विराटनगर,१२ पुस : कोशी प्रदेशको राजधानी विराटनगरमा हुण्डीको अबैध कारोबार बढ्दै गएको देखिएको छ । स्रोत नखुलेको ठूलो रकम पटक–पटक पक्राउ परेबाट हुण्डीको कारोबार मौलाउँदै गएको पुष्टि हुन्छ ।
हुण्डी कारोबार बढ्दै गएको भन्दै मोरङ प्रहरीले त्यसलाइ रोक्न विशेष अपरेशन सञ्चालन गर्न थालेको जनाएको छ । प्रहरीको अपरेशनपछि केही हुण्डी कारोवारी र भरिया पक्राउ पर्न थालेका छन् । विराटनगरमा वर्षौदेखि यो कारोबार हुँदै आएको छ ।
विराटनगर महानगरपालिका–६ केशलिया मार्गबाट बुधबार साँझ एक जनालाई मोरङ प्रहरीले १९ लाख ९० हजार रुपैंयाँसहित पक्राउ गरेको छ । प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका को ७ प ५२२१ नम्बरको मोटरसाइकलमा सवार सुनसरी देवानगञ्ज गाउँपालिका–५ का ४९ बर्षीय सुरेन्द्रप्रसाद साहलाई नगदसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका साहलाई बरामद रकम र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसान्धान कार्यालय इटहरीमा बुझाइएको प्रहरीको भनाइ छ । हुण्डीका भरिया पक्राउ परे पनि मुख्य कारोबारी भने जोगिदै आएका छन् । स्रोतका अनुसार कारोबारीले अर्को देशमा रकम पठाउने एउटा संकेत नम्बर दिने गरेका छन् ।
रकम जिम्मा लगाउनेले पाउने त्यही नम्बरका आधारमा नेपालमा लिइए बराबरको रकम विदेशमा रकम दिने गरिन्छ । त्यस बापत उनीहरुले सेवा शुल्क लिन्छन् । हुण्डी कारोबारीले कारोबारको १ देखि ३ प्रतिशतसम्म शुल्क लिएर ब्यवसाय चलाउँदै आएको बताइएको छ । विराटनगरमा हुण्डीको ब्यवसायिक कारोबार गर्ने एक दर्जन बढी मानिस भएको स्रोतको भनाइ छ ।
नेपाली उपभोक्ताले सीमा पारी भारतीय बजार जोगवनीमा गरेको किनमेलको रकम पनि जम्मा गरेर कारोबारीले विराटनगर ल्याउने गरेका छन् । यसअघि विराटनगर–१५ मा बस्दै आएका जहदा–७ तरिगामा निवासी लक्ष्मणप्रसाद साहलाई सशस्त्र प्रहरीले हुण्डी कारोबारको १६ लाख १० हजार रुपैंयाँसहित पुुस ३ गते पक्राउ गरेको थियो ।
उनी त्यत्तिनै रकम धरौटी राखेर राजश्व अनुसन्धान कार्यालयबाट छुटेका छन् । हुण्डी कारोबार नियन्त्रण गर्न अपरेशन सञ्चालन भई रहेको नायव उपरीक्षक दाहालले बताए । हुण्डी कारोबारीले रकम बोक्न बालबालिकालाई पनि भरिया बनाउने गरेको पनि पाइएको छ । यसअघि मोरङ प्रहरीले गत १४ कात्तिकमा १६ बर्षीय बालकलाई २१ लाख ८७ हजार रुपैंयाँसहित पक्राउ गरेको थियो ।
त्यसअघि प्रहरीले विराटनगर–१५ बाट धर्मानन्द साहलाई ४ लाख ७५ हजार रुपैंयाँसहित पक्राउ गरेको थियो । यस्तै सोही वडाका रञ्जितकुमार साहलाई पनि प्रहरीले ९ लाख २० हजार रुपैंयाँसहित पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई राजश्व अनुसन्धान कार्यालय इटहरीबाट मुद्दा चलाइएको प्रहरीले बताएको छ ।
View : 128
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved