विराटनगर । प्रतिनिधि छनोटका क्रममा विवादित भएको भन्दै नेकपा एमाले केन्द्रले कोशीका दुई जिल्लाको निर्वाचन बदर गरेको छ ।
११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटका क्रममा भएको ओखलढुंगा र धनकुटाको निर्वाचन केन्द्रीय संगठन विभागले रद्द गरेको हो ।
प्रतिनिधि छनोटका लागि भएको निर्वाचनमा ओखलढुंगामा ईश्वर पोखरेल पक्षले क्लिनस्वीप गरेको थियो । त्यस्तै धनकुटामा संस्थापन पक्षले एकलौटी जितेको थियो ।
तर, दुवै जिल्लामा प्रतिनिधि छनोटको निर्वाचनमा धाँधली भएको उजुरी केन्द्रमा परेपछि केन्द्रले दुवै जिल्लामा पाँच दिनभित्र पुनः निर्वाचन गराउन भनेको हो ।
ओखलढुंगामा इतर पक्षले सदरमुकाममा मात्रै मतदान गरेर एकलौटी निर्वाचन परिणाम घोषणा गरेको थियो ।
धनकुटामा भने संस्थापन पक्षले एकलौटी रूपमा मतदान गराएको थियो । धनुटामा सहमतिको प्रयास हुँदा संस्थापन पक्षले नौ र इतर पक्षलाई चार जना प्रतिनिधि लिने विषयमा छलफल भएको थियो ।
तर, इतर पक्ष तयार नभएपछि जिल्ला इञ्चार्ज राजेन्द्र राईले एकलौटी रूपमा निर्वाचन गराका थिए ।
धनुकटामा प्रदेश सांसदसमेत रहेका इन्द्रमणि पराजुलीसहितको समूहले निर्वाचन प्रक्रियाको विरोध गर्दै उजुरी दिएको थियो ।
धनुकटामा मतपत्र च्यातिने गरी विवाद भएको थियो । धनकुटामा १३ र ओखलढुंगामा १२ जना प्रतिनिधि छानिएका थिए । दुवै जिल्लाको छनोट प्रक्रिया केन्द्रले बदर गरेपछि पुनः निर्वाचन हुने भएको हो ।
केन्द्रले धनकुटाको विवाद समाधानको जिम्मा प्रदेश इञ्चार्ज शेरधन राई र जिल्ला इञ्चार्ज राजेन्द्र राईलाई दिएको छ भने ओखलढुंगाको प्रतिनिधि छनोटका लागि सहजीकरणको जिम्मा प्रदेश इञ्चार्ज शेरधन राईसँगै विशाल भट्टराई, यज्ञराज सुनवार र किशोर अधिकारीले पाएका छन् ।
View : 299
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved