शिक्षा मन्त्री श्रेष्ठलाई विराटनगरका मेयरको सुझाव
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छान्ने व्यवस्था मिलाउन शिक्षामन्त्री सुमना श्रेष्ठलाई सुझाव दिएका छन् ।
शिक्षामन्त्री श्रेष्ठले मंगलबार आयोजना गरेको महानगरपालिकाका प्रमुखहरूसँगको अनलाइन बैठकमा बोल्दै मेयर कोइरालाले शैक्षिक गुणस्तर वृद्धिका लागि खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्न शिक्षक सेवा आयोगलाई जिम्मेवारी दिनुपर्नेमा जोड दिए ।
उनले तीन–तीन वर्षमा प्रधानाध्यापकको कार्यसम्पादन मूल्यांकन गरी नवीकरण गर्ने वा नगर्ने अधिकार स्थानीय तहलाई दिंदा उपयुक्त हुने बताउँदै ज्येष्ठताको आधारमा नभई कार्यसम्पादन मूल्याङ्कनका आधारमा प्रअ नियुक्त गर्नुपर्नेमा जोड दिएका थिए ।
लामो समय शिक्षण कार्यमा संलग्न रहेका कतिपय शिक्षकहरू प्रविधिमैत्री नभएका कारण एक पटकलाई निश्चित मापदण्ड कायम गरी स्वेच्छिक अवकाश योजना ल्याउँदा उपयुक्त हुने मेयर कोइरालाले सुझाव दिए ।
सरकारले दिँदै आएको दिवा खाजाको रकम एकदमै न्यून भएकाले वृद्धि गर्न मेयर कोइरालाले मन्त्री श्रेष्ठको ध्यानाकर्षण पनि गराए । सामुदायिक विद्यालयका विद्यार्थीलाई खाजा वापत सरकारले हाल दैनिक १५ रुपैयाँ दिँदै आएको बताइएको छ ।
View : 202
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved