विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ ।
पार्टीको आन्तरिक संगठन, नीति तथा आगामी राजनीतिक दिशाबारे छलफल गर्दै नयाँ केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशनमा देशभरबाट करिब ७ हजार महाधिवेशन प्रतिनिधि सहभागी हुने तयारी छ ।
महाधिवेशनको उद्घाटन समारोह आइतबार दिउँसो २ बजे खुलामञ्चमा हुने नेपाली कांग्रेसले जनाएको छ । प्रतिनिधिहरूको नाम दर्ता भने असोज १६ गतेदेखि नै सुरु भएको छ । यसपटक उद्घाटनसँगै बन्दसत्र पनि खुलामञ्चमै गर्ने तयारी गरिएको छ ।
कांग्रेसले यसअघि असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयनमा भएको ढिलाइपछि महाधिवेशनको उदघाटन दुई दिन पछि सारिएको हो ।
पछिल्लो तयारीअनुसार असोज १८ गते आइतबार उद्घाटन १९ र २० गते बन्दसत्र तथा २१ र २२ गते निर्वाचन गर्ने कार्यक्रम अघि बढाइएको छ ।
बन्दसत्रमा सात प्रदेशका छुट्टाछुट्टै समूह बनाएर राजनीतिक, सांगठनिक, समसामयिक तथा नीतिगत प्रस्ताव र दस्तावेजमाथि छलफल गराउने तयारी छ ।
त्यसपछि पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता, मतदान र मतगणनाको प्रक्रिया अघि बढ्नेछ । सोमबार उम्मेदवारी दर्ता गर्ने तालिका सार्वजिक गरिएको छ ।
१५औँ महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्नेछ । सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायत पदाधिकारीसहित केन्द्रीय सदस्यका लागि नेताहरूले उम्मेदवारीको तयारी तीव्र पारेका छन् ।
महामन्त्री पदमा वर्तमान महामन्त्रीहरू प्रदीप पौडेल र गुरुराज घिमिरेसहित विभिन्न नेताहरूले आकांक्षा व्यक्त गरेका छन् । यसै क्रममा डा. सुनिल शर्माले पनि शनिबार सानेपामा पत्रकार सम्मेलन गरी महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
त्यस्तै विभिन्न समूह र क्लस्टरबाट सहमहामन्त्री पदमा पनि उम्मेदवारीको तयारी भइरहेको छ । महाधिवेशन नजिकिँदै गर्दा पदाधिकारीका आकांक्षीहरूबीच छलफल, भेटघाट र समूह निर्माणको क्रम तीव्र बनेको छ ।
यसपटक कांग्रेसले महाधिवेशनका लागि काठमाडौंको खुलामञ्च रोजेको छ । करिब ७ हजार प्रतिनिधि सहभागी हुने भएकाले खुलामञ्चमा प्रतिनिधिहरूका लागि छुट्टाछुट्टै संरचना तयार गरिएको छ । उद्घाटन र बन्दसत्र दुवै त्यहीँ गर्ने तयारी छ ।
महाधिवेशन व्यवस्थापनका लागि कांग्रेसले आर्थिक, सूचना तथा सञ्चार, आवास, भोजन, स्वास्थ्य, यातायात, समारोहस्थल व्यवस्थापनलगायत विभिन्न जिम्मेवारीसहित १५ वटा समिति गठन गरेको छ । सभापति गगनकुमार थापाको संयोजकत्वमा केन्द्रीय निर्देशन समिति बनाइएको छ ।
१५औँ महाधिवेशनका लागि कांग्रेसले वडा तहदेखि नै अधिवेशन प्रक्रिया अघि बढाएको हो । पार्टीको आधिकारिक महाधिवेशन पोर्टलमा ६ हजार ७४३ वडा, ७५३ पालिका, ३३० प्रदेशसभा क्षेत्र र १६५ प्रतिनिधिसभा क्षेत्र हुँदै केन्द्रीय महाधिवेशनसम्म प्रतिनिधि छनोटको प्रक्रिया अघि बढेको विवरण राखिएको छ ।
भारी वर्षा तथा विभिन्न जिल्लामा देखिएका स्थानीय विवादका कारण केही तहको अधिवेशन प्रभावित भए पनि प्रतिनिधि चयनको प्रक्रिया महाधिवेशनसम्म आइपुगेको कांग्रेसले जनाएको छ ।
यसपटकको महाधिवेशन कांग्रेसको नियमित संगठनात्मक अधिवेशन मात्र नभई पार्टीभित्रको पछिल्लो विवादको पृष्ठभूमिमा पनि हुँदैछ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले असोज १८ देखि २२ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने तयारी गरेको छ भने शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशनको प्रक्रिया अघि बढाएको छ ।
दुवै पक्षबीच पार्टीको आधिकारिकता र नेतृत्वसम्बन्धी विवादको पृष्ठभूमिमा समानान्तर गतिविधि भइरहेका छन् ।
सर्वोच्च अदालतले यसअघि थापा पक्षलाई आधिकारिकता दिने फैसला पुनरवलोकन गर्न अनुमति दिएको भए पनि थापा पक्षको महाधिवेशन रोक्न दायर गरिएको निवेदन अस्वीकार भएपछि महाधिवेशन प्रक्रिया अघि बढाइएको हो । देउवा पक्षले भने पुनरावलोकनको अवस्थालाई आधार बनाउँदै आफ्नो वैधानिक दाबी कायम राखेको छ ।
महाधिवेशनमा नेतृत्व चयनसँगै कांग्रेसको आगामी राजनीतिक तथा संगठनात्मक दिशाबारे पनि बहस हुने अपेक्षा गरिएको छ । बन्दसत्रमा राजनीतिक, सांगठनिक, समसामयिक तथा नीतिगत प्रस्तावमाथि छलफल हुने कार्यतालिका छ ।
पार्टीभित्र नयाँ पुस्ताको नेतृत्व, संगठन सुदृढीकरण, जनतासँगको सम्बन्ध, पार्टीको आन्तरिक लोकतन्त्र तथा आगामी राजनीतिक रणनीतिजस्ता विषयहरू पनि महाधिवेशनका क्रममा चर्चामा छन् । यसरी आइतबार खुलामञ्चबाट सुरु हुने कांग्रेसको १५औँ महाधिवेशनले नयाँ केन्द्रीय नेतृत्व चयनसँगै पार्टीको आगामी नीति, संगठन र राजनीतिक दिशाबारे महत्वपूर्ण निर्णय गर्नेछ ।
महाधिवेशनको मुख्य आकर्षण भने नेतृत्वका लागि हुने प्रतिस्पर्धा र त्यसबाट बन्ने नयाँ केन्द्रीय कार्यसमिति हुनेछ ।
View : 70
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved