विराटनगर । सुख्खा याममा विद्युत उत्पादन घटेर सेवा अनियमित हुँदा नेपाल विद्युत प्राधिकरणले दिने जवाफ एउटै हुन्छ, ‘पर्याप्त उत्पादन छैन । खपत धेरै छ । अब बर्खा लागेपछि उत्पादन बढ्छ, समस्या घट्छ ।’
यस पटकको सुख्खा याममा पनि प्राधिकरणले यही भनाइ दोहोर्यायो, जुन पहिल्यैदेखि भन्दै आएको थियो ।
यस पटक अरु बेलाभन्दा सरदर १५ दिन अघि नै नेपालमा मनसुन भित्रियो । नियमित अन्तरमा मुलुकभर सामान्यदेखि भारी वर्षा भइरहेको छ ।
केही दिनअघि प्राधिकरणले विद्युत उत्पादन बढ्ने गरी वर्षा भइरहेको जनाएको थियो । यद्यपि विद्युत उत्पादन बढिरहेको यही बेला झ्याप्प–झ्याप्प बिजुली जाने समस्या भने बढेको छ । प्राविधिक भाषामा ‘विद्युत ट्रिपिङ’ भनिने यो समस्याले आफूहरु समस्यामा परेको उद्योगीहरुले बताएका छन् ।
पूर्वसूचना बेगर नै यसरी घरिघरि विद्युत सेवा अवरुद्ध हुँदा उद्योगहरुमा एकैपटक ठूलो क्षति हुने उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी बताउँछन् ।
यही विषयमा अर्का उद्योगी प्रकाश मुन्दडाले केही समयअघि उद्घोषसँग भनेका थिए ‘लोडसेडिङ हुँदा र ट्रिपिङ हुँदाको क्षति उद्योगहरुमा समान हुन्छ ।’ उद्योगीहरु मोरङ सुनसरी औद्योगिक करिडोरमा बर्खा लागेपछि ट्रिपिङको समस्या धेरै हुने गरेको बताउँछन् ।
‘उद्योगहरुमा विद्युत आपूर्ति अनियमित हुनु भनेको ठूलो क्षतिको विषय हुन्छ’, मुन्दडाले भनेका थिए ।
मेसिनले आफ्नो काम एउटा गतिमा गरिरहेको हुन्छ । तर, काम चलिरहेकै बेला झ्याप्प बिजुली जान्छ । यस्तो हुँदा प्लाष्टिक उद्योगहरुले व्यहोर्ने क्षति अकल्पनीय छ ।
प्लाष्टिक उद्योगले मेसिनबाट हात्ती बनाउन खोजेको छ भने बिजुली काटिंदा त्यो गधा बनेर निस्कन्छ । यस्तो अवस्था आए के हुन्छ ? ट्रिपिङले दिने सास्ती ठूलो छ ।’
सुनसरी मोरङ औद्योगिक करिडोरमा साना–ठूला गरी पाँच सयभन्दा धेरै उद्योगधन्दा सञ्चालित छन् ।
स्पिनिङ, आइरन, खाद्यान्न, प्लाष्टिक, वायर, साबुन, घिउ, दहलन, तेलहन, जुट, कपडा लगायतका धेरैथरी उद्योगहरु रहेको औद्योगिक करिडोरमा विद्युत आपूर्तिको अनियमितताले समस्या भएको उद्योगी बताउँछन् ।
‘एकातिर नेपालमा उत्पादन हुने विद्युत भारत तथा बंगलादेश निर्यात गर्ने भनी प्राधिकरणले भनिरहँदा अर्कातिर स्वदेशी उद्योग व्यवसाय ट्रिपिङका कारण लामो समयसम्म हुने विद्युत कटौतीको मार खेप्न वाध्य छन्’ उद्योग संगठन मोरङका अध्यक्ष राठीले भने दैनिक निरन्तर भइरहने ट्रिपिङले उद्योगको मिल मेशिनेरी विग्रेको छ । उत्पादनको क्रममा रहेको कच्चा पदार्थ खेर गएको छ । श्रमिकको काम नभई त्यसै राख्नु परेको छ ।’
उनका अनुसार जेनेरेटर सञ्चालन गर्नुपर्दा उत्पादन लागत वृद्धि भएको र उद्योगी व्यवसायीको गुनासो सम्वन्धित निकायलाई बारम्बार सुनाउँदासमेत समस्या समाधानमा ठोस पहल नभएको उनको गुनासो छ ।
सुख्खा याममा विद्युतको अभाव र वर्षा याममा ट्रिपिङको मारले गर्दा उद्योगले ठूलो आर्थिक नोक्सानी व्यर्होर्नु परिरहेको भन्दै विद्युत आपूर्तिमा देखिने समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न विद्युत प्राधिकरणलाई उद्योगीहरूले आग्रह गरेका छन् ।
नेपाल विद्युत प्राधिकरण भने प्राविधिक समस्याले कहिलेकाहीं सेवा अवरुद्ध हुने गरेको बताउँछ ।
‘अधिक वर्षा वा हावाहुरीले विद्युत लाइनमा समस्या ल्याउँछ । त्यसेबला मर्मत गर्नुपर्छ’, प्राधिकरणका विराटनगरस्थित एक कर्मचारी भन्छन् ‘कहिले रुख ढलेर तारमा समस्या आउँछ ।
बनाउनु पर्दा लाइन काट्नै पर्छ । समस्या आएपछि विजुली जान्छ । उद्योगीहरुलाई घाटा लागोस् भनेर हामीले लाइन काट्ने होइन ।’
View : 177
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved