, तत्कालीन महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले अगुवाई गरेर पुस अन्तिममा विशेष महाधिवेशन गराएर छाडे । कांग्रेस नेतृत्वमा थापा स्थापित भएर देउवा विस्थापित बने । 

लगत्तै शेखरले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व अस्वीकार गर्ने बताएका थिए । निर्वाचन आयोगमा गएर एउटा सानो समूह चोइटिएर गएको भन्दै उनले आयोगले देउवा नेतृत्वकै समितिलाई आधिकारिकता दिनुपर्ने भन्दै बोलेका थिए । 
निर्वाचन आयोगले भने गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिक घोषणा गरिदिएपछि देउवा पक्ष अदालत पुग्यो ।  त्यसबेला शेखर पक्ष भने विलखबन्दमा परेको थियो । त्यसपछि चाहिं मध्यमार्गको कुरा निकालेर शेखरले नयाँ नेतृत्व स्वीकार्ने लाइन समातेका थिए । माघ ६ मा भएको उम्मेदवारी मनोनयन दर्ता गर्ने बेलामा शेखरले सभापति थापाकै हस्ताक्षरको टिकट लिएका थिए ।

यसरी निर्वाचन लड्ने बेलामा सभापतिको हस्ताक्षर भएको टिकट लिएका उनै कोइरालाले अहिले आफैलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर पार्टी केन्द्रको निर्णयलाई अस्वीकार गर्ने सन्देश दिएका छन् । त्यसो त मोरङमा मात्रै कोइराला पक्षका थप दुई नेताहरू डा मीनेन्द्र रिजाल र डा. सुनिल शर्माले पनि टिकट पाएका छन् । डा. शर्माले भने विशेष महाधिवेशनको मञ्चमा पुगेर भाषण नै गरेका थिए । 

पार्टीमा नेतृत्व गर्ने अवसर गुमाएको भन्दै उनकै निकटकाहरूले आलोचना गरिरहेका बेला यसपटक चुनावी मैदानमा पनि कोइराला ठूलो चुनौतीका माझमा छन् । पार्टीभित्र देखिएको नयाँ शक्ति सन्तुलनले बीपीपुत्र संशाक  र गिरिजापुत्री सुजाता टिकटविहीन बन्दा शेखर   सामु कोइराला परिवारको राजनीतिक विरासत जोगाउनै पर्ने चुनौती पनि अगाडि छ । यस्तो बेलामा उनले पार्टीको निर्णयलाई किन चुनौती दिएका हुन् भन्ने खुलाएका छैनन् । 

उनलाई एमालेका विनोद ढकाल, नेकपाका ओपेन्द्र राय, रास्वपाकी रूविना आचार्य लगायतका उम्मेद्वारहरूले चुनावी चुनौती दिइरहेका छन् । आफ्नो राजनीतिक अस्तित्व रक्षाका लागि चुनाव जित्नैपर्ने बाध्यतामा रहेका  शेखरका लागि यो चुनाव सामान्य संसदीय प्रतिस्पर्धाका रूपमा मात्रै उपस्थित  छैन । यो  चुनाव कांग्रेसभित्रको बदलिदो शक्ति सन्तुलन, कोइराला परिवारभित्रैको बेमेल र नया पुस्ताको उदयसँग जुध्ने निर्णायक राजनीतिक घडी बन्ने क्रममा छ ।

View : 829

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved