Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

बेलीब्रिज भाँचिएर अरुण नदीमा खस्यो ट्रक

उद्‌घोष संवाददाता
१६ फागुन २०८२, शनिवार

संखुवासभा । जलविद्युत आयोजनाको निर्माण सामग्री बोकेको ट्रक तर्ने क्रममा मकालु गाउँपालिका–५ र २ जोड्ने बेलीब्रिज भाँचिएको छ । 

मकालु–५ को नुम र वडा नं २ सेदुवा जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलीब्रिज भाँचिदा प्रदेश–०३–००१ क २९२० नम्बर ट्रक नदीमा खसेको हो । 

शनिबार बिहान ९ बजे सिमेन्ट बोकेको ट्रक तार्ने क्रममा बेलीब्रिज भाँचिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए । 

ठूला सवारीसाधन तर्ने क्रममा बेलीब्रिज भाँचिएर ट्रक खसेको उनले बताए ।

बेलीब्रिज भाचिंदा नुम–सेदुवा सडकखण्ड पूर्वरुपमा अवरुद्ध हुनुका साथै पैदल आवतजावत समेत प्रभावित भएको छ । 

ट्रक चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ का ४० वर्षीय अर्जुन श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचारपश्चात् काठमाडौं लगिएको जनाइएको छ । 

निर्माणाधीन ४५ मेगावाट क्षमताको कसुवा खोला हाइड्रोपावर कम्पनीका लागि ट्रकमा सिमेन्ट  थियो । 

सडक अवरुद्ध हुँदा पर्यटकीय क्षेत्र मकालु आधारशिविर जाने–आउने पर्यटक समेत प्रभावित भएका छन् । 

सो पुलको वैकल्पिक व्यवस्था मिलाउन समय लाग्ने भएकोले जलविद्युत कम्पनी लगायतका सरोकारवाला निकायबीच आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

View : 112

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved