Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

संविधान र लोकतन्त्रको रक्षा गर्न चुनाव अपरिहार्य : उपमहासचिव भट्टराई

उद्‌घोष संवाददाता
९ माघ २०८२, शुक्रवार

Advertisement

विराटनगर । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अब निर्वाचन नहुने भन्ने शंका गर्ने कुनै ठाउँ बाँकी नरहेको बताएका छन् । 

नेकपा एमाले विराटनगर नगर कमिटीको बिहीबार आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै उपमहासचिव भट्टराईले एमाले पूर्ण तयारीका साथ चुनावमा होमिइसकेको स्पष्ट पारे । उनले अब तीव्र रफ्तारमा चुनावी तयारी अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

उत्साहजनक रूपमा मनोनयन दर्ता सम्पन्न भएसँगै अब निर्वाचन नहुने भन्नेमा शंका गर्ने कुनै ठाउँ बाँकी नभएको बताए ।

‘यो निर्वाचन कुनै राजनीतिक दल, देश वा संविधानले चाहेको अवस्था होइन’ भट्टराईले भने ‘कुनै प्रधानमन्त्रीले संसद् विघटन गरेर निर्वाचनको अवस्था सिर्जना भएको पनि होइन, विशिष्ट राजनीतिक घटनाक्रम पछि देशलाई पुनः संवैधानिक र लोकतान्त्रिक बाटोमा फर्काउन यो निर्वाचन अपरिहार्य बनेको हो ।’

उनले २०७४ को निर्वाचन र संविधान निर्माणपछि देश राजनीतिक स्थायित्वतर्फ जाने, समृद्धि र सुखी नेपालीको लक्ष्य हासिल गर्ने नारा एमालेले अघि सारेको स्मरण गराए । 

२००७ सालको क्रान्तिपछि २०१७ सालमा ‘कू’, २०४६ सालको जनआन्दोलनपछि माओवादी सशस्त्र द्वन्द्व, दरबार हत्याकाण्ड र राजा ज्ञानेन्द्रको महत्वकांक्षाबाट लोकतन्त्रिक व्यवस्थामाथि नै ‘कू’ भएको उल्लेख गरे । 

पछिल्लो जेन आन्दोलनको पृष्ठभूमि र त्यसपछिको परिणामले समेत लोकतन्त्रमाथि ‘कु’ भएको उनले बताए ।

‘अहिले फेरि हाम्रो क्रान्तिमाथि, संविधानमाथि र प्राप्त उपलब्धिमाथि आक्रमण भएको छ’ भट्टराईले भने– ‘किस्ता–किस्तामा राजनीतिक क्रान्तिमाथि धावा बोल्ने शक्तिहरूलाई समाप्त गर्दै एकमुष्ट रूपमा क्रान्तिको रक्षा गर्ने जिम्मेवारी यो निर्वाचनले पूरा गर्नुपर्छ ।’

उनले चुनौतीका घडीमा सँधै एमालेले देश र लोकतन्त्रको रक्षा गर्दै आएको दाबी गरे । 

एमाले नेपाली माटोमा उम्रिएको पार्टी भएकोले यसको बीउ, मल र संस्कृतिमा पनि नेपालीपन रहेको बताए । 

‘अहिले च्याउसरी उम्रिएका केही पार्टीहरूको बीउ र मल कहाँको हो भन्ने शंका छ’ उनले भने, ‘बाह्य शत्रुसँग लड्नुअघि पार्टीभित्र एकता आवश्यक छ ।’

View : 293

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved