मन्त्री हेरफेरको तयारी
विराटनगर । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन नजिक पुगेको छ । मुख्यमन्त्री हिक्मत कुमार कार्की काठमाडौंमै राजनीतिक दौडधुपमा भएका कारण उनी अपरान्ह विराट आएलगत्तै मन्त्रिमण्डल फेरबदल हुने प्रबल सम्भावना रहेको स्रोतले जनाएको छ ।
पटक–पटक हुने भन्दै रोकिएको मन्त्रिपरिषद् पुनर्गठन नजिक पुगेको सत्ता साझेदार एमाले–कांग्रेसका नेताहरूले बताउँदै आएका छन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्री नियुक्त हुने एमालेका सांसदहरूलाई विराटनगर बोलाइसकेको जनाइएको छ ।
बाक्लो हुस्सुका कारण मंगलबार विहानैदेखि विराटनगर विमानस्थलमा जहाज नउडेका कारण मुख्यमन्त्री कार्की विराटनगर आउन पाएका छैनन् । उनी अपरान्ह विराटनगर आएलगत्तै एमाले संसदीय बोर्डको बैठक बस्ने र अपरान्ह ४ बजेतिर नयाँ मन्त्रीहरूको सपथ ग्रहण हुने जनाइएको छ ।
कांग्रेसका नेताहरूले पनि मंगलबार नै नयाँ मन्त्रीहरूको सपथ हुने तयारी भएको जानकारी दिए ।
पुस १८ गते शुक्रबार नै अहिलेका मन्त्रीहरूलाई बिदा गरेर एमाले र कांग्रेसबाट नियुक्त हुने नयाँ मन्त्रीहरूलाई सपथ गराउने यसअघिको तयारी अन्तिम समयमा रोकिएको थियो ।
कांग्रेस केन्द्रको विवादले रोकिएको मन्त्री हेरफेर अब हुने भएको नेताहरूले जानकारी दिएका छन् ।
एमाले र कांग्रेसबाट मन्त्री बन्नेहरूको सूची तयार भइसकेको जनाइएको छ । दुवै दलले अहिले सम्हालिरहेका मन्त्रालयहरू नै सम्हाल्नेछन् ।
एमालेबाट मन्त्री बन्ने आकांक्षीहरूको सूचीमा ६ जनाको नाम छ । जसमध्ये चार जना मन्त्री बन्नेछन् ।
बिदुर लिङ्थेप, चिन्तन पाठक र इन्द्रमणि पराजुली मन्त्री बन्ने निश्चित भइसकेको जनाइएको छ । त्यस्तै उमाकान्त गौतम, निरन राई र रामप्रसाद मेहता मध्ये थप दुईजना मन्त्री बन्ने सूचीमा रहेका छन् ।
त्यस्तै नेपाली कांग्रेसको तर्फबाट चार जनाको नाम मन्त्रीका लागि निश्चित भएको छ ।
कांग्रेसबाट प्रदीप सुनुवारले नेतृत्व गरेर भीम पराजुली, मानबहादुर लिम्बू, इसराइल मन्सुरी मन्त्री बन्ने कांग्रेस स्रोतको भनाइ छ ।
वर्तमान सरकारमा नेकपा एमालेबाट राम राना आर्थिक मामिला, पाँचकर्ण राई सामाजिक विकास, रेवतीरमण भण्डारी आन्तरिक मामिला तथा कानुन र एकराज कार्की खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तथा सिर्जना राई राज्यमन्त्री छन् ।
नेपाली कांग्रेसबाट भूपेन्द्र राई भौतिक पूर्वाधार विकास र स्वास्थ्य, खगेनसिंह हाङ्गाम कृषि र सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री छन् ।
गएको साउन–भदौभित्र मन्त्रिपरिषद पुनर्गठनको तयारी थियो । तर, मुख्यमन्त्री कार्की र उनको दल नेकपा एमाले कोशी प्रदेश कमिटीबीच कुरा नमिल्दा प्रदेश सरकारको मन्त्रिमण्डल हेरफेर अड्किएको थियो ।
कोशीमा कांग्रेस र एमालेबीचमा कम्तीमा एउटा आर्थिक वर्षको बजेट ल्याएपछि प्रदेशमा मन्त्री परिवर्तन गर्ने सहमति थियो ।
एमाले सांसदहरूका अनुसार पार्टीबाट मन्त्रिमण्डलमा पठाउँदा यसअघि केन्द्रीय संसदमा प्रतिनिधित्व गरिसकेका, दुईपटक प्रदेशसभामा छानिएकाहरू तथा समावेशीताका आधारमा पठाइने मापदण्ड बनाएको थियो ।
साथै, कम्तीमा एक आर्थिक वर्षको बजेट ल्याउन दिने पनि उल्लेख थियो ।
View : 310
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved