Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

सुनसरीका प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी गर्ने पाँच पक्राउ

उद्‌घोष संवाददाता
१२ मंसिर २०८२, शुक्रवार

सुनसरी । जेनजी आन्दोलनका क्रममा सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीको भवन र सवारी साधनमा तोडफोड, आगजनी, लुटपाट गर्दै प्रहरीमाथि दुव्र्यवहार गर्ने पाँच जना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका–३ का २९ बर्षीय विजय लिम्बू, इटहरी–५ का ४४ बर्षीय दीपेन्द्रकुमार कार्की, इटहरी उपमहानगरपालिका–८ का २४ बर्षीय आभाष कार्की, इटहरी उपमहानगरपालिका–४ का २४ बर्षीय सोनम कार्की र भोजपुरको याङपाङ घर भई इटहरी–४ मा बस्दै आएका ४७ बर्षीय मदन खत्री रहेका छन् ।

उनीहरूलाई घटनाको समयमा देखिएको संलग्नताको आधारमा पहिचान गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

प्रहरीले उनीहरूको खोजतलास गर्ने क्रममा प्राप्त भएका फोटो, सीसीटीभीको फुटेज र सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीर र भिडियोहरूका आधारमा पहिचान गरी पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरूको आपराधिक उपद्रो गर्न नहुने कसुरमा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजतलास गरिरहेको जनाएको छ ।

आगजनी तोडफोड र प्रहरीको हातहतियार लुटपाटका घटनामा संलग्न व्यक्तिहरुको फोटो तथा भिडियोहरू फेला परेमा तथा कसैले प्रहरीको हातहतियार लुकाई छिपाई राखेको जानकारी आएमा प्रहरीलाई जानकारी गराइदिन समेत आग्रह गरेको छ ।

त्यसरी नाम उपलब्ध गराउनेको विवरणलाई गोप्य राखिने प्रहरीले जनाएको छ ।

View : 232

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved