प्रतिनिधि सभा निर्वाचन मोरङ–५
विराटनगर । मोरङको क्षेत्र नम्बर ५ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजकुमार यादवले स्वास्थ्य, कृषि, रोजगारी, पूर्वाधार, पर्यटन र सुशासनका विषयलाई मुख्य प्राथमिकता दिंदै चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।
यादवले मंगलबार विराटनगर–१२ स्थित रामजानकी मन्दिरको सभाहलमा आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्दै मोरङ–५ लाई समृद्ध, आत्मनिर्भर र अवसरयुक्त क्षेत्रका रूपमा विकास गर्ने योजना सुनाएका हुन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार रहेका उनले दक्षिणी विराटनगरको बाढी र डुबानको समस्या समाधान गर्न पहल गर्नेदेखि कटहरी, धनपालथान, जहदा र रंगेली नगरपालिकासम्मको क्षेत्रका पिछडिएका नागरिकलाई विकासका लागि अग्रसर बनाउने बताएका छन् ।
उनले ‘समृद्ध कृषि, शिक्षित युवा, स्वस्थ समाज र दिगो पूर्वाधार’ को नाराका साथ चुनावी मैदानमा उत्रिएको बताए । यादवले आफू जहिले पनि जनताको सेवामा सक्रिय रहेको बताएका छन् ।
‘उम्मेदवारहरूले चुनाव प्रचार प्रसार गर्न पाउने अवधि सुरु भएको छ, म संघीयताका लागि लडेको पार्टीको उम्मेदवार हो, मेरो मुख्य एजेण्डा नै समग्र ५ नम्बर क्षेत्रमा जसरी पनि विकास हुनुपर्छ भन्ने हो, किनभने अहिलेसम्म जितेकाहरूले केही नगरेको गुनासो आम जनताले गरिरहेका छन्’ उनले भने, ‘मुलुकमा भ्रष्टाचारको अन्त्य हुनुपर्छ, यो क्षेत्रको विकास हुनैपर्छ, चुनाबबाटै लोकतन्त्र बलियो हुने हो, म विगतमा तीन पटक हारेर पनि जनताको सेवामै छु, सुखदुःखमा साथमा छु, मलाई अवश्य विश्वास गर्नुहुने छ ।’
यादवले अहिले अन्य दलका नेताहरूले मधेस आउँदा मैथिलीमा बोल्न थालेको मुख्य कारण नै मधेश आन्दोलनको परिणाम भएको बताए । उक्त आन्दोलनको नेतृत्व जसपाले गरेको बताए ।
मुलुकका अहिले स्थायी सरकार आवश्यक रहेको बताए ।
जेनजी युवाहरूले पनि त्यही माग राखेको बताउँदै क्षेत्र नम्बर ५ को विकासका लागि आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारे ।
उनले विराट राजाको दरवारको विकास गरेर पर्यटन विकास गर्न सकिने, विराटनगरको पश्चिमी क्षेत्रमा केशलिया खोलामा तटबन्ध गरेर दक्षिणी क्षेत्रमा डुबानको समस्या समाधान गर्न सकिने बताए । त्यसका लागि आफूले नेतृत्व गर्न तयार रहेको बताए ।
यादवले विगतमा तीनवटा निर्वाचनमा समेत आफूलाई जनताले सम्मानजनक मत दिंदै आएको स्मरण गर्दै यसपटक आफू बलियो रुपमा अघि बढेको बताए । त्यसको मुख्य कारण विगतमा जितेर गएकाहरूसँग जनता खुसी नभएको बताए ।
उनले क्षेत्र नम्बर ५ मा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै प्रत्येक नागरिकलाई प्रभावकारी, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिएको बताए ।
बढ्दो युवा पलायन रोक्दै स्वदेशमै अवसर सिर्जना गर्ने पनि उनको प्रतिबद्धता पत्रमा उल्लेख छ । त्यस्तै, बन्द तथा जीर्ण अवस्थाका उद्योगहरू पुनः सञ्चालन गर्ने, साना तथा मझौला उद्योग प्रवद्र्धन, उद्यमशीलता विकास र सीपमूलक तालिममार्फत रोजगारी सृजना गर्ने बताए ।
कृषि क्षेत्रका रुपमा रहेको मोरङ–५ मा आधुनिक कृषि प्रणाली विकास गर्ने, मल, बीउ र सिंचाइको सहज उपलब्धता सुनिश्चित गर्ने, कृषिमा प्रविधिको प्रयोग बढाउने तथा उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने उनले प्रतिवद्धतामा उल्लेख गरेका छन् ।
सडक, पुल, ढल, खानेपानी तथा सिंचाइ संरचनाको विस्तार र स्तरोन्नति गरिने, बाढी नियन्त्रण, नदी व्यवस्थापन र सुरक्षित बस्ती विकासलाई प्राथमिकता दिइने यादवले बताए ।
सामाजिक सद्भाव, समानता र समावेशिता आफ्नो राजनीतिक एजेन्डाको आधार रहेको जानकारी दिए ।
उनले चुनावी प्रतिवद्धता सार्वजनिक गरेलगत्तै दलका नेता कार्यकर्ताहरूसहितको सहभागितामा घरदैलो अभियान समेत सुरु गरेका छन् ।
प्रेस मञ्च मोरङका अध्यक्ष मुकेश यादवको अध्यक्षतामा आयोजित प्रतिवद्धता पत्र सार्वजनिकीकरण कार्यक्रममा जसपाका केन्द्रीय उपमहासचिव रेखा यादव, केन्द्रीय सदस्य जयराम यादव,अर्जुन थापा, संजय सिंह लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
View : 112
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved