Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

माघ २६ देखि १३ औं प्याब्सन स्पोर्टस् मिट हुँदै

२१० विद्यालयका तीन हजार विद्यार्थीले खेल्ने
उद्घोष सम्वाददाता
२२ माघ २०८०, सोमवार

विराटनगर(उस)/निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङले १३ औं संस्करणको प्याब्सन स्पोर्टस् मिटको तयारी अघि बढाएको छ । माघ २६ विराटनगरको शहीद रङ्गशालामा उद्घाटन भएर सोही रङ्गशालामा माघ २८ गते प्रतियोगिताको समापन हुने जनाइएको छ ।

प्याब्सन मोरङले २०६३ सालदेखि हरेक वर्ष स्पोर्टस् मिट आयोजना गर्दै आएको हो ।

प्रतिभावान् विद्यार्थीहरूको क्षमता विकास र प्रतिभा प्रस्फुटन गर्न अवसर प्रदान गर्ने उद्देश्यले भविष्यमा राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन गर्न मद्दत गर्ने भन्दै प्रतियोगिता आयोजना गरिएको प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवालले जानकारी दिए ।

प्रतियोगिताबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा मोरङ प्याब्सनमा आबद्ध भएका २१० वटा विद्यालयहरूबाट प्रतियोगितामा तीन हजार जना विद्यार्थी खेलाडीहरूले प्रतिस्पर्धामा उत्रिने बताए । प्रतियोगितामा एक लाख बढी खेलप्रेमीहरुले प्रत्यक्ष अवलोकन गर्ने पनि अध्यक्ष सुवालले बताए ।

प्रतियोगिताको उद्घाटन प्रदेश प्रमुख परशुराम खापुङ्गले गर्ने कार्यक्रम रहेको जनाइएको छ । प्रतियोगिता आयोजनाका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको अध्यक्ष सुवालले बताए ।

प्रतिस्पर्धामा उत्रिने खेलाडीहरू सम्बन्धित विद्यालयकै हुनुपर्ने जनाइएको छ । कुनै पनि विद्यालयले फर्जी विद्यार्थी खेलाडीहरूलाई प्रतियोगितामा सहभागी भए सम्बन्धित विद्यालयलाई कारबाही गरिने जनाइएको छ ।

प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत खेलाडी विद्यार्थीहरूका लागि छात्रतर्फ भलिबल, फुटबल, टेबुल टेनिस, बास्केटबल र म्याराथन हुनेछ । त्यस्तै छात्रातर्फ फुटबल र बास्केटबल नहुने जनाइएको छ ।

ट्र्याक इभेन्टतर्फ कक्षा १० सम्मका खेलाडी छात्रछात्रा विद्यार्थीहरूका लागि १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, १०० गुना ४ रिले र ४०० गुना ४ रिले दौड प्रतियोगिता हुने जनाइएको छ । फिल्ड इभेन्टतर्फ छात्र र छात्रा दुवैका लागि लङ्ग जम्प, हाइ जम्प, ट्रिपल जम्प, सर्ट पुट, जेभ्लिन थ्रो तथा ग्रुप इभेन्टतर्फ भलिबल, टेबल टेनिस र फुटबल अन्डर–१५ प्रतियोगिता हुने अध्यक्ष सुवालले बताए ।

पत्रकार सम्मेलनमा प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेश कुमार दास, कोशी प्रदेश अध्यक्ष टिकाराज ढकाल, प्याब्सन महानगर अध्यक्ष मोहन बुढाथोकी लगायत प्याब्सन मोरङका पदाधिकारी, पूर्व अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

View : 186

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved