Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

विराटनगरको फोहोर विसर्जन विवादमा ७ बुँदे सहमति

उद्‌घोष संवाददाता
१० पुष २०८२, बिहिवार

विराटनगर । विराटनगर महानगरपालिकाको फोहोर विसर्जनबारे केही दिनदेखि उत्पन्न विवाद तत्कालका लागि समाधान भएको छ । 

बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङको पहलमा भएको सरोकारवाला पक्षको छलफलपछि सातबुँदे सहमति भएको हो । 

महानगरपालिकाले साविकको केसलिया रोडबाट विराटनगर–१६ दरैया (दरहिया) डम्पिङसाइड सारेर फोहोर फ्याक्न थालेपछि स्थानीयवासी र सुनसरीको बर्जु गाउँपालिका वडा नं २ र ३ का बासिन्दाले विरोध जनाएका थिए ।

महानगरले आफूहरूसँग सल्लाह नगरी डम्पिङसाइड बनाएर दुर्गन्ध फैल्याउने काम गरेको भन्दै विराटनगर–१६ को दरहियामा फोहोर फाल्न अवरोध पुर्‍याएका थिए ।

विवादपछि बढेको तनाव घटाइ समाधान खोज्न मोरङ प्रशासनले पहल गरेको थियो ।

बिहीबार भएको सर्वपक्षीय बैठकपछि हाललाई दरहियामै फोहोर फाल्न दिने सहमति जुटेको छ ।

त्यसका लागि व्यवस्थित रूपमा फोहोर विसर्जन गर्ने, दुर्गन्धरहित बनाउन दैनिक रूपमा महानगरपालिकाले औषधि छर्कने र बेला–बेलामा माटोले पुरेर व्यवस्थित गर्ने सहमति भएको छ ।

यसैगरी फोहोर विसर्जन केन्द्रसम्म जाने बाटोलाई अग्लो बनाइ ग्राभेल गर्ने, फोहोर बोक्ने गाडीलाई पूर्णरूपमा छोपेर ढुवानी गर्ने, बर्षातको समयमा सो क्षेत्रमा बाढी र डुवान हुने र त्यसले फोहोर बगाउने सम्भावनालाई दृष्टिगत गर्दै केसलिया खोलामा व्यवस्थित र अग्लो बाँध बनाउने विषयमा सहमति भएको छ ।

त्यसैगरी फोहोरमैला विसर्जन र व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला निकायले बेला–बेलामा अनुगमन गर्ने सहमति भएको छ । 

अनुगमन गर्नका लागि विराटनगर–१६ का वडाध्यक्षको संयोजकत्वमा बर्जु–२ र ३ का वडाध्यक्ष सहसंयोजक, जिल्ला प्रशासनका प्रशासकीय अधिकृतसहित स्थानीयवासीको सम्मिलित टोली बनाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

त्यसैगरि फोहोरमैला व्यवस्थापनको स्थायी समाधानका लागि स्वीकृत भएको एशियाली विकास बैंक (एडीबी) को परियोजना स्थानीय जनताको हितमा हुने गरी निर्माण गर्न सबैले सहयोग गर्ने विषयमा पनि सरोकारवालाहरू सहमत भएका छन् ।

View : 145

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved