Biratnagar, Morang, Nepal
२८ भदौ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

पर्साका सरकारी कार्यालयको खर्च ५२ प्रतिशत

उद्घोष सम्वाददाता
६ भदौ २०८१, बिहिवार

Advertisement

वीरगञ्ज , ६ भदौ । मधेश–प्रदेश सरकार मातहतका पर्साका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेटको ५२ दशमलव ३४ प्रतिशत खर्च गरेका छन् ।

मधेश प्रदेश सरकारले गत आवमा प्रदेश सरकार मातहतका १६ वटा सरकारी कार्यालय र १४ वटा स्थानीय तहका लागि चार अर्ब ५१ करोड ४३ लाख ९५ हजार नौ सय ३८ विनियोजन गरेको थियो । 

तर, सरकारी कार्यालयले कुल विनियोजित बजेटमध्ये  दुई अर्ब ३६ करोड २६ लाख २९ हजार तीन सय ७६ मात्र खर्च गरेका छन् ।

पर्साका सरकारी कार्यालयले गत आवमा विनियोजित बजेटको ६३ दशमलव ४३ प्रतिशत अर्थात  ७६ करोड ९५ लाख ८२ हजार चार सय दुई चालु खर्च गरेका छन् । 

पर्साका सरकारी कार्यालयले गत आवमा विनियोजित पुँजीगत खर्चको ४८ दशमलव २६ प्रतिशत अर्थात एक  अर्ब ५९ करोड ३० लाख ४६ हजार नौ सय ७४ खर्च गरेका छन् ।

प्रदेश लेखा इकाई कार्यालय वीरगञ्जका प्रदेश कोष नियन्त्रक श्यामउदय ठाकुरले गत आवमा प्रदेश मातहत पर्साका सरकारी कार्यालयले विनियोजित बजेटको ५२ दशमलव ३४ प्रतिशत मात्रै खर्च गरेको बताए ।

‘‘मधेश प्रदेश मातहतका सरकारी कार्यालयले समयमै बजेट खर्च नगर्ने कारण अपेक्षाकृत पुँजीगत खर्च नभएको हो,’’ उनले भने, ‘‘खर्च गर्दा पनि असार महिनामा मात्रै अत्यधिक खर्च गर्ने परिपाटीले समस्या ल्याएको हो ।

मलेपको फारम नम्बर अनुसारको खर्च नगर्ने प्रवृत्ति छ ।’’ 

कोष नियन्त्रक ठाकुरले बजेट खर्च गर्न समयमै कार्यादेश र बोलपत्र आह्वान प्रक्रिया अघि नबढाउँदा समयमा खर्च नहुने समस्या देखिएको धारणा राखे ।

पर्सामा मधेश प्रदेश मातहतका सरकारी कार्यालय १६ वटा र १४ स्थानीय तह छन् । 

मधेश प्रदेश सरकारले गत आवमा पर्सा जिल्ला मातहतका १४ स्थानीय तहलाई  २४ करोड ७३ लाख पाँच हजार बजेट विनियोजन गरेको थियो ।

सबै स्थानीय तहले सो अवधिमा कूल विनियोजित बजेटको ७३ दशमलव ०४ प्रतिशत अर्थात  १८ करोड ६ लाख २२ हजार दुई सय ५० खर्च गरेका छन् । 

प्रदेश लेखा इकाइ कार्यालय वीरगञ्जका अनुसार गत आवमा प्रदेश मातहतका सरकारी कार्यालयले  एक अर्ब ६५ करोड ६४ लाख ८१ हजार छ सय ४३ राजस्व सङ्कलन गरेको छ ।

यो राजस्व रकममध्ये यातायात व्यवस्था कार्यालय वीरगञ्जको हिस्सा  एक अर्ब ५२ करोड रहेको छ ।

बाँकी राजस्व अन्य कार्यालयको हो । रासस

View : 46

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved