Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

एक ट्याक्टरका चार मुद्दा

अदालत भन्छ- कटहरीलाई अवहेलनामा किन कारवाही नगर्ने ?

उद्‌घोष सम्वाददाता
२८ जेठ २०८१, सोमवार

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले कारवाहीका लागि नियन्त्रणमा लिएको एक ट्याक्टरका विषयमा उच्चदेखि सर्वोच्च अदालतसम्म चार पटक मुद्दा पुगेको छ । उच्च अदालत विराटनगरले भने कटहरीलाई अदालतको अवहेलनामा किन कारवाही नगर्ने ? भन्ने प्रश्न गरेको छ ।

उच्च अदालतले आइतबार अवहेलना मुद्दामा कटहरी गाउँपालिकाकालाई सात दिन भित्र लिखित जवाफ माग गरेको छ । न्यायाधीशद्वय बिपुल न्यौपाने र नरेशकुमार चौधरीको इजलासले आफै वा कानुन व्यवसायी मार्फत जवाफ माग गरेको हो ।

धनपालथान गाउँपालिका र कटहरीको सिमानामा पर्ने लोहन्द्रा खोलाको माटो उत्खनन् गर्दा अनियमित भएको जनाउंदै गत फागुनमा कटहरीले एउटा ट्याक्टर र त्यसमा जडित माटो खन्ने उपकरण नियन्त्रणमा लिएको थियो ।

खोलाको भरौट र बालुवा निकाल्न धनपालथान गाउँपालिकाबाट इजाजत पाएको ठेकेदार कम्पनी आरसी सप्लार्यस एण्ड कन्ट्रक्सनले प्रयोग गरेको ट्याक्टर र उपकरण दुबैलाई पालिकाले एक–एक लाख रुपैयाँ जरिवाना लिने निर्णय गरेको थियो ।

कटहरी तर्फबाट भरौट निकाल्दा १० फिटसम्म खनिएको गहिरो खाडल पुर्नुपर्ने पनि कटहरी गाउँपालिकाले ठेकेदारलाई आदेश गरेको थियो । सो आदेशविरुद्ध ठेकेदार कम्पनीले पनि ट्याक्टर छाड्न माग गर्दै उच्च अदालतमा मुद्दा दियो ।

ट्याक्टर धनी गणेश मलाहाले क्षतिपूर्तिको माग गर्दै ट्याक्टर भाडामा लिने ठेकेदार कम्पनी र नियन्त्रणमा लिने गाउँपालिकाविरुद्ध उच्च अदालतमा मुद्दा दिएका थिए । गत बुधबार न्यायाधीशद्वय बिपुल न्यौपाने र केशवप्रसाद बास्तोलाको इजलासले कटहरी गाउँपालिकालाई ट्याक्टर छाड्न आदेश गरेको थियो । पालिकाले अदालतको आदेश पाए पनि ट्याक्टर नछाडेपछि मलाहाले अवहेलना मुद्दा दर्ता गरेका हुन् ।

उच्च अदालतले ट्याक्टर छाड्न आदेश दिएपछि  कटहरी गाउपालिका सर्वोच्च अदालत पुगेको स्रोतले बताएको छ । पालिकाको निर्णयविरुद्ध आदेश आएपछि गाउँपालिका सर्वोच्च पुगेको बताइएको छ । ‘दैनिक ५ हजार रुपैयाँ आम्दानी दिंदै आएको ट्याक्टर झण्डै चार महिनादेखि पालिकाको नियन्त्रणमा छ, हामी जस्तो सामान्य कारोबारीको लगानी नै डुबेको छ’ मलाहाले भने । 

उच्चको आदेशविरुद्ध सर्वोच्च गएको विषयमा कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले केही पनि बताउन चाहेनन् । तर, उच्चको अवहेलना मुद्दामा भने गाउँपालिकाले उच्चमै निवेदन दिएको उनले जानकारी दिए । निवेदन दर्ता वा दरपिठ हुने नहुने सोमबार थाहा हुने छ । ‘जिल्ला सुरक्षा समितिको निरीक्षणपछि खोलामा देखिएको जोखिम नियन्त्रण गर्न कारवाहीको निर्णय भएको थियो’ अध्यक्ष चौधरीले भने ।

अदालतले ट्याक्टर छाड्न दिएको आदेशको अवहेलना गर्नु भन्दा पनि ट्याक्टर कसलाई बुझाउने भन्नेबारे अन्यौल भएकाले यो अवस्था आएको उनको भनाइ छ । चौधरीका अनुसार ट्याक्टर माग गर्दै ठेकेदार कम्पनीले अदालतमा मुद्दा दिएको थियो । पछि गणेश मलाहलाई ट्याक्टर दिन आदेश भएको छ ।

‘ट्याक्टर कुमारी बैंकको नाममा छ, ट्याक्टरका ऋणी पाथीभरा सप्लायर्स झापाका रामप्रसाद धिताल रहेका छन्, अब ट्याक्टर कसलाई फिर्ता दिनु ?’ चौधरीले भने ।

View : 173

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved