Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगर महानगरको बजेट ४ अर्ब ४० लाख

पूर्वाधार उच्च प्राथमिकतामा, १९ वटा वडामा ४३ करोड ५६ लाख ३२ हजार रुपैयाँ विनियोजन
उद्‌घोष संवाददाता
१० असार २०८२, मङ्गलवार

विराटनगर । पूर्वाधार विकासमा उच्च प्राथमिकता दिंदै विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ४ अर्ब ४० लाख रुपैयाँको बजेट अनुमान नगर सभामा प्रस्तुत गरेको छ ।

महानगरपालिकाको मंगलबार आयोजित १६ औं नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले नीति तथा कार्यक्रम र बजेट अनुमान प्रस्तुत गरेकी छन् । उनले नीति तथा कार्यक्रम र बजेटमार्फत महानगरको पूर्वाधार विकास र वडास्तरीय योजना कार्यन्वयनमा जोड दिइएको बताइन् ।

उक्त बजेट कार्यन्वयन गर्न आयतर्फ वित्तीय समानीकरण अनुदानबाट ३७ करोड ९६ लाख ३० हजार, राजस्व बाँडफाँडबाट १ अर्ब १९ करोड २० लाख ३ हजार, आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड, संघीय सरकारबाट सशर्त र समपुरक अनुदान ८३ करोड ३४ लाख, प्रदेश सरकारको सशर्त अनुदानबाट ४ करोड २३ लाख ६७ हजार, सडक बोर्ड नेपालबाट १ करोड ५० लाख, अन्य संघ संस्थाबाट १६ लाख र चालु आवको मौज्दात १४ करोड प्राप्त हुने अनुमान प्रस्तुत गरिएको हो ।

खर्चतर्फ संचित कोषबाट विनियोजन हुने गरी १९ वटा वडा कार्यालयमा चालु तथा पूँजीगततर्फ कुल ४३ करोड ५६ लाख ३२ हजार रुपैयाँ छुट्याइएको छ ।

महानगरपालिकाको कार्यालयका लागि चालु तथा पूँजीगततर्फ २ अर्ब ६९ करोड २६ लाख १ हजार रुपैयाँ खर्चको अनुमान छुट्याइएको छ । त्यस्तै संघ र प्रदेशबाट हस्तान्तरित शसर्त र समपुरकतर्फका योजना कार्यन्वयनका लागि ८७ करोड ५७ लाख ६७ हजार रुपैयाँ छुट्याइएको हो ।

महानगरपालिका कार्यालय संचालन तथा प्रशासनिक खर्च ६४ करोड ७५ लाख, ऋणको सावाव्याज तिर्न ५ करोड, चालु आवको भुक्तानी बाँकीका लागि ८ करोड खर्च हुने अनुमान गरिएको छ ।

महानगरपालिकाले सडक बोर्डबाट संचालन हुने योजनामा १ करोड ५० लाख र नगरस्तरीय अन्य योजनामा ६४ करोड ६१ लाख १ हजार गरी भौतिक पूर्वाधार विकासतर्फ सवैभन्दा बढी १ अर्ब ६८ करोड ८३ लाख १३ हजार रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै शैक्षिक विकासका लागि ७५ करोड ५१ लाख ३० हजार, स्वास्थ्य क्षेत्रमा १५ करोड ३५ लाख, महिला लक्षित कार्यक्रमका लागि ९१ लाख, संघसंस्थाका लागि ५ करोड ५ लाख छुट्याइएको छ ।

आर्थिक विकासतर्फ २ करोड ९६ लाख २५ हजार, वन वातावरण तथा विपद् व्यवस्थापनका लागि ३ करोड १० लाख, सुशासन तथा संस्थागत विकासका लागि ३ करोड ३० लाख छुट्याइएको उल्लेख छ ।

महानगरपालिकाले नगरका विभिन्न सडक मर्मत सम्भारका लागि १० करोड, फोहोरपानी प्रशोधन केन्द्रका लागि २ करोड ६० लाख, विद्युतीकरणमा २ करोड, सडक पुर्वाधार तथा बस्ती विकासमा १० करोड २७ लाख १२ हजार विनियोजन गरेको छ ।

View : 415

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved