विराटनगर । अपाङ्गता भएका व्यक्तिहरूको समस्या समाधान गर्न व्यक्ति, समाज, संघसंस्था र सरकारको सामूहिक प्रयास आवश्यक रहेको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताएका छन् ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, कोशी प्रदेशको आयोजनामा बुधबार विराटनगरमा सम्पन्न ‘सिकाइ तथा अनुभव आदानप्रदान कार्यशाला’ एवं परियोजनाको वार्षिक समीक्षा कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै प्रमुख थापाले यस्तो धारणा राखेका हुन् ।
उनले घरमा एक जना अपाङ्गता भएको व्यक्ति हुँदा उसको हेरचाहका लागि परिवारको अर्को सदस्यले समय दिनुपर्ने र सिंगो परिवार नै चिन्तित हुने अवस्था रहेको उल्लेख गरे ।
‘उनीहरूको समस्या कम गर्न समाज, संघसंस्था र सरकारले सहयोग गर्नु कर्तव्य र धर्म दुवै हो,’ मेयर थापाले भने, ‘सबैको सामूहिक प्रयासबाट मात्र अपाङ्गताको क्षेत्रमा गरिएको कामले सार्थक उपलब्धि हासिल गर्न सक्छ ।’
कार्यक्रममा दमक नगरपालिकाले अपाङ्गता भएका नागरिकहरूको हितमा गरिरहेको असल अभ्यासबारे जानकारी दिँदै मेयर थापाले नगरपालिकाले हरेक तीन–तीन महिनामा विशेषज्ञ चिकित्सकसहितको टोली खटाएर अपाङ्गता भएका नागरिकहरूको घरदैलोमै पुगेर निःशुल्क स्वास्थ्य जाँच सेवा प्रदान गर्दै आइरहेको बताए ।
द एशिया फाउन्डेशनको सहयोगमा विगत पाँच वर्षदेखि सञ्चालित ‘स्थानीय शासनमा अपाङ्गता समावेशीकरण परियोजना’ सम्पन्न भएको अवसरमा आयोजित सो कार्यक्रममा परियोजनाको वार्षिक समीक्षासमेत गरिएको थियो ।
कार्यशालामा स्थानीय तहहरूले अपाङ्गता समावेशी विकासमा गरेका कार्यहरू, नागरिक समाजको भूमिका तथा महासंघले सरकार र अन्य संघसंस्थासँग कसरी सहकार्य गरी काम गरिरहेको छ भन्ने विषयमा व्यापक छलफल भएको थियो ।
महासंघ कोशी प्रदेशका अध्यक्ष नवीनचन्द्र ढुंगेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईं, सामथ्र्य समाजका अध्यक्ष रुद्रप्रसाद पोखरेल, राष्ट्रिय बहिरा महासंघ कोशीकी अध्यक्ष सुनिता तिवारी, कोशी बहिरा संघका अध्यक्ष जीवन दाहाल, परियोजनाका प्रदेश सचिव गोपालमान थापा, द एशिया फाउन्डेशनका कोशी प्रदेश संयोजक श्याम सापकोटा र महासंघ कोशी प्रदेशका कार्यालय प्रमुख सरोज नेपालीलगायतको उपस्थिति थियो ।
विराटनगर महानगरपालिका, राष्ट्रिय मानवअधिकार आयोग विराटनगर, इन्सेक, सामथ्र्य समाज, राष्ट्रिय बहिरा महासंघ कोशी, अटिजम हेरविचार समाज कोशी, दमक अपाङ्ग सहयोग समितिलगायत विभिन्न सरोकारवाला निकायका करिब ५० जना प्रतिनिधिहरूको कार्यशालामा सहभागिता थियो ।
View : 64
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved