विराटनगर : नेकपा एमाले कोशी प्रदेश कमिटीको बैठकले २१५ सदस्यीय प्रदेश कमिटीलाई सल्लाह दिनका लागि २१० सदस्यीय सल्लाहकार परिषद् गठन गरेको छ । प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा नेतृत्वको प्रदेश कमिटीको गत कात्तिक २१ गते बसेको दोस्रो पूर्ण बैठकले २१० सदस्यीय सल्लाहकार परिषद् गठन गरेको हो ।
सल्लाहकार परिषद्मा कोशी प्रदेशका १४ वटै जिल्लाबाट एमालेका नेता तथा कार्यकर्ताहरूलाई समावेश गरिएको छ । बैठकपछि जारी भएको अन्तर कमिटी निर्देशनअनुसार प्रदेश कमिटीमा थप ११ जनालाई मनोनित समेत गरिएको उल्लेख छ । सल्लाहकार परिषद्मा गत असोज १६ मा सम्पन्न प्रदेश कमिटीको निर्वाचनमा उम्मेदवार बन्न आकांक्षी रहेका र प्रतिनिधि बनेर आएका धेरैको नाम समावेश छ ।
एमालेको विधानको धारा ३२ मा उल्लेखित प्रदेश कमिटीको अधिकार र कर्तव्यमा प्रदेश सल्लाहकार परिषद् गठन गर्न सक्ने व्यवस्था रहेको छ । जसमा आफ्नो कमिटीको कूल सदस्य संख्याभन्दा बढी नहुने गरी सल्लाहकार परिषद् गठन गर्ने कुरा उल्लेख गरिएको छ ।
विधानको यस्तो व्यवस्थाको फाइदा उठाउँदै प्रदेश कमिटी अध्यक्ष खतिवडाले कमिटीका हरेक सदस्यहरूलाई सल्लाह दिन झण्डै एक जना बराबरको सल्लाहकार पुग्ने गरी सल्लाहकार परिषद् गठन गरेका हुन् ।
उक्त बैठकले मनोनित गरेका थप ११ जना प्रदेश कमिटी सदस्यहरूसहित एमाले कोशी प्रदेश कमिटीको संख्या २२६ पुगेको छ । सल्लाहकारको संख्याको अनुपातमा प्रदेश कमिटीको संख्या ० दशमलव ९२ जना पुग्नेछ । निर्वाचित कमिटीको अनुपातमा भने ० दशमलव ९७ जना व्यक्ति सल्लाहकार हुन्छन् ।
विधानको धारा २९ अनुसार हरेक चार वर्षमा हुने प्रदेश अधिवेशनमा प्रदेश सल्लाहकार परिषद्का सदस्यहरूमध्येबाट २५ जना प्रतिनिधि निर्वाचित हुन पाउने छन् । सल्लाहकार परिषद्बाट निर्वाचित हुने ती प्रतिनिधिहरूबाहेक अन्यले भने प्रदेश अधिवेशनमा सहभागी हुने बाहेक मताधिकार प्राप्त नगर्ने विधानको धारा २९ को उपधारा २ (ख) मा उल्लेख गरिएको छ ।
प्रदेश कमिटीमा सोलुखुम्बुबाट बुद्धिकुमार राजभण्डारी, मोरङबाट भुराज राई, नागेश पोखरेल, पर्शुराम बस्नेत र अरुण राठी सदस्य मनोनित भएका छन् । संखुवासभाका बद्रि सापकोटा, भोजपुरका देवीराम चौलागाईं र रामसिंह राई, खोटाङका तेज ढुंगाना, सुनसरीका प्रमोद शेर्पा र झापाका घनेन्द्र योङ्वा सुब्बा प्रदेश कमिटी सदस्यमा मनोनित भएका छन् । प्रदेश कमिटीमा मनोनित भएका केही सदस्यहरू विभिन्न पार्टीहरूबाट एमाले प्रवेश गरेका व्यक्तिहरू रहेको जनाइएको छ ।
बैठकले प्रदेश कमिटीका पदाधिकारीहरूसहित ३८ सदस्यीय सचिवालय गठन गरेको छ । साथै बैठकले १४ वटै जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाका दुबै क्षेत्रको इन्चार्ज र सहइन्चार्ज पनि तोकेको अन्तर कमिटी निर्देशनमा उल्लेख छ ।
त्यसैगरी ३१ वटा विभागको प्रमुख र उपप्रमुख तोकेको छ । पार्टी स्कुल विभागको प्रमुखमा प्रदेश कमिटी अध्यक्ष खतिवडा नै रहेका छन् । निर्वाचन विभाग प्रमुखमा उपाध्यक्ष टिकाराम चेम्जोङ, संगठन विभाग प्रमुखमा सचिव राजकुमार भण्डारी, विज्ञान तथा प्रविधि विभागमा उपसचिव देवान राई, सहरी विकास विभाग प्रमुखमा उपसचिव जलवर्षा राजवंशी चयन भएकी छन् । त्यसैगरी संसदीय विभाग प्रमुखमा अम्बरबहादुर रायमाझी र प्रचार तथा प्रकाशन विभागमा लछुमन तिवारी चयन भएका हुन् ।
बैठकले जनसंगठनहरूका इन्चार्ज र सहइन्चार्ज पनि तोकिएको निर्देशनमा जनाइएको छ । प्रदेश कमिटीको बैठकले गरेको मनोनयन र विभागमा दिइएको जिम्मेवारीप्रति एमालेकै केही नेता तथा कार्यकर्ताहरूले सामाजिक सञ्जालका माध्यमबाट असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले मनपरी जिम्मेवारी तोकिएको आरोप लगाएका छन् ।
‘कतै दुई पटक संसदीय निर्वाचन जितेका व्यक्ति प्रदेश निर्वाचन क्षेक्रको इन्चार्ज बनाइएका छन्, कतै चुनाव हारेका व्यत्तिलाई एकै चोटी जिल्लाको इन्चार्जको जिम्मेवारी पाएका छन्’ एमालेका एक जिल्लास्तरका कार्यकर्ताले भने, ‘चुनावले मनमुटाव सकिनुपर्नेमा जबरजस्ती रुपमा केही नेताहरूलाई पाखा लगाउने गरी निर्णय हुनु एमालेको हितमा छैन, प्रदेश कमिटीले यस्तो गलत निर्णय सच्याओस् ।’
View : 364
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved