विराटनगर । मोरङको बुढीगंगा–४ स्थित मनमोहन स्मृति पोलिटेक्निकको लेखा शाखा कति जिम्मेवार छ भनेर कार्यालयबाट भएको बैंक चेक चोरीको घटनाले देखाएको छ । अरुलाई रकम दिन सहीछाप लगाएर राखेका धेरै थान चेक चोरी भएको ५ दिनपछि बैंकले सूचना दिएपछि मात्रै थाहा भएको पाइएको छ ।
घटना बिवरण अनुसार गत मंसिर ७ गते नै लेखा शाखाबाट १६ थान सहिछाप गरेका चेक चोरी भएको थियो । ती मध्ये चोरले ६ वटा साटेर रकम निकालिसकेका थिए ।
थप चेक साट्ने क्रममा चोरीको ५ दिनपछि १२ गते बैंकका कर्मचारीलाई शंका लागेर पोलिटेक्निकमा खबर गरेपछि मात्रै लेखा शाखाले यतिका चेक चोरी भएको चाल पाएको हो । चोरीमा संलग्न दुई युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका-६ खर्साल टोलका १९ वर्षीय सुमितसागर यादव र २३ वर्षीय टंकप्रसाद यादव छन् । दुबै जना मनमोहनका विद्यार्थी हुन् ।
दिउँसो लेखा शाखा खुला रहेको देखेर उनीहरुले घर्राबाट चेक चोरी गरेका थिए । उनीहरुले लेखा र कार्यालय प्रमुख दुवैको हस्ताक्षर भएको तथा रकम लेखेका ६ वटा एभरेष्ट बैंकको चेकबाट दुई लाख ६६ हजार ६ सय ९२ रुपैयाँ निकालेका थिए । बाँकी चेकमा लेखा प्रमुखको मात्रै सही थियो ।
पहिले साटेका चेकमा कार्यालय प्रमुखले गरेको हस्ताक्षरको नक्कल गरी उनीहरुले अरु चेकमा रकम भरेका थिए ।
एभरेष्ट बैंकको दुहवी शाखामा गएर रकम निकाल्ने क्रममा कर्मचारीले कार्यालय प्रमुखको हस्ताक्षरमा शंका गरेर पोलिटेक्निकलाई खबर गरेपछि मात्रै चेक चोरिएको थाहा भएको थियो ।
इलाका प्रहरी कार्यालय नेमुवाबाट गएको प्रहरीले उनीहरुलाई चेक र छापसहित नियन्त्रणमा लिई विराटनगर ल्याएको छ । दुबैलाई जिल्ला अदालतले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
View : 226
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved