विराटनगर । अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार, समान अवसर र आत्मनिर्भरता सुनिश्चित गर्दै समावेशी समाज निर्माण गर्ने प्रतिबद्धताका साथ अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्था सामर्थ्य समाज विराटनगरको १५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
विराटनगर महानगरपालिकाका १९ वटै वडाका एक सयभन्दा बढी अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवारजनको सहभागितामा मंसिर ३ गते आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा उक्त सभा सम्पन्न भएको हो।
संस्थाका अध्यक्ष चेतनाथ पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय सरकार, सरोकारवाला निकाय तथा विभिन्न संघसंस्थाबीचको आपसी समन्वय, सहकार्य र संस्थागत एकतामार्फत अपाङ्गता समावेशी विकासलाई मूर्त रूप दिनुपर्ने निष्कर्ष निकालिएको छ।
साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले अपाङ्गता भएका व्यक्तिहरूको सवालमा आफू र महानगरपालिका सधैँ सकारात्मक तथा संवेदनशील रहेको बताए।
अपाङ्गता भएका व्यक्ति, समुदाय र संस्थाको उत्थानका लागि आवश्यक नीतिगत समन्वय र सहकार्यमा महानगरपालिका सदैव तत्पर रहेको उल्लेख गर्दै प्रमुख कोइरालाले आफ्नो कार्यकाल सकिएपछि पनि व्यक्तिगत रूपमा समेत सधैँ साथ र सहयोगमा रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, कोशी प्रदेशका सचिव गोपालमान थापाले सामर्थ्य समाजले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र सशक्तीकरणका क्षेत्रमा समुदायस्तरमा उदाहरणीय कार्य गर्दै आएको उल्लेख गरे।
बदलिँदो परिवेशअनुसार आगामी दिनमा आफ्नो कार्यक्षेत्र र संस्थागत सेवाको दायरालाई अझ फराकिलो बनाउँदै लैजान उनले संस्थालाई सुझाव दिए।
त्यसैगरी, सीबीआर विराटनगरका सदस्य सचिव तथा व्यवस्थापक नवीन दाहालले अपाङ्गता समावेशी विकासका क्षेत्रमा व्यक्तिहरूको आवश्यकता र अवस्थाअनुसारको पहुँच स्थापित गर्न संस्थाले गरिरहेको निरन्तरको खबरदारी, पैरवी र सेवाले समाजमा सकारात्मक प्रभाव पारेको धारणा राखे।
उनले आगामी दिनमा समेत संस्थासँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
साधारणसभाको बन्द सत्र तथा छलफलका क्रममा संस्थाले हालसम्म सम्पादन गरेका गतिविधिहरूको गहन समीक्षा, प्राप्त उपलब्धि, विद्यमान चुनौती तथा आगामी रणनीतिक कार्ययोजनाका विषयमा विचार–विमर्श गरिएको थियो।
सो अवसरमा कोषाध्यक्ष होमराज पराजुलीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
संस्थाका सचिव लोकमणि पोखरेल र सदस्य राजु भट्टराईले सहजीकरण गरेको उद्घाटन सत्रमा संस्थाकी सदस्य एवं कोशी प्रदेश मानव अधिकार रक्षक आकृति रानी फुयलले स्वागत मन्तव्य राखेकी थिइन्। कार्यक्रममा कोशी बहिरा संघका अध्यक्ष जीवन दाहाल, मानसिक पक्षघात (सीपी) सेन्टरकी अध्यक्ष तथा संयोजक गीता चौधरी खवासलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।
View : 54
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved