Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

भोजपुरमा पहिलो पटक बीउ बैंक सञ्चालन

उद्‌घोष संवाददाता
२ माघ २०८२, शुक्रवार

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाले पहिलो पटक बीउ बैंक सञ्चालनमा ल्याएको छ । बिहीबारबाट नगरपालिकाले बैंक सञ्चालनमा ल्याएको छ ।

चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा प्रथम कन्दमुल प्रदर्शनी कार्यक्रमको अवसरमा नगरप्रमुख सुरेन्द्रकुमार उदास र उपप्रमुख प्रमिला राईले बीउ बैंक शुभारम्भ गरे । 

बैंक पराम्परागत कृषि प्रणाली, कृषकको ज्ञान र स्थानीय श्रोत साधनप्रतिको सम्मानको प्रतिविम्ब रहेको उदासले बताए ।

नगरपालिकाले बीउ बैंक स्थापनाका लागि कार्यविधि तयार गरी राजपत्रमा प्रकाशित गरेको छ । 

रैथाने जात लोप हुँदै गएकाले बीउ संरक्षणका लागि नगरपालिकाले अग्रसरता लिएको बताउँदै उनले कृषकलाई व्यावसायीकरण गर्न बीउ बैंकले सहयोग पुग्ने  आशा व्यक्त गरे । 

नगरले सुन्तला, अलैंची लगायतका बालिको उत्पादन बढाउन प्रबद्र्धन गरिरहेको छ । 

षडानन्दमा बीउ बैक स्थापनाको परिकल्पनाकार कृषि विज्ञ सामुदायिक बीउ बैंक सल्लाहकार पीताम्बर श्रेष्ठले षडानन्द बीउ बैंकमा अहिले एक सय १५ जात रैथाने लोपोन्मुख बीउ रहेको जानकारी दिए । 

बीउहरू नगरको रातो कितावमा विस्तृत विवरणसहित अभिलेखीकरण राखिने बताउँदै उनले बीउ वैकमा स्थानीय कृषकले माग गर्ने र कृषि शाखाले उपलब्ध गराउने स्पष्ट पारे । 

विश्वबाट ७५ प्रतिशत र नेपालबाट ४५ प्रतिशत रैथाने जात लोप भैसकेको छ । समुदायले पनि बीउ संरक्षणमा सहयोग गर्नुपर्ने पालिकाको आग्रह छ । 

चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा बीउ बैंक स्थापनाको अवसरमा नगरपालिकाले एकदिने कन्दमुल प्रदर्शनी गरेको छ ।

कार्यक्रममा नगर क्षेत्रका १४ वटै वडाका कृषक समूहले उत्पादन गरेका कन्दमुलहरूको प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेहरूलाई क्रमश ५ हजार, ३ हजार, २ हजार र एक–एक हजार प्रदान गरिएको छ । 

यसैवीच षडानन्द नगरपालिकाले चौथो राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा विभिन्न क्षेत्रका ७ जनालाई सम्मानित गरको छ ।

View : 445

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved