Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

विराटनगरमा प्राविधिक तथा व्यावसायिक शिक्षाको नमुना केन्द्र स्थापना

उद्‌घोष संवाददाता
३ भदौ २०८२, मङ्गलवार

विराटनगर । विराटनगरमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम प्रवद्र्धन केन्द्र स्थापना गरिएको छ । 

यो केन्द्र सगरमाथा आई ल्याब समूह (कोशी प्रदेश), काठमाडौं विश्वविद्यालयअन्तर्गतको स्कूल अफ एजुकेशन र स्विट्जरल्याण्डको इटीएच ज्युरिचको सहकार्यमा सञ्चालित आई ल्याब कार्यक्रमअन्तर्गत स्थापना गरिएको हो ।

स्थानीय सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र समुदायबीचको सहकार्यमा स्थापित केन्द्रको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गरे । 

‘नेपालमा सीपयुक्त जनशक्तिको खाचो टार्न प्राविधिक शिक्षामा आमूल सुधारको आवश्यकता छ,’ कार्यक्रममा बोल्दै मेयर कोइरालाले भने, ‘यो केन्द्र उद्योगहरूलाई आवश्यक दक्ष जनशक्ति आपूर्ति गर्न र समुदायमा रोजगारी र स्वरोजगारको अवसर सिर्जना गर्न महत्वपूर्ण माध्यम बन्नेछ ।’ 

कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले केन्द्रको सफलताले नगरको दीर्घकालीन विकास योजनासंग मेल खाने गरी प्रदेशस्तरीय नमुना बनाउन सहयोग गर्ने बताइन् ।

त्यस्तै उद्योग संगठन मोरङका कार्यकारिणी सदस्य प्रतीक राउत, सगरमाथा आई ल्याब समूहका सदस्य गणेश दाहाल, प्रितिका बस्नेत, निखत बानो, रोशना राईलगायत प्राविधिक सीपसहितको दक्ष जनशक्ति आजको आवश्यकता भएको बताए ।

उद्घाटन समारोहमा वक्ताहरूले अफ्रिकी देश रूवाण्डाले प्राविधिक तथा व्यावसायिक शिक्षामा ल्याएको सुधारको उदाहरण प्रस्तुत गर्दै नेपालमा पनि त्यस्तै सुधार सम्भव रहेको विश्वास व्यक्त गरे ।

यो केन्द्रलाई नेपालमै प्राविधिक तथा व्यावसायिक शिक्षाको सुधारको अग्रणी नमुना परियोजनाको रूपमा अघि बढाइने योजना रहेको छ । सगरमाथा आई ल्याब समूहले सञ्चालनमा ल्याएको ‘सीप सम्वर्द्धन, तालिम पहुँच र रोजगारी जोड्ने कार्यक्रम’ लाई समारोहको विशेष आकर्षणको रूपमा प्रस्तुत गरिएको थियो ।

उद्योग तथा कृषि मन्त्रालय, निजी क्षेत्र र शैक्षिक संस्थाबीचको सहकार्यमा सञ्चालनमा ल्याइएको केन्द्रलाई स्थानीय सरकारको विकास योजना सँगसँगै अघि बढाइनेछ ।

View : 479

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved