Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
शिक्षा

नियुक्तिको १५ दिनपछि प्रधानाध्यापक बेपत्ता

उद्‌घोष सम्वाददाता
१ असोज २०८१, मङ्गलवार

विराटनगर । ओखलढुंगाको सुनकोशी गाउँपालिका–७ च्यानमस्थित प्रबुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुप्रसाद खतिवडा बेपत्ता भएका छन् । भदौ ७ गते बसेको विद्यालय व्यवस्थापन समितिको निर्णय बमोजिम उक्त विद्यालयको प्रअ नियुक्त भएका खतिवडा नियुक्तिको १५ दिनमै बेपत्ता भएका हुन् ।

प्रअ खतिवडा बेपत्ता भएपछि सोमबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले उनको खोजीका लागि आग्रह गरेको छ । परिवारका सदस्यहरुले काठमाडौं प्रहरीमा उजुरी दिएको जनाइएको छ । तर, प्रअ खतिवडा अझैसम्म पनि फेला पर्न नसकेको जनाइएको छ ।

विद्यालयका निमित्त प्रअ सन्तोष बस्नेतका अनुसार खतिवडा भदौ १६ मा विद्यालयकै कामको सिलसिलामा सिरहाको लाहानस्थित राष्ट्रिय परीक्षा बोर्डको कार्यालय गएको र त्यहाँबाट छोराछोरीहरू भेट्न भन्दै काठमाडौं पुगेको जानकारी दिए । उनी आफ्नै मोटरसाइकलमा विद्यालयका अर्का शिक्षकसँगै लहान गएका थिए । लाहानबाट काम सकेर ती शिक्षकलाई आफ्नो बाइक दिएर प्रअ खतिवडा भने काठमाडौंतर्फ गएको जनाइएको छ ।

उनी भदौ २१ गते शुक्रबार विद्यालय फर्किन भन्दै काठमाडौंबाट हिंडेको र त्यसपछि हालसम्म पनि कसैको सम्पर्कमा नरहेको निमित्त प्रअ बस्नेतले उद्घोष दैनिकलाई बताए ।

ओखलढुंगाको मोलुङ गाउँपालिका–६ हर्कपुर स्थायी ठेगाना रहेका खतिवडा विद्यालयकै क्वाटरमा बस्दै आएका थिए । 

‘हेडसरको स्कुलमै क्वाटर थियो, विद्यालयमा हेडसर र अन्य सरहरूको छुट्टाछुट्टै आवास रहेको छ, उहाँ विद्यालयबाट भदौ १६ गते विहान ९ बजेतिर लहान जानु भएको हो, हेडसर र हाम्रो अर्को स्टाफसँगै हेडसरकै बाइकमा लहान जानु भएको थियो’ निमित्त प्रअ बस्नेतले भने, ‘हेडसरको एक छोरा र छोरी काठमाडौंमा बसेर पढ्ने भएकोले सरले काठमाडौं जान्छु भन्नु भएको थियो, उहाँ २१ गते विद्यालय फर्किने भनेर छोराछोरीबाट विदा भएर काठमाडौंबाट हिंड्नु भएको जानकारी आएको थियो, सोही दिन विहान ९ बजेदेखि उहाँको मोबाइल पनि अफ छ, सम्पर्कमा पनि आउनु भएको छैन ।’

खतिवडाको पारिवारिक अवस्था पनि राम्रै रहेको र यसअघि कहिल्यै पनि घरबाट बिना जानकारी कतै नहिंडेको जनाइएको छ । विद्यालयका प्रधानाध्यापक बेपत्ता भएपछि सोमबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले उनको चौतर्फी खोजीका लागि विद्यालयको फेसबुक पेजमार्फत बृहत रुपमा आह्वान गरेको छ ।

‘परिवारका अनुसार पनि उहाँ पहिले यसरी कतैपनि नगएको र नहराएको भन्ने जानकारी आएको छ’ निमित्त प्रअ बस्नेतले भने, ‘काठमाडौंमा खोजीका लागि परिवारजनबाट प्रहरीमा निवेदन दिइएको जानकारीमा आएको छ, हामीले पनि खोजीका लागि बैठक नै बसेर आह्वान गरेका हौं ।’

उनको खोजीका क्रममा भदौ २१ गते शुक्रबार विहान काठमाडौंको चावहिलस्थित एउटा गेष्टहाउसमा पानी र चुरोट खाएको भन्ने अनौपचारिक जानकारीमा आएको जनाइएको छ । त्यसपछि प्रअ खतिवडा सम्पर्कविहीन रहेको जनाइएको छ ।

खतिवडा २०७५ सालमा स्थायी भएका थिए । उनी गत वर्ष भदौमा तत्कालिन प्रअले अवकाश प्राप्त गरेपछि विद्यालयमा निमित्त प्रअको जिम्मेवारी सम्हालेका थिए । गत जेठ ७ मा विव्यसको निर्णयबाट उनी विद्यालयका प्रधानाध्यापक नियुक्त भएका थिए ।

View : 139

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved