Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

के को लागि भएकाे थियाे बौआलालसँगको कारोबार ?

अनिल पोखरेल भन्छन् 'कारोबार अरु नै हो'

ठगीको आरोप लागेका पोखरेल स्वयं ‘कक्षा १० पनि नसकेकी छोरीलाई एमबीबीएस पढाउन भनेर कुन मुर्खले पैसा दिन्छ ?’ भन्दै उल्टै प्रश्न गर्छन् । आखिर तपाईहरूबीचको कारोबार हो चाहिँ के ? भन्ने उद्घोषको प्रश्नमा उनी, ‘कारोबार अरु नै हो, इन्ट्रास–फिन्ट्रास केही होइन’ भन्छन् ।
उद्‌घोष सम्वाददाता
२२ पुष २०८१, सोमवार

विराटनगर । एमबीबीएस पढाइदिने नाममा ३९ लाख बराबरको रकम ठगी गरेको आरोप लागेका मोरङ रंगेली–२ बबियाबिर्ताका अनिलकुमार पोखरेलले उक्त प्रकरणमा आफू उल्टै पीडित भएको गुनासो गरेका छन् । 
आफूविरुद्ध लगातार एकोहोरो समाचार प्रकाशित भएको भन्दै उद्घोष दैनिकको सम्पर्कमा आएका पोखरेलले ठगीको आरोप लगाउने बौआलाल चौधरी र आफूबीच अरु नै विषयको कारोबार भएको दावी गरेका छन् ।
‘मेरो र बौआलालबीचको कारोबार अरु नै हो,’ उनले भने, ‘मैले पटक–पटक गरी दिएको ५० लाख रकम फिर्ता मागेपछि उल्टै म विरुद्ध मुद्दा दायर गरिएको हो ।’ कस्तो कारोबार हो भन्ने विषय चाहिँ पोखरेलले खुलाउन चाहेनन् । 

प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव रहेका पोखरेलले सप्तरीका बौआलाल चौधरीकी छोरीको नाम एमबीबीएसको इन्ट्रान्समा निकालिदिन्छु र होस्टेलमा बस्ने व्यवस्था मिलाइदिन्छु भनेर ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप अदालतमा दायर गरेको निवेदनमा उल्लेख छ । 

बौआलालले दायर गरेको यस मुद्दामा अदालतले अनुसन्धान थाल्न प्रहरीलाई आदेश दिइसकेको छ । अदालतको आदेश सार्वजनिक भएपछि सभापति पोखरेलले अनिललाई स्वकीय सचिवको जिम्मेवारीबाट हटाएका छन् ।

ठगीको आरोप लागेका पोखरेलले बौआलाल चौधरीसँगको सम्बन्धको आफ्नो अलग्गै पृष्ठभूमि भएको बताएका छन् । 

कुनै समय युनिटी लाइफ भन्ने नेटवर्किङ व्यवसायमा सँगै जोडिदा बिग्रेको व्यवहार मिलाउने क्रममा आफ्नो सम्बन्ध आर्थिक कारोबारको तहमा पुगेको उनले बताए । 

‘उनी (बौआलाल) दोलखामा थिए, मैले उनले भने बमोजिमका मान्छेलाई पैसा दिंदै व्यवहार मिलाउँदै गएँ,’ पोखरेलले भने । पोखरेलले कारोबारमा बौआलाल उल्टै झेली भएर निस्किएको दावी गरेका छन् ।

यद्यपि पोखरेलले भनेजस्तो बौआलाल त्यस्तो लप्पनछप्पन गर्ने व्यक्ति नभएको उनका एक निकट व्यक्तिले बताए । ‘उहाँ सारै सोझो र इमानी हाकिम साब हो’ एक कर्मचारीले भने ।

ठगीमा परेका भनेका बौआलाल चौधरीको एक छोरा र एक छोरी छन् । उनकी श्रीमती पनि स्वास्थ्य सेवामा कार्यरत रहेको बताइन्छ ।

चौधरीले २०७१ सालमा आफ्नी छोरीलाई एमबीबीएस पढाउन भनेर सुरु किस्ता रकम पोखरेललाई दिएको अदालतमा दिएको उजुरीमा उल्लेख गरेका छन् । 

२०७१ सालबाट सुरु भएको उनीहरूको किस्ता–किस्ताको कारोबार २०७३ मंसिरसम्म जारी भएको देखिन्छ । यता एमबीबीएस पढ्ने भनिएकी चौधरीकी छोरी उक्त समय प्लस टु उत्तीर्ण भएको वा नभएको खुलेको छैन ।

यस विषयमा ठगीको आरोप लागेका पोखरेल स्वयं ‘कक्षा १० पनि नसकेकी छोरीलाई एमबीबीएस पढाउन भनेर कुन मुर्खले पैसा दिन्छ ?’ भन्दै उल्टै प्रश्न गर्छन् । आखिर तपाईहरूबीचको कारोबार हो चाहिँ के ? भन्ने उद्घोषको प्रश्नमा उनी, ‘कारोबार अरु नै हो, इन्ट्रास–फिन्ट्रास केही होइन’ भन्छन् । उनले कुरा घुमाइ–घुमाइ आफूहरूबीचको कारोबार घ्यू बेच्ने र तरबार बेच्नेजस्तो भएको आशय व्यक्त गरे । 

यता पोखरेलमाथि ठगीको आरोप लगाउने बौआलाल चौधरीसँग बुझ्न पटक–पटक प्रयास गर्दा पनि उनले टेलिफोन उठाएनन् ।

View : 125

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved