विराटनगर । अन्तरिम सरकारमा पहिले प्रधानमन्त्री र पछि मन्त्री दाबी गर्दै मिडियादेखि सामाजिक सञ्जालसम्म रोइकराई गदैं हिडेका मेयर हर्क साम्पाङको उपमहानगरमा बजेट भने बल्ल आएको छ ।
असार १० गतेभित्र आउनुपर्ने स्थानीय तहको बजेट धरानले असोज ४ मा मात्रै ल्याउन सकेको हो ।
मेयर हर्क साम्पाङले आफ्नै टोलीका अन्य जनप्रतिनिधिहरूसँग कामको लय मिलाउन नसक्दा दुई महिनाभन्दा लामो समयदेखि धरान उपमहानगरको बजेट होलिडेमा थियो ।
साउन १ मै सुरू हुनुपर्ने नयाँ बजेट बल्ल आएको हो । मेयर साम्पाङले अन्य जनप्रतिनिधिलाई विश्वासमा लिन नसक्दा यतिका समय बजेट नआएको अरू जनप्रतिनिधि बताउँछन् ।
नयाँ आर्थिक वर्ष सुरू भएको दुई महिना बितेपछि शनिबार बल्ल बजेट आएको हो ।
धरानको १७ औं नगरसभामा शनिबार पेश भएकै दिन पारित गरेर धरान नगरसभाले बजेट कार्यान्वयनको बाटोसमेत खोलिदिएको छ ।
कानुन अनुसार असार १० भित्र प्रस्तुत गरिसक्नुपर्ने र असारभित्रै पारित गरेर साउन १ देखि कार्यान्वयनमा लैजानु पर्ने बजेट धरानमा झण्डै दुई महिना ढिलो गरी आएको हो ।
धरान उपमहानगरमा नयाँ आर्थिक वर्ष २०८२–८३ को साउन र भदौ दुई महिना बित्दासम्म बजेट होलिडेमै थियो ।
अब नीति कार्यक्रम तथा बजेट पारित भएपछि बल्ल धरानमा खर्च गर्ने बाटो खुला भएको छ ।
धरानको नगरसभाले चालु आर्थिक वर्षका लागि २ अर्ब २० करोड ७४ लाख ५९ हजार रूपैयाँको बजेट पारित गरेको हो ।
कुल बजेटमध्ये चालु खर्चबाहेक पूँजीगततर्फको बजेटमा १० प्रतिशत घटाएर मात्र कार्यान्वयन गर्ने सैद्धान्तिक सहमतिको निर्णय यसअघि नै कार्यपालिकामा भइसकेको थियो ।
त्यसैले सीमा निर्धारण समितिले तयार पारेभन्दा सानो आकारमा बजेट आएको हो ।
भदौ २६ मै नगरसभाको मिति तोकिए पनि जेनजी आन्दोलनको कारण हुनसकेको थिएन ।
त्यही अवधिमा मेयर साम्पाङ मन्त्री बन्न काठमाडौं दौडाहामा रहेका कारण पनि बजेट आउन ढिलाइ भएको हो ।
नगरसभामा उपप्रमुख एवं बजेट तर्जुमा समितिका संयोजक अइन्द्रबिक्रम बेघाले बजेट प्रस्तुत गर्दै पूर्वाधार विकास, शिक्षा स्वास्थ्य तथा सामाजिक विकास, पर्यटन, कृषि र विपद व्यवस्थापनलाई प्राथमिकता दिइएको बताए ।
उनले क्षेत्रगत बजेट विनियोजन प्रस्तुत गर्दै वडागत बजेटतर्फ २० वटै वडाहरूको लागि कुल २१ करोड, शहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ कुल ६६ करोड ९४ लाख विनियोजन गरेका छन् ।
शिक्षा युवा तथा खेलकुदतर्फ कुल ४६ करोड ८५ लाख, स्वास्थ्यतर्फ ६ करोड ९९ लाख ९५ हजार, सामाजिक विकासतर्फ ४ करोड ८६ लाख ४५ हजार, आर्थिक विकासतर्फ १ करोड २९ लाख बजेट विनियोजन गरिएको छ ।
वन वातावरण उर्जा तथा विपद व्यवस्थापनतर्फ कुल २ करोड ७४ लाख ५० हजार, कानुन तथा न्याय सम्पादनतर्फ आन्तरिक स्रोतबाट २० लाख, सार्वजनिक जग्गा संरक्षणतर्फ आन्तरिक स्रोतबाट १५ लाख, राजश्व परिचालनतर्फ आन्तरिक स्रोतबाट ४३ लाख, नगर भिजन कार्यक्रमतर्फ ५ करोड ५ लाख बजेट विनियोजन गरिएको छ ।
बजेटको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजश्वबाट ८० करोड ५३ लाख ६५ हजार स्रोत अनुमान गरिएको छ ।
गत आर्थिक वर्ष २०८१–८२ मा आन्तरिक स्रोतबाट ४९ करोड ७० लाख आयको अनुमान गरिएको थियो ।
तर, उक्त आर्थिक बर्षको असार मसान्तसम्म आन्तरिक स्रोततर्फ २९ करोड ९५ लाख २५ हजार ७ सय ९ अनुमानको ६९.८१० प्रतिशत मात्र आय भएको छ ।
यो तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२र८३ को बजेटमा करिब ५० करोड घाटा बजेट अनुमान गरिएको छ ।
यस्तै, प्रदेश सरकारबाट अनुदान ७ करोड ७३ लाख ४४ हजार, राजश्व बाँडफाँटबाट ३४ करोड १८ लाख ५० हजार, सडक बोर्ड नेपालबाट २ करोड र गत वर्षको मौज्दातबाट ७ करोड प्राप्त हुने अनुमान गरिएको छ ।
View : 443
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved