विराटनगर । एकै दिन कम्तिमा १९ जनाको ज्यान लिने गरी जेन जीको आन्दोलन दमन गर्न उत्रेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार आफ्नो हठबाट अझै टसमस भएको छैन ।
सुनसरीको इटहरीमा दुईसहित १९ जना नवयुवाले प्रहरी गोली खाएर ज्यान गुमाएपछि सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले सामाजिक सञ्जाल नखोल्ने हठ दोहोर्याएका हुन् ।
जबकि, सत्ता साझेदार नेपाली कांग्रेसले तत्कालै सामाजिक सञ्जाल खुलाउन प्रधानमन्त्रीलाई भनेको थियो । सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवा गर्ने विषयमा मन्त्रिपरिषद् बैठकमा चर्काचर्की नै भएको थियो ।
बैठकको सुरूवातमा प्रधानमन्त्रीले जेनजीको प्रदर्शनको कुरा राखेका थिए । त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जाल प्रतिबन्धको फुकुवा पहिले गरेर अन्य विषयमा छलफल र सहमति खोज्ने काम गर्न भनेका थिए ।
बैठकमा पौडेलले भने, ‘सामाजिक सञ्जालको विषय जुन छ, यो तत्कालै खोलौं खोल्नैपर्छ । यो सार्वजनिक सरोकारको कुरा हो ।’ लगत्तै प्रधानमन्त्रीले भने, ‘यहाँ कम्पनीको रूपमा कारोबार गर्न आउने, अनि दर्ता नआउनेलाई हामीले खुलमखुला काम गर्न दिने ?’
जवाफमा पौडेलले भने, ‘जेनजीको सरोकारको कुरा पनि सुनौं । जनताले के भनिरहेको छ, ध्यान दिनुपर्छ । काम गर्न दिने–नदिने भन्ने विषय छलफलबाट टुंग्याउनुपर्यो ।’
त्यसपछि ओलीले फेरि भने, ‘हामी सामाजिक सञ्जालसँग झुक्ने ?’ उनीहरूबीच लामै विवाद भएपछि अन्तिममा ‘सामाजिक सञ्जाल सञ्चालनको विषयमा सकारात्मक ढंगले प्रयास गर्ने’ भन्ने निर्णय भएको थियो ।
लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा ओली भेट्न बालुवाटार पुगेका थिए । उनीहरूबीच राति अबेरसम्म पनि छलफल चलिरहेको थियो ।
त्यसो त सामाजिक सञ्जालको प्रतिबन्धले बेखुस युवा समूहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरमा भएको एमालेको विधान महाधिवेशनबाट छुद्र टिप्पणी गरेर थप उत्तेजित बनाएका थिए ।
‘एक वर्षदेखि सामाजिक सञ्जालहरू नेपालको कानुनअनुसार दर्ता हुनुपर्छ भन्दा तिमीहरूको संविधान थाहा छैन भनेर अटेरी गर्ने, फेसबुकलगायत सामाजिक सञ्जाललाई लक्ष्य गर्दै ओलीले भनेका थिए ‘सामाजिक सञ्जाल दर्ता गर्न आऊ भन्दा ४ जनाको जागिर खोसियो अरे ।
४ जनाको जागिर ठूलो कि राष्ट्रिय स्वाभिमान ?’
सोमबार विराटनगरमा प्रदर्शनमा ओर्लेका युवाहरूले प्रधानमन्त्रीले भनेको राष्ट्रिय स्वाभिमान र आफूहरूले खोजेको स्वाभिमानबीच फरक रहेको बताएका थिए ।
‘जसको जब खोसियो उसका लागि राष्ट्रिय स्वाभिमानको के अर्थ, जब कि उसले बोल्न पाउदैन, कमाउन पाउँदैन भने,’ विराटनगरका युवा सुशील श्रेष्ठले भने ‘प्रधानमन्त्रीको आसनमा बसेर जनताको कुरा सुन्ने हो, आफ्नो कुण्ठा लाद्ने होइन ।’
उद्घोषसँगको कुराकानीमा विराटनगरकै युवा रोमा पराजुलीले सरकारले आफूहरूले बोल्दै आएको प्लेटफर्म बन्द भएपछि सडकमा आउनुको विकल्प नभएको बताइन् ।
‘नेताहरूको कार्यशैली कतैबाट चित्तबुझ्दो छैन, आफ्नो कुरा राख्ने ठाउँ पनि खोसिएपछि हामी सडकमा आउनुको विकल्प भएन,’ उनले भनिन् ।
नयाँ पुस्ताले यसरी आफ्नो जीवन शैली बनाइसकेको सामाजिक सन्जाललाई पूधानमन्त्रीले भने बारम्बार ‘राष्ट्रिय स्वाभिमान’ सँग जोडेर बन्द गर्ने हठ देखाइरहेका छन् ।
सञ्जाल प्रतिबन्ध गर्ने निर्णयलाई युवाहरूले आफूहरूको आवाज दबाउन खोजेको रूपमा बुझे । सोमबार देशभर प्रदर्शनमा उत्रिएका युवाहरूको आक्रोशले यही संकेत गथ्र्यो ।
विराटनगर होस् कि काठमाडौं, इटहरी होस् कि बुटवल जहाँ पनि नाराको मुख्य आक्रोश ओलीतिरै लक्षित थियो । उनीहरूले ओलीसहित मुख्य दलका नेताहरूविरूद्ध नाराबाजी गरेका थिए ।
सोमबार बिहानैदेखि देशका विभिन्न सहरमा जेनजी समूह सामाजिक सञ्जाल निशर्त खोल्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्ने लगायतका माग राखेर सडकमा ओर्लिएको थियो ।
त्यही क्रममा सरकारले काठमाडौंमा अकल्पनीय दमन गरेर नरंसहार निम्त्याएको अधिकारवादीहरूले बताएका छन् ।
सरकारले फेसबुकसहित दुई दर्जन सामाजिक सञ्जाललाई बन्द गरिदिएपछि नेताका छोराछोरीले बिलासी जीवन बिताएको भन्दै जेनजी समूहले प्रदर्शन चर्काएका थिए ।
प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा सोमबार सा“झसम्म १९ जनाको मृत्यु भएको छ । ३ सयभन्दा बढी घाइते भएका छन् । सयौंलाई प्रहरीले पक्राउ गरेको छ ।
ट्रमा सेन्टरमा उपचाररत ग्लोबल कलेजमा अध्ययनरत ठेगाना नखुलेका १९ वर्षीय श्रीयाम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षीय बुद्धि तामाङ, ठेगाना नखुलेका २९ वर्षीय गौरव जोशी र २९ वर्षकै ठेगाना नखुलेका स्टप अधिकारीको मृत्यु भएको छ ।
काठमाडौं मेडिकल कलेजमा उपचाररत मध्ये सौरम किशोर श्रेष्ठ र सुवास पोखरेल नामका युवकको मृत्यु भएको छ । अन्य मृतकको पहिचान खुलेको छैन ।
काठमाडौंको बानेश्वरकेन्द्रित प्रदर्शनका क्रममा संसद भवन प्रवेश गर्न खोजेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको हो ।
गोली लागेर घाइते भएका मध्ये ट्रमा सेन्टरमा, एभरेस्ट हस्पिटलमा ३, सिभिल अस्पतालमा ३, केएमसीमा २ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।
त्यस्तै सुनसरीको इटहरीमा प्रहरीले चलाएको गोली लागेर प्रदर्शनमा उत्रिएका दुईजनाको मृत्यु भएको छ ।
प्रदर्शनका क्रममा विभिन्न अस्पतालमा ३४७ जना घाइतेको उपचार भइरहेको जनाइएको छ ।
सिभिल हस्पिटलमा १००, ट्रमा सेन्टरमा ५९, एभरेस्ट हस्पिटलमा १०२, केएमसीमा ३७, त्रिवि शिक्षण अस्पतालमा १, दमक अस्पताल ७, वीर अस्पतालमा ६, पाटन अस्पतालमा ४, विराट मेडिकल कलेजमा ४, नर्भिक अस्पतालमा ३, धरानस्थित बीपी प्रतिष्ठानमा २, गण्डकी मेडिकल कलेजमा १ जनाको उपचार भइरहेको छ ।
घाइते मध्ये ट्रमा सेन्टरका उपचाररत १० जना र एभरेस्ट अस्पतालमा उपचाररत ४ जना गम्भीर रहेको जनाइएको छ । उनीहरू मध्ये धेरैको टाउको र छातीमा गोली लागेको छ ।
View : 511
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved