Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

मोरङ प्रहरीको अगुवाईमा सुरु भयो लागुऔषधविरुद्ध महाअभियान

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बैशाख महिनामा मात्रै ८२१ ग्राम खैरो हेरोइनसहित २५ जनालाई पक्राउ गरिएको छ । विभिन्न प्रकारका लागूऔषधको प्रयोगकर्ता र ओसारपसारमा संलग्नसहित बैशाखमा ३६ जना पक्राउ परेका छन् ।
उद्‌घोष संवाददाता
१० जेठ २०८३, आइतवार

विराटनगर । मोरङ प्रहरीले लागुऔषध नियन्त्रण तथा रोकथामका लागि ‘लागुऔषध विरुद्धको महाअभियान २०८३’ आइतबार विराटनगरमा सुरु गरेको छ । 

सामाजिक समस्याका रुपमा बढ्दै गएको लागुऔषध दुव्र्यसनका कारण हजारौं युवाहरू कुलतमा डुब्न थालेपछि प्रहरीले महाअभियानको घोषणा गरेको हो । 

महाअभियानको सुरुवातका लागि प्रहरी महानिरीक्षक दानबहादुर कार्की स्वयंम् उपस्थित भए । विराटनगरको महेन्द्र चोकबाट बृहत प्रभातफेरी निकालिएको थियो । 

सामाजिक संघसंस्था, स्कुल तथा कलेजका विद्यार्थी, सुरक्षाकर्मी र सर्वसाधारणको व्यापक उपस्थितिमा निकालिएको प्रभातफेरी शहीद रंगशालामा पुगेर कोणसभामा परिणत भएको हो ।

प्रहरी महानिरीक्षक कार्कीले लागुऔषध नियन्त्रणका लागि सबै नागरिक आ–आफ्नो ठाउँबाट सक्रिय भई सहयोग गर्नुपर्ने बताए । 

लागुऔषध दुव्र्यसन अहिले समाजकै गम्भीर चुनौतीका रुपमा देखिएको भन्दै यसलाई नियन्त्रण गर्न प्रहरी मात्रै सक्रिय नभई सवै अभिभावक, सचेत नागरिक, समुदाय र स्वयंम् युवाहरूको सक्रियता आवश्यक रहेको बताए ।

भारतसँग खुला सीमा जोडिएको मोरङमा लागुऔषध ओसारपसार तथा सेवनको जोखिम उच्च रहेको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बैशाख महिनामा मात्रै ८२१ ग्राम खैरो हेरोइनसहित २५ जनालाई पक्राउ गरिएको छ । विभिन्न प्रकारका लागूऔषधको प्रयोगकर्ता र ओसारपसारमा संलग्नसहित बैशाखमा ३६ जना पक्राउ परेका छन् । 

बैशाखमा ९ हजार ४६४ क्याप्सुल अवैध लागूऔषध मोरङमा बरामद भएको छ । यी घटनामा सात जना पक्राउ परेका छन् । 

९२ किलो गाँजा ओसारपसारमा संलग्न रहेका २ जना र ९ ग्राम चरेससहित २ जना पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ । 

लागूऔषध प्रयोगकर्ताले प्रयोग गरेका तीन थान मोटरसाइकल पनि एक महिनाको अवधिमा प्रहरीले नियन्त्रण लिएको जनाइएको छ ।

त्यसैगरी कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार गत बैशाख महिना मात्रै खैरो हेरोइनसहित १४४ जनालाई पक्राउ गरिएको जनाएको छ । 

उनीहरूबाट प्रहरीले एक किलो ७५४ ग्राम २१ मिलिग्राम खैरो हेरोइन बरामद गरेको प्रदेश प्रहरीको तथ्याङ्क छ । बैशाखभरीमा कोशी प्रदेशबाट विभिन्न प्रकारका लागुऔषध कारोबारी तथा

ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले १९७ जनालाई पक्राउ गरी कारवाहीको दायरामा ल्याएको छ । लागूऔषध ओसारपसारमा प्रयोग गरिएका २० वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।

जिल्लामा लागुऔषध प्रयोगको अवस्था भयावह बन्दै गएको भन्दै प्रहरीले महाअभियान सुरु गरेको हो । 

लागुऔषध विरुद्धको सचेतनामुलक प्ले–कार्डसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न सरकारी कार्यालय, बिभिन्न संघ संस्था, सञ्चारकर्मी, स्काउट, विद्यार्थी, युवा वर्ग सहितको प्रभातफेरी कार्यक्रमको प्रारम्भ प्रतिनिधि सभाकी सांसद आशा झाले रिवन काटेर गरिन् । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महाअभियानको उद्घाटन गर्दै लागूऔषध दुर्व्यसन समाजका लागि गम्भीर समस्या बन्दै गएको बताए । उनले नियन्त्रणका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह, अभिभावक तथा युवाहरुको सामुहिक प्रयास आवश्यक रहेको बताए । 

मुख्यमन्त्री कार्कीले मोरङ प्रहरीले सुरु गरेको लागूऔषध विरुद्धको महाअभियानले समाजमा सकारात्मक सन्देश प्रवाह हुने, अभिभावक तहमा चेतना फैलिंदै जाने र युवापुस्तालाई कुलतबाट जोगाउन महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे । अभियानलाई प्रदेश सरकारको समेत साथ सहयोग रहने बताए ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले लागूऔषध बिरुद्ध सवैले ऐक्यवद्दताका साथ अगाडि बढ्नु पर्ने बताए ।

कार्यक्रममा ‘अन्धकारबाट उज्यालोतर्फ’ नामक नाटकसहित लागूऔषधविरुद्द नेपाल प्रहरीकै सचेतनामुलक सांगीतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो । सोही कार्यक्रममा लागूऔषधका पूर्वप्रयोगकर्ता कपिलदेव आचार्यको अनुभवमा आधारित वृतचित्र प्रस्तुत गरिएको थियो । 

कोशी अस्पतालकी डाक्टर अजिता पौडेलले लागुऔषध दुव्र्यसनका कारण मानव स्वास्थ्यमा पर्ने असरको बारेमा सचेतनामुलक जानकारी दिइन् । सहभागीहरूले लागुऔषध नियन्त्रणका लागि तयार गरिएको ९ बुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै महाअभियानमा ऐक्यबद्धता जनाएका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले महाअभियानको औचित्य र उद्देश्यबारे जानकारी गराए । उनले जिल्लामा लागुऔषध दुर्व्यसनको वर्तमान अवस्था र चुनौतीबारेमा प्रस्तुतीकरण गर्दै यस अभियानका क्रममा सचेतनामुलक टिकटक भिडियो प्रतियोगिता समेत सुरु गरिएको बताए । 

उनले विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्ने जानकारी दिए । प्रहरी उपरीक्षक कटवालले महाअभियान मोरङका १७ वटै पालिकामा सञ्चालन गरिने बताए । 

महाअभियानका क्रममा लागुऔषध उत्पादन, ओसारपसार तथा कारोबारलाई निरुत्साहित गर्दै सूचना आदान–प्रदान, निगरानी तथा अनुसन्धानलाई प्रभावकारी बनाइने जनाइएको छ । 

त्यस्तै, दुव्र्यसनमा फसेका व्यक्तिलाई उपचार केन्द्रसम्म पुर्याउने, मनोसामाजिक परामर्श तथा उपचार सेवा उपलब्ध गराउने र समाजमा सम्मानजनक पुनस्र्थापनाका लागि प्रहरीले भूमिका निर्वाह गर्नेछ । 

साथै, युवालाई खेलकुद, गीत–संगीत, योग, ध्यान तथा रोजगारमूलक कार्यक्रममा अभिप्रेरित गरिने र सकारात्मक जीवनशैलीतर्फ आकर्षित गरिने जनाइएको छ । 

कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुली, प्रतिनिधि सभाका सांसद सन्तोष राजवंशी, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालालगायत गृह सहसचिव तथा लागुऔषध नियन्त्रक सुमन घिमिरे, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल लगायतको सहभागिता थियो ।

View : 142

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved