विराटनगर । दाहाल सेवा प्रतिष्ठान अन्तर्गत स्थापित विभिन्न कोषहरूबाट दिइने विभिन्न सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ ।
बुधबार प्रतिष्ठानको कार्यालय विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका निवर्तमान केन्द्रीय अध्यक्ष शालिग्राम दाहाल, केन्द्रीय महासचिव सचिव सूर्यकुमार दाहाललगायतले पुरस्कार तथा सम्मान असोज ११ गते शनिबार विशेष समारोह आयोजना गरी वितरण गरिने जानकारी दिएका हुन् ।
प्रतिष्ठानका अनुसार स्वर्गीय विद्यादेवी, बाबुराम–सरस्वती दाहाल सेवाकोषबाट स्थापित ‘विराट सामाजिक सम्मान’ बाट पण्डित भवानीशंकर निरौला, माया घर इटहरीकी सुभद्रा प्याकुरेल र मानव सेवा आश्रम विराटनगरका नवराज केसीलाई सम्मान गरिने भएको छ ।
त्यसैगरी सोही कोषबाट बराहक्षेत्र गुरूकुलका युगल दाहाल र उदयपुर गुरूकुलका पुष्पराज भट्टराईलाई पनि प्रोत्साहन स्वरूप नगद पुरस्कार प्रदान गरिने प्रतिष्ठानका निवर्तमान केन्द्रीय अध्यक्ष शालिग्राम दाहालले जानकारी दिए ।
प्रतिष्ठानले सोही अवसरमा स्वर्गीय पण्डित जानकीवल्लभ–चन्द्रप्रभा दाहाल स्मृतिकोष’ का तर्फबाट दमकका कुलवधु दोयनालाई ‘सामाजिक सम्मान’ र यमुना कोइराला दाहाललाई ‘वर्ष कुलवधु सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ ।
स्व. पदमप्रसाद–अम्बिकादेवी दाहाल स्मृतिकोषका तर्फबाट भक्ति दाहाललाई ‘लेखन तथा साहित्य सम्मान’ प्रदान गरिने भएको छ ।
सोही कोषबाट नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकलाई ‘पत्रकारिता सम्मान’, गायक सुमित खड्कालाई ‘राष्ट्रिय गायक सम्मान’ र ललितनारायण राजवंशीलाई ‘वर्ष खेलाडी सम्मान’बाट सम्मानित गरिने प्रतिष्ठानले जनाएको छ ।
त्यस्तै स्व. चन्द्रकान्त–दिब्यश्वरा दाहाल स्मृतिकोषको तर्फबाट धनमाया दाहाललाई ‘वर्ष आमा सम्मान’ प्रदान गरिने छ भने सोही कोषबाट पोखरिया माविका उदय सिटौला र आदर्श माविकी सुभेक्षा दाहाललाई उत्कृष्ट छात्रछात्रा सम्मानबाट पुरस्कृत गरिने भएको छ ।
दाहाल प्रतिष्ठानका महासचिव सूर्य दाहालका अनुसार सोही समारोहमा प्रतिष्ठानको तर्फबाट बाबुराम दाहाललाई ‘अक्षय कोषदाता सम्मान’, कमलराज दाहाललाई ‘जग्गादाता सम्मान’ र धीरेन्द्र दाहाललाई ‘संरचना निर्माता सम्मान’ प्रदान गरिनेछ ।
सबै सम्मान तथा पुरस्कार समर्पण कार्यक्रम नवरात्र महोत्सवका अवसरमा असोज ११ गते प्रतिष्ठानको शाखा कार्यालय विराटनगरमा आयोजित एक विशेष समारोहमा गरिने महासचिव सूर्य दाहालले जानकारी दिए ।
प्रतिष्ठानले हरेक वर्षको घटस्थापनामा सामूहिक जमरा पनि राख्दै आएको छ ।
View : 354
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved