Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

पत्रकार महासंघ कोशी प्रदेश समिति गतिहीन भएको गुनासो

बिष्ट र पोखरेलले मागे घिमिरेको राजीनामा

उद्घोष सम्वाददाता
२२ फागुन २०८०, मङ्गलवार

विराटनगर । पत्रकारसम्वद्ध दुई संगठनले नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष लिलाबल्लभ घिमिरेको राजीनामा माग गरेका छन् । एमाले निकट प्रेस चौतारी नेपाल कोशी प्रदेश समिति र नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनले मंगलबार अलग–अलग विज्ञप्तिमार्फत घिमिरेको राजीनामा माग गरेका हुन् ।

अध्यक्ष घिमिरेले आफू प्रदेशकै भूगोलमा रहने अवस्था हुँदा–हुँदै अध्यक्षको कार्यवाहक जिम्मेवारी दोस्रो व्यक्तिलाई सुम्पिए पनि कार्यवाहकलाई काम गर्ने वातावरण नबनाएको र महासंघलाई गतिहीन अवस्थामा पुर्‍याएको भन्दै उनीहरूले घिमिरेको राजीनामा माग गरेका हुन् ।

प्रेस चौतारी कोशी प्रदेश कमिटीका अध्यक्ष अबिजाल बिष्ट र समाजवादी प्रेस संगठनका कोशी प्रदेश अध्यक्ष बन्धु पोखरेलले विज्ञप्ति जारी गर्दै घिमिरेको कार्यशैलीप्रति सार्वजनिक रुपमा असन्तुष्टि जनाएका छन् । कार्यकालको अन्तिम अवस्थामा रहेको महासंघको नेतृत्वले सम्वेदनशील घडीमा महासंघ कोशी प्रदेश कमिटीलाई अकर्मण्यताको अवस्थामा पुर्‍याएको उनीहरूले आरोप लगाएका छन् । 

‘खासगरी अध्यक्ष लिलाबल्लभ घिमिरे कोशी प्रदेश सरकारका मुख्यमन्त्री माननीय केदार कार्कीको जनसम्पर्क सल्लाहकारमा नियुक्ति भएपछि यो अवस्था देखा परेको हो’ बिष्टले विज्ञप्तिमा भनेका छन्, ‘पत्रकार महासंघको नयाँ सदस्यता प्रदान गर्ने र सदस्यता नवीकरण गर्ने क्रम चलिरहको छ, यस्तो बेला महासंघको कामप्रति बेवास्ता गर्दै पत्रकार महासंघको जिम्मेवार पदाधिकारी नै सरकारी सुविधा उपभोगमा लाग्नु तमाम पत्रकारहरूका लागि लाजमर्दो विषय हो, यसबाट हाम्रो शीर निहुरिएको छ ।’ 

उनले महासंघले अगाडि सारेको सदस्यता शुद्धीकरण मापदण्ड कार्यान्वयन गर्नुपर्ने बेलामा अध्यक्ष आफै सरकारको सल्लाहकार नियुक्त हुनु गम्भीर विषय भएको बताएका छन् । जसका कारण पत्रकारको नेता नै सरकारको सेवक बनेर पत्रकारिताको गरिमा माथि प्रहार भएको र पत्रकारको समस्याहरू अलपत्र छाड्ने काम भएको उनले उल्लेख गरेका छन् । 

मुख्यमन्क्रीको सचिवालयमा नियुत्ति हुनुमा कुनै विरोध र आपत्ति नभए पनि महासंघको जिम्मेवारीमा रहँदा रहँदै महासंघको गरिमालाई कुल्चिएर सरकारको सहयोगी बन्नु पत्रकारहरूका लागि शोभाजनक नभएको भन्दै घिमिरेको राजीनामा माग गरेका हुन् ।

समाजवादी प्रेस संगठनका अध्यक्ष पोखरेलले पनि घिमिरे सरकारी सुविधाको मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकार भइसकेपछि साबिकको अध्यक्ष पदको लोभ गरिरहने र त्यसलाई कायम राखिरहन खोज्ने विषयप्रति असहमति फ्रकट गरेको बताए । 

घिमिरेलाई सरकारी सेवा सुविधामा नियुक्ति लिनकै लागि कार्यवाहक अर्को व्यत्तिलाई दिएजस्तो गरेर चातुर्य नदेखाई राजीनामा दिएर नैतिकता प्रदर्शन गर्न माग गरेका छन् ।

‘हाम्रो जानकारीअनुसार, अध्यक्ष घिमिरे न विदेश जानुभएको छ, न अध्ययनका लागि कुनै विद्यालय वा विश्वविद्यालय भर्ना हुनुभएको छ, न उहाँमा कुनै स्वास्थ्य समस्या छ, कुनै प्रतिकूल परिस्थिति नहुँदा नहुँदै पनि उहाँले कार्यवाहक तोक्नुभएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघको ‘नयाँ सदस्यता र सदस्य नवीकरण सम्बन्धमा शुद्धीकरण मापदण्ड’ कार्यान्वयन गर्नुपर्ने विशिष्ट परिस्थितिमा उहाँ आफै कोशी प्रदेशका मुख्यमन्त्री माननीय केदार कार्कीको सचिवालयमा जनसम्पर्क सल्लाहकार नियुक्ति हुनुभएको छ ।’

सरकारी सुविधा उपभोग गरिरहेकाको सदस्यता नवीकरण नगर्ने ‘नयाँ सदस्यता र सदस्य नवीकरण सम्बन्धको शुद्धीकरण मापदण्ड’ को मर्म र भावना एकातर्फ, अर्कातर्फ कार्यान्वयन गर्ने सरोकारवाला निकायको अध्यक्ष नै सदस्यता शुद्धीकरणको प्रक्रिया चलिरहेको बेला सरकारी सुविधाको पदमा नियुक्ति हुनु नैतिक रुपमा गलत भएको विज्ञप्तिमा जनाइएको छ । जुन कार्य आफैमा विरोधाभासपूर्ण भएको पोखरेलले बताए । 

‘एउटै व्यक्ति सरकारको स्थायी प्रतिपक्ष मानिने पत्रकारिता र सामाजिक क्षेत्रको अगुवा संस्थाको अध्यक्ष पनि रहने, मुख्यमन्त्रीको सचिवालय अर्थात् सरकारमा पनि रहने कार्यलाई स्वभाविक मान्न सकिदैन’ उनले भने, ‘यो शक्ति पृथकीकरणको सिद्धान्त, अवसरहरूको समान वितरण हुनुपर्छ भन्ने प्रचलित सिद्धान्त विपरीत पनि हुन जाने हाम्रो ठहर छ ।’

View : 230

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved