विराटनगर । पण्डित घनश्याम पोखरेल स्मृति प्रतिष्ठानले शताब्दी पुरुष अभिनन्दन तथा मेधावी विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ ।
शनिबार लक्ष्मीनारायण मन्दिर पिपलचोकको सभाहलमा आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले विराटनगर–२ शंकरपुरका १०२ वर्षीय पं. नारायण खनाल र विराटनगर–३ ज्योतिमार्गका १०० वर्षीय पं. बद्रीनाथ खतिवडालाई दोसल्ला र जनही २१ हजार रुपैयाँसहित सम्मानित गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष प्रा.डा. भोलानाथ पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मीनारायण गुरुकुलम् कञ्चनवारीका छात्रहरू रोशन न्यौपाने र राधारमण वेदवेदाङ्ग पाठशालाका अनुज घिमिरेलाई जनही ५ हजार एक सय रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको कार्यक्रम सञ्चालक नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि क्याम्पस काठमाडौंका उपप्राध्यापक सुदर्शन नेपालले जानकारी दिए ।
कार्यक्रममा पूर्व क्षेत्रका विशिष्ट प्राज्ञिक व्यक्तिहरूले पं.घनश्याम पोखरेलको बहुआयामिक व्यक्तित्व तथा आदर्श चरित्रको चर्चा गरेका थिए । उनीहरूले पं.पोखरेलको प्रेरणादायी आदर्श जीवनबाट अहिलेको समाजलाई मार्गदर्शन हुने उल्लेख गरेका थिए ।
कार्यक्रममा कोशी प्रदेश सभा सदस्य भीम पराजुली, प्राध्यापक कविराज न्यौपाने, सह प्रा.डा. रघुनाथ नेपाल, उप प्रा. युवराज धिताल, आचार्य रामानुज नेपाल, समाजसेवी महेश रेग्मी, प्रा.डा. भरत भट्टराई, स्वामी डा. यतिराजाचार्य लगायतको उपस्थिति रहेको थियो ।
View : 189
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved