Biratnagar, Morang, Nepal
१० फागुन २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

राजधानी युवा क्लवको निर्वाचन अन्योल

उद्‌घोष सम्वाददाता
८ फागुन २०८१, बिहिवार

विराटनगर । सुबिधा सम्पन्न कवर्डहल भएको विराटनगरको राजधानी युवा क्लवको निर्वाचन अन्योल बनेको छ । निर्वाचन समितिका तीनै जनाले राजिनामा दिएपछि दुई सातादेखि निर्वाचन प्रक्रिया रोकिएको छ ।

खेलमा चासो नभएपनि क्लवको नेतृत्व गर्न चाहनेहरूको संख्या बढी भएकाले निर्वाचन समिति जिम्मेवारीबाट हटेको थियो । विराटनगर–३ मानगढमा रहेको क्लवमा दुई वटा म्याटसहितका कोर्ट र ब्यायामशालाको भवन  छ । प्रदेशको राजधानी भए पनि विराटनगरमा लाखौं मूल्य पर्ने म्याट जडिट यो मात्रै कवर्डहल हो ।

अधिवेशनमा अध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी परेकाले सहमति हुन नसकेपछि नवराज पोखरेल संयोजक रहेको समितिले जिम्मेवारीबाट बाहिरिएको थियो । निर्वाचन समिति नै नरहेपछि पुरानो कार्यसमिति स्वतः सक्रिय भएको छ । समितिले उम्मेदवारी दिएका सबैको शुल्कसमेत फिर्ता गरिसकेको छ ।

करिव दुई सय जना आजिवन सदस्य रहेको क्लवमा नेतृत्व गर्न चाहनेहरू खेलको नियमनै नबुझेका र क्लबले गर्ने सामाजिक गतिबिधिमा सामेल नहुने मानिसहरू रहेको हल ब्यवस्थापन समिति सदस्य राजु पौडेल बताउँछन् । हालका अध्यक्ष राजु ढकालकै नेतृत्वमा नयाँ समिति बनाएर जाने गरी खेलप्रेमीहरूले भुमिका खेल्दै आएको उनले बताए ।

क्लबका सल्लाहकार तथा पूर्व प्रहरी निरीक्षक मोहन रायमाझीले सक्षम, क्रियाशिल, सबैलाई समेट्न सक्ने तथा माथिल्लो निकायसम्म पनि समन्वय गर्न सक्ने खेल बुझेको मानिसलाई नेतृत्व दिनुपर्ने बताए । खेल सामग्रीनै नचिन्ने र क्लबले गरेका रचनात्मक गतिबिधिमा सहभागी नहुनेको नेतृत्व स्वीकार्य नहुने उनको भनाइ छ ।

अध्यक्ष पदका लागि हालका अध्यक्ष राजु ढकालसहित नर्बु लामा, भीमकुमार राई, अमरकुमार इजम लिम्बू र खड्गप्रसाद शर्माले उमेदवारी दिएका थिए । केही पदमा सर्वसम्मत भए पनि निर्वाचन समिति नै प्रक्रियाबाट बाहिरिएकाले उम्मेदवारी दर्ता शुल्क पनि फिर्ता लिएका छन् । 

बिधानमै नभएको वरिष्ठ उपाध्यक्षको पद खडा गरेर समितिले जिम्मेवारी दिंदै आएको प्रति पनि खेलाडीले आपत्ती जनाएका छन् । नाम युवा क्लव भएपनि युवा उमेर नाघेर जेष्ठ नागरिक हुने क्रममा रहेकाहरूले पनि नेतृत्वमा दाबी गरेकाले सर्वसम्मत हुन नसकेको बताइएको छ । 

एथ्लेटीक्समा राष्ट्रिय स्तरका खेल खेलेर ब्याडमिन्टलमा लागेका राजु ढकाललाई नै पुनः दोस्रो कार्यकाल अध्यक्षको जिम्मेवारी दिनुपर्ने क्लवका धेरै सदस्यले माग गर्दै आए पनि उमेरका हिसावले ढकाल भन्दा अग्रजले उम्मेदवारी दिएकाले समस्या भएको बताइन्छ । 

बहु संख्यक सदस्यहरूको सहमतिमा नयाँ निर्वाचन समिति बनाएर निर्वाचन प्रक्रिया अगाडि बढाउने बताउँदै ढकालले खेल र खेलाडीको भावना बुभ्mने ब्यक्तिहरूनै नेतृत्वमा आउनेमा आफु बिश्वस्त रहेको बताए । 

‘क्लबको चुनाव हुनु हुँदैन, काम गर्नलाई पदमै बसिरहनु पर्दैन’ क्लवका सल्लाहकार मणि ढकालले भने–‘सबैको सहमतिमा योग्य र युवा खेलप्रेमीहरूबाट पदाधिकारी छानिनु पर्छ ।’

View : 39

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved