Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रदेश सुरक्षा गोष्ठीको ठहर : पहिचानको आन्दोलन कोशीको मुख्य चुनौती

उद्‌घोष संवाददाता
१ जेठ २०८२, बिहिवार

विराटनगर । सीमा नाकाहरुबाट भइरहेको चोरीतस्करी, लागुऔषध ओसारपसारदेखि पहिचानका नाममा उठेको राजनीतिक आन्दोलनसम्मलाई कोशी प्रदेशको मुख्य सुरक्षा चुनौती भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीले ठहर गरेको छ ।

‘पहिचानको नाममा भइरहेको आन्दोलन, पाथीभरा केवलकारको विवादले निम्त्याएको तनाव अहिले तत्कालका लागि सबैभन्दा ठूलो चुनौती भएको गोष्ठीको ठहर छ’, कोशीका एक उच्च प्रहरी अधिकारीले भने ‘खासगरी पहाडी जिल्लाहरुमा पहिचानको आन्दोलनले चुनौती थपेको कुरा रिपोर्टिङ भएको छ ।’

उनले भनेजस्तै गृहमन्त्री रमेश लेखकले पनि सोही विषयलाई चुनौती ठहर भएको पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । 

‘अहिले पहिचान स्थापित गर्नुपर्छ भनेर विचारहरू उठेका छन् । यो विचारले पनि प्रदेशमा सुरक्षा चुनौती रहेको बैठकमा निष्कर्ष निकालिएको छ’ उनले भने ‘विकासका नाममा पनि विवादहरु उठेका छन् ।’ 

सुरक्षा गोष्ठीमा विकासका नाममा विवाद भएको कुरा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि उठाएका थिए । उनीहरु दुवैको मुख्य संकेत ताप्लेजुङको पाथीभरामा निर्माण भइरहेको केवलकारतिर लक्षित थियो । 

बैठकमा सहभागी सुरक्षा अधिकारीहरुका अनुसार लागुऔषधको अनियन्त्रित कारोबार पनि कोशीको मुख्य चुनौती भएको ठहर भएको छ ।

‘अहिलेसम्म हामी प्रयोगकर्ताहरुमा मात्रै पहुंच स्थापित गरिरहेका छौं तर कारोबारी र र्‍याकेट चलाउनेहरुसम्म अपेक्षाकृत रुपमा पुग्नै सकिएको छैन’, वैठकमा अधिकांशले भनेका थिए ‘त्यो संजाल तोड्नु अहिलेको चुनौती हो ।’

यसबाहेक पछिल्लो समयमा बढेको साइबर अपराध, अन्य अपराधका घटना तथा चोरीतस्करी नियन्त्रण पनि चुनौतीको रुपमा रहेको सहभागीहरुले औंल्याएका थिए ।

View : 425

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved