Biratnagar, Morang, Nepal
२६ फागुन २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

प्रतिनिधिसभा निर्वाचन :

कोशीमा कहाँ कसले जिते ? (हेर्नुहोस् मत परिणाम)

कोशी प्रदेशका २८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये रास्वपाले एक्लै १७ सिट जितेको छ । यो परिणामले लामो समयदेखि नेपाली कांग्रेस र नेकपा एमाले लगायतजस्ता स्थापित दलको प्रभाव रहेको कोशीको राजनीति नै ठूलो उलटफेरतर्फ पुर्याएको छ ।
उद्‌घोष संवाददाता
२६ फागुन २०८२, मङ्गलवार

विराटनगर । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट कोशी प्रदेशको राजनीतिक समीकरणमा ठूलो परिवर्तन देखिएको छ । 

मतगणनाको अन्तिम नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशमा सबैभन्दा शक्तिशाली राजनीतिक दलका रूपमा उदाएको छ ।

कोशी प्रदेशका २८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये रास्वपाले एक्लै १७ सिट जितेको छ । यो परिणामले लामो समयदेखि नेपाली कांग्रेस र नेकपा एमाले लगायतजस्ता स्थापित दलको प्रभाव रहेको कोशीको राजनीति नै ठूलो उलटफेरतर्फ पुर्याएको छ ।

नेपाली कांग्रेसले चार सिटमा मात्र जित दर्ता गर्न सकेको छ । त्यस्तै नेकपा एमालेले पनि चार सिट जित्दै अपेक्षाभन्दा कमजोर नजितामा खुम्चिनु परेको छ ।

यस निर्वाचनमा पुराना दलका लामो राजनीतिक अनुभव र प्रभाव भएका धेरै नेताहरू पनि मतदाताबाट अस्वीकृत बने । नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबाट दशकौंको राजनीति गरिरहेका नेताहरू ठूलो मतान्तरका साथ पराजित भएका छन् । 

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे, नेता डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, ज्ञानेन्द्र कार्की, विजय गच्छदार, सरिता प्रसाईँ, एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीदेखि सचिवद्वय शेरधन राई र भानुभक्त ढकाल, विनोद ढकाल, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा लगायत ठूलो संख्यामा रहेका नेताहरू पराजित भएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीका कोशी प्रदेश अध्यक्ष हर्क नेम्वाङ, अमनलाल मोदी, शिवकुमार मण्डल, बलदेव चौधरी पनि पराजित भएका छन् ।

लामो समयदेखि स्थापित र राजनीतिक छवि बनाएका नेताहरू पराजित हुनुलाई मतदातामा देखिएको नयाँ राजनीतिक विकल्पको खोजी र पुरानो नेतृत्वप्रतिको असन्तुष्टिको स्पष्ट संकेतका रूपमा विश्लेषकहरूले लिएका छन् ।

कोशी प्रदेशमा बलियो संगठन र जनाधार रहेको दाबी गरिरहेका प्रमुख दलहरूले यो परिणाम अविश्वसनीय  रुपमा भोग्नुपर्ने अवस्था उत्पन्न भएको छ ।

यसैपटक उदाएर प्रतिनिधिसभा निर्वाचनमा होमिएको श्रम संस्कृति पार्टीले समेत तीन सिट जितेर वैकल्पिक शक्तिको स्थान ओगटेको छ । 

कोशी प्रदेशको राजनीतिमा नयाँ दलप्रतिको जनचाहनालाई श्रम संस्कृतिको उपस्थितिले पुष्टि गरेको छ । यो परिणामले आगामी स्थानीय तहको निर्वाचनसम्म सहज प्रभाव पार्ने सम्भावना बलियो रहेको विश्लेषकहरू बताउँछन् ।

यो परिणामले सबैभन्दा नयाँ चासोका रुपमा नेकपाको शक्तिहिनताको अवस्थालाई इंगित गरेको छ । एक दर्जन भन्दाबढी दलहरूको एकताबाट बनेर चुनावी मैदानमा उत्रिएको यो पार्टीले कोशी प्रदेशमा एक सिट पनि जित्न सकेन । 

चुनावअघि वैकल्पिक वाम शक्तिका रूपमा चर्चा गरिएपनि त्यसको पुष्ट्याइँ यो निर्वाचनबाट देखाउन नसकेको हो ।

नेकपाका कोशी प्रदेशका एक नेताले पार्टीको शर्मनाक पराजयपछि र सत्ता शक्तिबाट बिमुख हुनेबित्तिकै बृहत बामपन्थी एकताको चाहना गर्न खोजिएको भन्दै सामाजिक सञ्जालमार्फत व्यंग्य पनि गरेका छन् । 

उनले नेकपा निर्माण प्रक्रियाप्रति लक्षित गर्दै जनताले गठबन्धन वा एकता नचाहेको बरु मुलुक निर्माणको सुस्पष्ट मार्गचित्र र एजेन्डाको खोजी गरिरहेको बताए ।

यता, रास्वपाले भने १७ सिटमा जित निकाल्दै आफ्नो वर्चश्व देखाएको छ । उसले झापा, सुनसरी र उदयपुर जिल्लामा त अन्य सबै दललाई पराजित गर्दै ‘क्लिन स्विप’ गरेको छ । 

तराई र शहरी मतदातासँगको बढी सम्बन्ध पुष्टि गरेको रास्वपाले ओखलढुंगामा समेत जित दर्ता गर्दै उसको लोकप्रियतालाई अझ पुष्टि गरेको छ ।

रास्वपाको उदयको मुख्य कारण मतदातामा देखिएको परिवर्तनको चाहना रहेको देखाएको छ । 

विगतका निर्वाचनहरूमा बारम्बार अवसर पाए पनि पुराना दलहरूले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप रास्वपाको चुनाव चिन्हमा मतदान गरेका कांग्रेस–एमालेकै मतदाता तहको बुझाई छ । 

विशेषगरी युवा मतदाताको ठूलो हिस्सा रास्वपातर्फ आकर्षित हुनु उसका लागि फाइदाकर भएको छ । कोशी प्रदेशमा १७ सिट जित्नु केवल संख्यात्मक उपलब्धि मात्र नभई प्रदेशको राजनीतिक नेतृत्व परिवर्तनको संकेतका रुपमा लिनुपर्ने मतदाताहरूको भनाइ छ ।

कांग्रेस र एमाले लगायतका लागि यो परिणाम गम्भीर आत्मसमीक्षाको विषय भने बनेको छ । यी दलहरू लामो समयदेखि राष्ट्रिय राजनीतिका प्रमुख शक्तिका रूपमा रहेका भए पनि मतदाताको विश्वास क्रमशः घट्दै जानुमा चिन्तित बन्लान कि अझ खराब परिणामको सामना गर्लान् ? यो उनीहरूको विषय हुनेछ ।

संगठन सुदृढिकरण र पुनर्जागरण, नेतृत्व पुनगर्ठन र राजनीतिक दृष्टिकोण र मुलुक निर्माणको खाका प्रस्तुत गर्न नसके यी दलहरूको प्रभाव अझ घट्न सक्ने अनुमान गरिएको छ ।

View : 48

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved