विराटनगर । सवारी दुर्घटना पाँच जना मजदुरको ज्यान गएपछि मृतकका आफन्तले बीमा अनुसारको उचित क्षतिपूर्तिको माग गरेका छन् । ब्यवसायीले भने माग पूरा गर्न नसक्ने बताएपछि पीडित पक्ष आन्दोलनको तयारीमा छ ।
विराटनगरबाट मार्बल बोकेर राजविराजतर्फ जाँदै गरेको मालबाहक ट्रक बिहीबार बिहान सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ सोनीयाहीमा दुर्घटना भएको थियो ।
को १ ख ४५४१ नम्बरको ट्रक पल्टिदा टायल मार्वल ‘लोड अनलोड’ गर्ने एउटै टोलका पाँच जना कामदारको मृत्यु भएको थियो ।
ट्रक पल्टिदा मार्बलमाथि बसेका पाँचै जना मजदुरले मार्बलले किचिएर ज्यान गुमाएका थिए ।
मृत्यु हुनेमा ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेश गुरुङ, ५० वर्षीय टंक गुरुङ र २८ वर्षीय निशु गुरुङ छन् ।
उनीहरु सवै सुनसरीको बर्जु गाउँपालिका–१ का बासिन्दा हुन् । मृतक सबै छिमेकी भएको स्थानीय श्याम गुरुङले बताए ।
उनका अनुसार, ट्रकको पछाडि बस्नेको जीवन बीमा सुरक्षित नभएकाले मृतकका आफन्तले ब्यवसायीसँग क्षतिपूर्ति माग गरेका हुन् ।
बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीमा ट्रक ब्यवसायी संघसँग मृतकका आफन्तले बीमा बापतको रकम क्षतिपूर्ति स्वरुप दिनुपर्ने माग गरेका थिए । तर, ब्यवसायीले भनें ५० हजार रुपैंयाँका दरले मात्रै दिने बताएपछि सहमति हुन नसकेको उनले बतँए ।
सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्र खड्काका अनुसार, कानुन बमोजिम मात्रै क्षतिपूर्ति दिने ब्यवसायीले बताएपछि मृतकका आफन्त र ब्यवसायीबीच सहमति हुन नसकेको हो ।
मृतकका आफन्तले ट्रक ब्यवसायी संघ नभई ट्रक मालिक र मार्वल मालिकसँग संवाद गर्ने माग गरेका थिए । उनीहरु विराटनगरमा मार्वलधनी खोज्दै आएका छन् ।
मृतकका आफन्त आक्रोशित भएकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीले मार्वल गोदाममा कडा सुरक्षा दिएको छ । सो समूहले जिल्ला प्रहरी कार्यालय मोरङसँग मार्वल र ट्रक मालिकसँग छलफल गराई दिन आग्रह गरेपछि रोयल मार्वलका सञ्चालकलाई प्रहरीले बोलाएको थियो ।
मृतकका परिवारलाई जनही २० लाख रुपैंयाँका दरले क्षतिपूर्ति दिन माग गरेपछि मोरङमा पनि सहमति हुन सकेन ।
शुक्रबार पुनः सुनसरी प्रहरीको रोहवरमा छलफल हुने भएको छ ।
सवारी साधनको सीट भन्दा बाहिरको जीवन बीमा नहुने भएकाले मृतकले कानुन अनुसारको क्षतिपूर्ति नपाउने अवस्था छ ।
मृतकहरु जीविकोपार्जनका लागि भारी बस्तु मार्वल बोक्ने काम गर्दै आएका थिए । जुन मालिकका लागि उनीहरुले काम गर्ने क्रममा ज्यान गुमाए उनैले मृतकका बालबच्चा पढाउने हुर्काउने जिम्मा लिनुपर्ने मृतकका आफन्तको माग छ ।
ट्रकको अगाडि भागमा बसेका अन्य पाँच जना मध्ये तीन जना घाइते छन् । उनीहरुको विराटनगरमा उपचार भई रहेको छ ।
घाइते राम गुरुङले अवस्था सामान्य रहेको बताएका छन् । दुर्घटनापछि ट्रक चालक भने फरार छन् । उनको खोजी भई रहेको नायव उपरीक्षक खड्काले बताए ।
बढी भार बोकेको ट्रकको गति बढी भएकाले मोडमा सहज घुम्न नसक्दा पल्टिएको प्रहरीले बताएको छ ।
View : 179
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved