Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

नराम्रो सूचीमा पर्दिन, कार्यसम्पादन हेर्नुहोला : प्रजिअ यादव

उद्‌घोष सम्वाददाता
२९ पुष २०८१, सोमवार

विराटनगर । सरूवा भएर चार दिन अघिमात्रै मोरङ आएका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आफू नराम्रो काम गर्ने सूचीमा नपर्ने बताएका छन् । उनले प्रमुख जिल्ला अधिकारीले सन्तुलित भूमिका निर्वाह गर्नुपर्ने दायित्व भएकोले जिम्मेवारपूर्वक काम गरेर देखाउने बताएका हुन् ।

आइतबार मोरङका सञ्चारकर्मीहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै प्रजिअ यादवले एक महिनाभित्रै राम्रो गरेको देखाउने बताए । 

‘म नराम्रो काम गर्ने सूचीमा चैं पर्दिन, कार्यसम्पादन हेर्नुहोला’ प्रजिअ यादवले भने, ‘भएको कार्यान्वयन गर्नुपर्ने प्रमुख जिम्मेवारी हो, कानुन अनुसारको डेलिभरी दिन्छु, आफ्नो जिम्मेवारीमा डेडिकेटेड हुन्छु ।’

उनले मोरङ रणनीतिक जिल्ला भएकोले सबै क्षेत्रसँग समन्वय गरेर काम गर्ने बताए । काम गरून्जेल राम्रो काम गरेरै बिदाइ हुन चाहेको पनि  उनले बताए ।

उनले आफ्नो कार्यकालमा विभिन्न क्षेत्रसँग सहकार्य गरिने र त्यसका लागि १० वटा ह्वाट्सएम ग्रुप बनाउने पनि बताए । 

हरेक महिनाको एक दुई गतेभित्रै जिल्ला प्रशासन कार्यालयले प्रवाह गरेको सार्वजनिक सेवा तथा प्रजिअको हैसियतमा गरेका कामको विशिष्ट सेवाको प्रगति विवरण सार्वजनिक गर्ने प्रजिअ यादवले बताए ।

सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालयको फेसबुक पेज र वेवसाइटलाई चुस्तदुरूस्त बनाएर त्यसैमार्फत पनि जानकारी दिने व्यवस्था गर्ने यादवले बताए ।

परिचयात्मक कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले जिल्लाका विकास निर्माणमा देखिएका अवरोध हटाउन सहजीकरण गर्न, तस्करी नियन्त्रण र शान्ति सुरक्षाको उचित व्यवस्थापन गर्न प्रजिअ यादवलाई सुझाव दिएका थिए ।

View : 40

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved