Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

सुपारीको डीएनए परीक्षण हुनुपर्ने सांसदको माग

वैज्ञानिक भन्छन्– के हो सुपारीको ‘डीएनए टेस्ट ?’

उद्‌घोष सम्वाददाता
९ पुष २०८१, मङ्गलवार

विराटनगर । निकासी तथा पैठारीमा बाराम्बार चलखेल हुन थालेपछि सांसदहरूले सुपारीको ‘डीएनए टेस्ट’ हुनुपर्ने माग गरेका छन् । सुपारीकै विषयमा पटक–पटक छलफल गर्नु उपयुक्त नरहेको भन्दै सांसदहरूले सुपारीको डीएनए परीक्षणका लागि ल्याब स्थापना गर्न माग गरेका हुन् ।

राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिद्वारा सोमबार काठमाडौंमा आयोजित ‘नेपालमा उत्पादित सुपारी निर्यात व्यवस्थापन’ सम्बन्धी छलफलका क्रममा उनीहरूले यस्तो माग गरेका हुन् ।

सांसदहरूले भनेझै सुपारीको डीएनए परीक्षणका विषयमा भने कृषि वैज्ञानिकहरूले नै आश्चर्य प्रकट गरेका छन् । सांसदले सुपारीको डीएनए टेस्टको कुरा उठाएपछि आफूहरू के हो डीएनए टेस्ट भनेर कृषि वैज्ञानिकहरूलाई सोधेको नेपाल सुपारी खेती विकास संस्थाका उपाध्यक्ष नीलकण्ठ तिवारी बताउँछन् । 

यो विषयमा आफूले कृषि वैज्ञानिकहरू डा. भानुभक्त पोखरेल र डा. गोविन्द तिम्सिनालाई सोधेको उनले बताए । ‘उहाँहरूलाई सोध्दा सुपारीको डीएनए टेस्ट नहुने बताउनुभयो,’ तिवारीले भने, ‘मलाई त थाहा थिएन, थिएन, वैज्ञानिकहरूलाई पनि थाहा नभएको कुरा बताउनुभयो ।’

राष्ट्रिय समाचार समितिका अनुसार, संसदीय समितिको छलफलमा बोल्दै राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले सुपारीकै विषयमा पटक–पटक छलफल गर्नु उपयुक्त नभएको बताएर उनले सुपारीको डीएन परीक्षणका लागि ल्याब स्थापना गर्नुपर्ने माग गरेका थिए । 

सुपारी निर्यातबाट मुलुकको राजस्व बढाउन सकिने उनको धारणा थियो । अर्का सदस्य झक्कुप्रसाद सुवेदीले सुपारी निर्यातको विषयमा विस्तृत रुपमा छलफल हुनुपर्नेमा जोड दिए । 

‘एउटै विषयमा छलफल धेरै भयो । पटक–पटक छलफल गरिरहनुभन्दा गहन रुपमा छलफल गरेर टुंगोमा पुग्नुपर्छ,’ उनले भने, ‘डीएनए परीक्षण नगरीकन सुपारी निकासी गर्न मिल्दैन भने सोअनुसारको निर्णय टुंगोमा पुर्याउनुपर्छ ।’

छलफलका क्रममा समितिकी सभापति कमला पन्तले आफ्नो उत्पादन आफैले खपत गर्नुपर्ने, नसके निर्यातका लागि पहल गर्नुपर्नेमा जोड दिएकी थिइन् । 

सोही छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गुट्काबाट १० अर्ब रूपैयाँ राजस्व संकलन भएको जानकारी दिए । अहिले तेस्रो मुलुकबाट सुपारी आयात भइरहेको पनि मन्त्री भण्डारीले छलफलका क्रममा जानकारी दिए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले तेस्रो मुलुकमा सुपारी निर्यात बढाउनका लागि डीएनए टेष्ट र गुणस्तर प्रमाणीकरण गर्न आवश्यक रहेको बताए । 
 

नेपालमा सुपारी आयात–निर्यातको गोलचक्कर

नेपालको आफ्नै उत्पादनले सुपारीको माग धाने पनि सरकारले बेलाबेलामा तेस्रो मुलुकबाट सुपारी आयात खुलाउने गरेको छ । 

यसरी तेस्रो मुलुकबाट सुपारी आयात गर्दा नेपाली किसान दुःखी छन् । बाहिरी देशबाट सुपारी आयात गर्दा नेपाली किसानलाई मर्का परेको नेपाली किसानको गुनासो छ । 

सरकारले चालू आर्थिक वर्ष ०८१/८२ मा उत्पादनमूलक उद्योगको कच्चा पदार्थका रूपमा प्रयोग गर्ने गरी सुपारी आयात खुलाएको छ । 

गत असोज ७ गते नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै औद्योगिक प्रयोजनका लागि भनेर सुपारी, केराउ र मरिच आयात खुला गरेको हो ।

२०७६ चैतमा यी वस्तुको पैठारीमा बन्देज लगाइएकोमा केपी शर्मा ओली प्रधानमन्त्री बनेसँगै २०८१ असोजमा खुला गरिएको हो । 

ओली सरकारले वस्तुको कति परिमाण आयात गर्न दिने भन्नेबारे नखुलाई आयात गर्ने नीति लिएको हो । तर समाचार स्रोतका अनुसार, सरकारको माथिल्लो निकायबाटै २५ हजार मेट्रिक टन सुपारी तेस्रो मुलुकबाट आयात गर्ने अफर व्यापारीलाई आएको बुझिएको छ । 

त्यसका लागि एक अर्ब रुपैयाँ बराबर लेबी माथिल्लो निकायलाई बुझाउनुपर्ने भएपछि व्यापारीहरू सुपारी आयात गर्न हच्किरहेका छन् । त्यति रकम दिंदा सुपारीको लागतले आकाश छुने भएपछि व्यापारीहरू हच्किएको स्रोतको दावी छ ।

नेपालमा कति सुपारी उत्पादन र खपत हुन्छ भन्ने तथ्याङ्क सरकारसँग छैन । यही गोलमाल तथ्याङ्कका कारण सुपारी आयात-निर्यातमा ठूलो चलखेल हुने गरेको जानकारहरू बताउँछन् । नेपालमा कति सुपारी उत्पादन हुन्छ भनेर सरकारले अहिलेसम्म आधिकारिक तथ्याङ्क लिने काम पनि गरेको छैन ।

नेपाल सुपारी खेती विकास संस्थाका उपाध्यक्ष नीलकण्ठ तिवारी पूर्वी नेपालको झापा, इलाम र सुनसरीमा १४ हजार ६१७ मेट्रिक टन सुपारी वार्षिक उत्पादन हुने गरेको बताउँछन् । 

यद्यपि यो तथ्याङ्क भने २०६५-६६ ताकाको भएको उनी बताउँछन् । सोही तथ्याङ्कलाई आधार मान्दा अहिले औसत १८÷१९ हजार मेट्रिक टन सुपारी उत्पादन हुने तिवारी अनुमान लगाउँछन् ।  

नेकपा एमालेसम्वद्ध सुपारी उत्पादक विकास संघ नेपालका केन्द्रीय अध्यक्षसमेत रहेका तिवारी नेपालमा घरासयी तथा औद्योगिक खपतका लागि नेपाली उत्पादन पुग्दो रहेको दावी गर्छन् । यसका लागि उनी पछिल्लो दुई वर्ष सुपारी आयात ठप्प हुँदा पनि नेपाली बजारमा सुपारी छेलोखेलो हुनुलाई आधार मान्छन् । 

‘दुई वर्ष सुपारी आयात ठप्प थियो, नेपाली सुपारीले नै बजार धान्यो त’ तिवारी भन्छन्, ‘अझै पनि नेपाली व्यापारीसँग पुरानो सुपारी गोदाममा छ ।’

नेपालमा सुपारी आयात–निर्यातको खेलामेलालाई नजिकबाट बुझेका तिवारी यसबारे जे बोले पनि आकाशतिर थुकेको थुक आफ्नै मुखमा पर्ने खालको भएको दुखेसो गर्छन् । 

उनको भनाइअनुसार सरकारलाई किसानको भन्दा व्यापारीको बढी चिन्ता छ । नेपाली किसानलाई उनीहरूले उत्पादन गरेको सुपारीको उचित भाउ दिलाउन सरकारले सुपारीको आयात बन्द गर्नुपर्ने तर निर्यात खुलाउनुपर्ने तिवारी बताउँछन् । 

हुन पनि एउटै वस्तुको आयातसँगै निर्यात पनि गर्न दिने सरकारको नीति नै हाँस्यास्पद छ । उदाहरणका लागि कुनै घर वा गाउँमा गहुँ वा धान अभाव छ भने उसले अन्तबाट खरिद गरेर आफ्नो आवश्यकता पूरा गर्छ । तर दुखले किनेको त्यही गहुँ वा धान फेरि बेच्ने दोहोरो झन्झट कसैले गर्दैन । 

सुपारीको सवालमा नेपाल सरकारले त्यस्तै दोहोरो झन्झटको काम गरेको छ । यसो गर्नुमा केही व्यापारीको ठूलो मुनाफाको अर्थतन्त्र तलदेखि माथिसम्म जोडिएको छ ।

नेपालमा सुपारीको मामिलामा हुने गरेको चलखेल भने खासगरी छिमेकी मुलुक भारतसँग सम्बन्धित छ । 

भारतमा ठूलो परिणाममा सुपारीको माग छ । तर त्यहाँको आन्तरिक उत्पादनले धान्न सक्दैन । फेरि भारत सरकारको आफ्नै नीतिको कारण त्यहाँका अँैद्योगिक व्यापारीलाई अर्को मुलुकबाट सुपारी आयात गर्न निकै सकस र महङ्गो पर्छ । 

भारत सरकारले सुपारीको आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न औद्योगिक व्यापारीलाई न्यूनतम मूल्य, निश्चित मुलुक र निश्चित बन्दरगाहा तोकिदिएको छ । यसो गर्दा त्यहाँका व्यापारीलाई खरिद मूल्यमात्र होइन ढुवानी नै महङ्गो पर्न जान्छ । 

नेपाल सुपारी खेती विकास संस्थाका उपाध्यक्ष नीलकण्ठ तिवारी भारतमा व्यापारीले न्यूनतम ३५१ भारुमा सुपारी आयात गर्नुपर्छ । त्यस्तै उक्त रकममा त्यति नै अन्तशुल्क तिर्नुपर्छ । अनि घुमाउरो र लामो बाटो भई आयात गर्नुपर्दा ढुवानी खर्चले थप महङ्गो पर्छ ।

यता नेपालमा सरदर ३५० नेपाली रुपैयाँ लागतमै तेस्रो मुलुकबाट सुपारी आयात गर्न सकिने तिवारी बताउँछन् । यसरी आयात गरिएको सुपारीमा ४५ रुपैयाँ भन्सार शुल्क जोडेर सरदर चार सय रुपैयाँमा भारत निर्यात गर्न खासै व्यवधान छैन ।

यसका लागि निर्यात गरिएको सुपारी नेपाली उत्पादन नै हो भनेर उत्पत्तिको प्रमाणपत्र पेश गर्नुपर्छ । जुन काम नेपालमा सजिलै हुने गरेको छ ।

View : 105

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved