विराटनगर । नागरिक उड्डयन कार्यालयलाई पत्र दिंदै विराटनगर महानगरपालिकाले सम्पत्ति कर र घर बहाल कर बुझाउन १५ दिनको म्याद दिएको छ । महानगरले बुधबार प्राधिकरणलाई पत्र पठाएको हो । सो कार्यालयले विराटनगरमा बनाएका र बनाउने घर तथा अन्य भौतिक संरचनाको नक्सा पास गर्नका लागि पनि भनेको छ ।
महानगरपालिकाले पठाएको पत्रमा सो कार्यालयले निर्माण गर्ने घर तथा अन्य भौतिक संरचनाको नक्सा पास गराएर सम्पत्ति कर तथा बहाल कर बुझाउने भनी पटक-पटक छलफल भएको भए पनि अटेर गरी नक्सापास नगरी संरचना र व्यवसायिक रूपमा भवन तथा सटरहरू बहालमा लगाई आम्दानी गरिरहेको हुँदा पत्र पाएको मितिले १५ दिनभित्र सबै संरचनाको नियमअनुसार नक्सा पास गरी दस्तुर बुझाउन भनिएको छ ।
व्यवसायिक प्रयोजनमा रहेका सबै संरचनाको सम्पत्ति कर र १० प्रतिशत बहाल कर बुझाउन पनि भनेको छ ।
नागरिक उड्डयनको टर्मिनल भवनमा बहालमा बसिरहेका हवाई सेवाका कार्यालयहरू र होटलहरूले समेत व्यवसायिक इजाजतपत्र नलिई कारोबार गरिरहेको हुँदा वडा कार्यालयबाट अनिवार्य रूपमा इजाजतपत्र लिइ कारोबार गर्न पनि महानगरले पत्रमा उल्लेख गरेको छ ।
पत्र पाएको १५ दिनभित्रमा इजाजतपत्र नलिएमा हवाई कार्यालयभित्र भइरहेको निर्माणकार्य रोक्का गर्ने, नयाँ संरचनामा व्यवसाय सञ्चालन र सरसफाई सेवा बन्द गर्ने चेतावनीसमेत महानगरपालिकाले दिएको छ ।
पत्रमा नगर प्रहरी निरीक्षक राजन पौडेल, भवन निर्माण इजाजत शाखाका इञ्जिनियर राकेशकुमार ठाकुर, सरसफाई व्यवस्थापनका अधिकृत पुनम दाहाल र वित्तीय व्यवस्थापन महाशाखाका प्रमुख सरोजकुमार गौतमले हस्ताक्षर गरेका छन् ।
View : 180
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved