सुनसरी । मदिराले मातेका मानिसले नाबालकले लगाएको गहनाका लागि हत्या गरेका छन् । मदिराले लट्ठ भएका एक ब्यक्तिले सुनसरीको बराहक्षेत्र–३ मा ६ वर्षीय नातेदार बालकले लगाएको सुनको गहना खोस्न ज्यान लिएका हुन् ।
बालकले कानमा लगाएको सुन खोस्न उनले ज्यान जानेगरी कुटपिट गरेको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो मदिरा सेवन गरेर बाङ्गेस्थित बिस्थापित टोल घर आएका ४५ वर्षीय वीरबहादुर विश्वकर्माले उनको सँगै घर रहेको बिक्रम बिकका छोरा ६ वर्षीय अबि बिकलाई कुटपिट गरेका थिए । कानमा लगाएको सुनको गहना खोस्ने क्रममा बालकको शरीरको बिभिन्न ठाउँमा कुटपिट गरेर फरार भएको प्रहरीले बताएको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालका अनुसार घाइते बालकको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको थियो । वीरबहादुरले फुपूको नाती अबिको कानको सुन खोस्ने क्रममा बालकले अस्वीकार गरेपछि कुटपिट गरेको प्रहरीको भनाइ छ ।
फरार रहेका वीरबहादुरलाई बालकको खोसेको सुनसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक विकास राईले बताए । सुनसरी मोरङ सिंचाई आयोजनाको नहरपूर्व घर भएका वीरबहादुरले घरमा कोही नभएको देखेपछि छिमेकी भतिजको कानको सुन निकाल्ने प्रयास गरेका थिए ।
बालकले नमानेपछि कुटपिट गरेको प्रहरीले बताएको छ । कुटफिटका क्रममा बालकको रूवाई सुनेर स्थानीय एक ब्यत्ति त्यहाँ पुग्दा वीरबहादुर भागेका थिए । तत्कालै बालकलाई उपचारका लागि धरान लगिएको प्रहरीको भनाइ छ ।
View : 127
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved