विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) व्यवस्थापन संकायद्वारा आफू मातहतका प्राध्यापकहरुका लागि अनुसन्धानात्मक कृति लेखन सम्बन्धी दुईदिने कार्यशाला सोमबार सम्पन्न गरेकोे छ ।
पूवि व्यवस्थापन संकायका डीन डा सन्देशदास श्रेष्ठले वर्तमानमा कुनै पनि प्राध्यापकको क्षमता तथा बौद्धिकता प्रस्फुटन गर्ने अत्यावश्यक मानकको रुपमा अनुसन्धानत्मक कृति भएको यसको औचित्य महत्वपूर्ण रहेको स्पष्ट पारे । उनले पूवि व्यवस्थापन क्याम्पस (पुसोम) लाई उत्कृष्टताको केन्द्र बनाउन अपरिहार्य रहेकोले सो मातहतका प्राध्यापकको विषयगत प्राध्यापनका क्षमताका साथै अनुसन्धान कृति लेखनमा अब्बल बनाउन लागिपरेको बताए ।
पूविमा व्यवस्थापन संकाय अन्तर्गत सञ्चालित एमफिल (दर्शनाचार्य) उत्कृष्ट रहेको विज्ञहरुले दावी गर्दै आएका छन् ।
असारमा तराईको गर्मी तथा कोलाहलबाट टाढा पारेर धनकुटाको भेडेटारमा गरिएको कार्यशालाको स्रोत व्यक्तिको रूपमा पूविका सहप्राध्यापक डा कृष्ण पाण्डे, नेपाल कमर्स क्याम्पस, मीनभवन काठमाडौंका अनुसन्धान प्रमुख डा गणेश भट्टराई थिए ।
सो कार्यशाला पूविका व्यवस्थापन संकायका प्राध्यापकहरुका वृत्ति विकासका लागि समय सापेक्ष र उपयुक्त भएकोले सहभागीहरु सन्तुष्ट भएको कार्यक्रमका संयोजक ईश्वर भण्डारीले बताए । व्यवस्थापन अध्यापन गराउने पूविका सबै आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पस, कलेजका लागि आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याइने व्यवस्थापन संकायकी वरिष्ठ अधिकृत विभूषिता अर्यालले जानकारी दिइन् ।
कार्यशालामा व्यवस्थापन क्याम्पसका प्रमुख रमाकान्त दास, पूर्व प्रमुखद्वय दिनेशराज सुवेदी र प्रशान्तकुमार लाल, प्राध्यापक मोहनकुमार बस्नेत, बोधहरि आचार्य, सुष्मा खरेल लगायतको सहभागिता थियो ।
View : 578
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved