जुवातास खेलेको आरोपमा सुनसरी प्रहरीले पक्राउ गरेका व्यक्तिहरु । तस्वीर : उद्घोष
विराटनगर । तिहार सकिएर छठको तयारीमा जुटेका बेला मोरङ कटहरी–२ हुलाकी राजमार्गमा घर भएका जिल्लाकै ठुला काठ व्यवसायी प्रभु साहको घरमा प्रहरीले छापा मारेर काठ व्यवसायी र ट्राफिक प्रहरीलाई पक्राउ गरेको छ ।
काठ मिल सञ्चालन गर्दै आएका साहको घरमा तास खेल्दै गरेका र आसपासमा रहेका आठ जनालाई बुधबार राति प्रहरीले २० जनालाई पक्राउ गरेको छ ।
साहसँगै विराटनगर–७ नेपाल राष्ट्र बैंक अगाडि काठ मिल भएका प्रदीप साह, मोरङ ट्राफिकमा कार्यरत सहायक हवल्दार सरोज ठाकुर लगायतका व्यक्ति पक्राउ परेका छन् ।
प्रभु साहको घरमा मानिस भेला भएर जुवा खेल्दै गरेको सूचना आएपछि वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक बुद्ध श्रेष्ठको नेतृत्वमा गएको प्रहरी टोलीले छापा मारेको थियो ।
काठका थोक व्यवसायी साह प्लाइउडका उत्पादक पनि हुन् । उनीसँगै अर्का काठका ठुला ब्यापारी प्रदीप साहलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
कटहरी–२ घर भएका प्रहरी सहायक हवल्दार ठाकुर छठ बिदामा घर गएका बेला पक्राउ परेको मोरङ ट्राफिक प्रमुख राजन लम्सालले बताए ।
‘दशैं र तिहारमा राम्रो ड्युटी गरेकाले छठमा बिदा दिइएको हो, पक्राउ परेको सुनेको छु, औपचारिक जानकारी छैन’ उनले भने ।
साहको घरबाट अर्का व्यवसायी सुधीर बोहरा पनि पक्राउ परेका छन् । पक्राउ पर्ने अन्यमा सुजन साह, नारायण साह, शंकर साह, संजय रौनियार छन् । साहको घरको खालबाट एक लाख १९ हजार ५ सय नेपाली रुपैयाँ र ४ हजार ६ सय भारु बरामद भएको प्रहरीले जनाएको छ ।
यस्तै नायव उपरीक्षक श्रेष्ठ नेतृत्वको टोलीले विराटनगर–६ सरौचियामा रहेको विशाल होटलमा तास खेल्दै गरेका १२ जनालाई बुधबार राति साढे ११ बजे पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वडा नं. ६ निवासी गंगाराम मण्डल, मनबहादुर कार्की, भोला सहनी, रविकुमार महतो, रामकुमार सहनी र शम्भु सहनी छन् । यस्तै वडा नम्बर ११ निवासी राजेश काङ्खले, शिवकुमार सहनी, सञ्जीव सहनी र विशाल सहनी पनि पक्राउ परेका छन् ।
वडा नम्बर २ निवासी बिमल मण्डल र खोटाङ दिक्तेलका भरतकुमार राई छन् । पक्राउ परेका २० जनालाई बिहीबार हाजिरी जमानीमा छाडिएको छ ।
छठ बिदा भएकाले उनीहरूको मुद्दा दर्ता गरेर कार्यालय खुलेपछि उपस्थित गराइने शर्तमा आफन्तको जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
यसैबीच, तिहारमा जुवा खेल्दै गरेको अवस्थामा विराटनगरमा पक्राउ परेका २७ जना जुवाडे मंगलबार धरौटीमा छुटेका छन् । विराटनगरका दुई ठाउँबाट उनीहरू पक्राउ परेका थिए ।
विराटनगर–१६ मा लक्ष्मीपूजाका दिन सात भारतीय नागरिकसहित १७ जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको थियो ।
उनीहरू सबै साढे ५ हजार रूपैयाँ धरौटी राखेर रिहा भएको प्रहरीले बताएको छ । जुवा खेल्न सीमापारि जोगवनीबाट उनीहरू विराटनगर आएका थिए ।
जोगवनी ३ का बिक्रमकुमार दास, प्रेमकुमार राम, रामकुमार दास, सञ्जयकुमार दास, अमित चौधरी, ओपिन्दर कुमार र कमल सहनी पक्राउ परेका थिए ।
अन्य १० जनामा विराटनगर–१६ का हरेराम चौधरी, सुधीर महतो, अजय विश्वकर्मा, रोहित चौधरी, सोनु तत्मा, रविकुमार सरबरिया, सुरेशकुमार चौधरी, आशिष चौधरी र जितनकुमार साहसँगै छुटेको प्रहरीले बताएको छ ।
भारतीय नागरिकहरू पनि भएकाले तिहारमा कसैलाई पनि हाजिरी जमानीमा प्रहरीले नछाडी हिरासतमा राखेको थियो ।
विराटनगर–११ संगम पार्टी प्यालेसबाट गत शुक्रबार पक्राउ परेका १० जना भने भोलिपल्टै शनिबार हाजिरी जमानीमा छुटेका थिए ।
मंगलबार प्रशासनमा हाजिर भएका उनीहरू सबैले जनही १७ हजार ५ सय रूपैयाँका दरले धरौटी बुझाएको मोरङका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
साढे १७ हजार रूपैयाँ धरौटी बुझाउनेहरूमा पदम श्रेष्ठ, राजन कँडेल, पशुपति भगत, ध्रुव सिग्देल, टुनटुन शर्मा, बाबुराम कट्टेल, सुरेन्द्र ठाकुर, वीरेन्द्र साह, मनिराज प्रसाई र लिला सहनी छन् ।
धरौटीमा छुटेका सबैको जुवा मुद्दा भने जारी रहेको छ । पछि सबैलाई जरिवाना हुने बताइएको छ ।
View : 164
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved