Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

शेखर पक्षको नाम्जे भेला, सदस्यता अद्यावधिक नगर्ने घोषणा

उद्‌घोष संवाददाता
५ जेठ २०८३, मङ्गलवार

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको निर्वाचन क्षेत्र मोरङ ६ का उनी पक्षीय नेताहरूले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक नगर्ने बताएका छन् । 

धनकुटाको नाम्जेमा आइतबार भेला भएका मोरङ ६ का शेखर पक्षीय नेताहरूले यस्तो निर्णय गरेका हुन् । 

दुई दिन अघि पार्टीको संस्थापन पक्षले भेडेटारमै सदस्यता अद्यावधिक गर्ने विषयमा प्रदेशस्तरीय भेला गरेको थियो ।

यद्यपि शेखर निकट अन्य केही नेताहरूले भने धमाधम सदस्यता अद्यावधिक गराइरहेका छन् ।

शेखर निकट मानिने सुनसरीका नेता राजीव कोइरालाले सदस्यता अद्यावधिक गराइसकेका छन् । उनलाई कांग्रेसले केन्द्रीय सदस्य बनाएको छ । 

विराटनगरकै पनि धेरै जनाले धमाधम अद्यावधिक गराइरहेका छन् । शेखर निकट जिल्ला सभापति डिगबहादुर लिम्बूले मोरङमा धमाधम अद्यावधिक भइरहेको र सबैले गर्ने बताएका छन् ।  

जिल्ला सभापतिले यसो भनिरहदा विराटनगर महानगरका मेयरसमेत रहेका कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले भने शेखरले गर्नु नभनेसम्म अद्यावधिक नगर्ने बताएका छन् । उनले शेखर पक्षका क्षेत्रीय नेता कार्यकर्ताहरूको अनौपचारिक भेला नाम्जेमा भएको जानकारी दिए । 

‘त्यहाँ अनौपचारिक रूपमा क्रियाशील सदस्यता अद्यावधिक नगर्ने कुरा भएको छ,’ कोइरालाले भने केही महिना अघि मात्रै हामीले सदस्यता नवीकरण गरेका हौं । अहिले फेरि अद्यावधिक गर्नु ठीक छैन भन्ने हाम्रो कुरा छ ।’ 

मेयर कोइरालाले डा. शेखर कोइरालाले अद्यावधिक गर्नुस् नभनेसम्म आफूहरूले नगर्ने पनि बताए । 

‘हाम्रो क्षेत्रको नेता डा. शेखर हो, उहाँले अद्यावधिक गर्नुस् भन्नुभयो भने गर्छौं अन्यथा हामी गर्दैनौं,’ उनले भने ‘अहिलेसम्म डा सापले नगर्नुुस् भनेकै कारण अद्यावधिक नगरेका हौं ।’

नाम्जे भेलामा मोरङ ६ का क्षेत्रीय सभापति देवराज तामाङ, महानगर सभापति दीपक चापागाईं, पार्टीका वडा सभापति लगायतका नेताहरू सहभागी थिए । 

भेलामा सहभागीहरूले खसी काट्दै गरेको भिडियो र फोटोहरू सार्वजनिक भएपछि त्यसको निकै चर्चा भइरहेको छ । 

त्यसो त एक साताअघि विराटनगरमै भेला गरेर पूर्व सभापति शेरबहादुर देउवा पक्षले पनि सदस्यता अद्यावधिक नगर्ने बताएको थियो ।

कृष्णप्रसाद सिटौलासहित नेताहरू मीन विश्वकर्मा, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, कोशीका मन्त्री भीम पराजुली, पूर्व केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, सीता खतिवडाका साथै सुनिता गच्छदार, सुनिता गुरूङ, भोला राजवंशीलगायत सहभागी थिए । 

पार्टीको विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई अस्वीकार गर्दै आएको देउवा, कोइराला र सिटौला पक्षले पार्टी निर्णयलाई लगातार चुनौती दिइरहेको छ । 

सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिक मान्यता दिएपछि शेरबहादुर देउवा समूहबाट शेखर कोइराला समूह टाढिएको थियो । 

तर, सदस्यता अद्यावधिक गर्ने सवालमा कोइराला र देउवा पक्ष फेरि एकै ठाउँ उभिन पुगेका छन् । यसअघि देउवा र खड्कासँगै मिलेर विशेष महाधिवेशनको विरोध गर्दै आएको शेखर समूहले आफूले पार्टी एकताको निम्ति पहल गरिरहेको बताउँदै आएको थियो । 

कोइराला परिवारको राजनीतिक विरासत धानिरहेका शेखर लामो समयदेखि देउवाको विपक्षमा उभिंदै आएका थिए । 

१४औं महाधिवेशनमा देउवाविरूद्ध सभापतिको उम्मेदवार बनेका उनी विशेष महाधिवेशनको मागलाई लिएर गगन थापा–विश्वप्रकाश शर्मा समूहसँग नजिकिएका थिए । तर, विशेष महाधिवेशन हुनुभन्दा ठीक अगाडि उनी देउवा समूहतिर उभिन पुगेका थिए ।

त्यसक्रममा विशेष महाधिवेशन गर्न अगुवाइ गरेका तत्कालीन महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मालाई देउवा समूहले प्रारम्भिक स्पष्टीकरणसमेत नमागी पाँच वर्षका लागि कांग्रेसको साधारण सदस्यबाटै निष्काशन गरेको थियो । 

देउवा समूहले गरेको यो कारबाहीमा शेखर कोइराला पक्षले निशर्त साथ दिएको थियो । 

यद्यपि निर्वाचन आयोगले थापा नेतृत्वलाई आधिकारिकता प्रदान गरेपछि देउवा समूहकमा नेताहरू र शेखर स्वयम्ले  गगन थापाको हस्ताक्षर भएको टिकट लिएर चुनाव लडेका थिए । 

गएको पुस अन्तिममा भएको कांग्रेसको विशेष महाधिवेशनमा देउवा र शेखर दुवै पक्षले भाग लिएका थिएनन् ।

View : 1268

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved