Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

भारतीय बीमा कम्पनीको एजेन्टले हजारौंलाई ठगे

उद्घोष सम्वाददाता
२६ असार २०८१, बुधवार

विराटनगर । भारतीय जीवन बीमा कम्पनीका एजेन्टले पूर्वी नेपालका हजारौं नेपालीलाई ठगी गरेको पाइएको छ । भारतको फारबीसगञ्ज निवासी अशोक झाका छोरा अवधेश बिहारीले भारतीय जीवन बीमा कम्पनीका नाममा जीवन बीमा गराएर नक्कली भर्पाई दिंदै ठग्ने गरेको पीडितहरुले बताएका छन् ।

आफू ठगिएको थाहा पाएपछि विराटनगरको भृकृटीचोकमा बच्चु मेडिकोका सञ्चालक मोहन अधिकारीले आफ्नो फेसबुकमा ‘यो मानिस भारतको बिहार प्रान्त अन्तर्गत फारवीसगञ्ज निवासी अवधेश बिहारी एल्.आई.सी. इण्डियाको एजेन्ट हो ।

'नेपालमा आएर नेपालीहरूलाई इन्स्योरेन्स गराइदिन्छु भनेर झुक्याइ सही गराएर बैंकबाट समेत लोन निकालेर खानेर सम्पर्कबिहीन हुने गरेकाले कोही पनि यो मान्छेसँग नफँस्नु होला भनी सतर्क गराउँछु । धेरै नेपालीहरू फसिसकेको मेरो जानकारीमा आएको छ र म आफैं पनि फसेको छु । नेपालमा कसैले कतै देख्नु भएमा मेरो मोबाइल नम्बर ९८५२०२०२२३ मा जानकारी गएर सहयोग गर्नु होला’ भनेर आफ्नो मोबाइल नम्बरसमेत दिएर अरूलाई सचेत गराएका छन् ।

उनको ठगाइमा परेका मानिसहरू विराटनगरमा मात्रै सय भन्दा बढी छन् । उनले एलआईसीको एजेन्ट भएर काम गर्न थालेको सन् २०१२ देखि हो । त्यसको एक वर्षपछिबाटै नेपालीलाई ठग्न थालेको बताइएको छ । बिहारीले झापाको काँकडभिट्टा, भद्रपुरदेखि सिरहाको लहान बजार र त्यसको आसपासका बासिन्दाको समेत पैसा खाएको बताइएको छ । सबै पीडितको पैसाको हिसाब गर्दा करोडौं रूपौयाँ हुने पीडितहरूको अनुमान छ ।

बच्चु मेडिकोका सञ्चालक मोहन अधिकारीका अनुसार नक्कली कागजहरू बनाएर विहारीले एलआईसीबाट ऋण उठाएर सवा लाख रूपैयाँ कर्जा लिएका छन् । अधिकारीले बिहारीबाट १ लाख ७० हजार भारू पाउनु पर्नेमा जम्मा ४० हजार मात्र दिएको र  त्यसपछि उनी सम्पर्क मै नआएको बताए ।

जोगबनीमा श्रीनारायण स्टोर नामको कपडा पसल चलाउँदै आएका पुसकुमार मुन्दडाको भारू ३० लाख भन्दा बढी पैसा लिनुपर्ने बताइएको छ । एक वर्षदेखि मुन्दडालाई उनले झुलाउँदै आएका छन् ।

विराटनगरको मेनरोड निवासी सञ्जीवचन्द्र चेलले जीवन बीमा वापत दिएको भारू ३५ हजार लिएर बीमा कम्पनीलाई नबुझाएको थाहा भएको छ । सो  रकम माग्दा बिहारीले दिन्छु भन्दै दुई वर्षदेखि झुलाउँदै आएको छन् ।

विराटनगरको किरण पाउरोटीका सञ्चालक अमर व्यास, हार्डवेयर पसले विवेक पराजुली, ए टु जेड मोबाइल पसलका सञ्चालक महावीर डाँगालगायत धेरै मानिसहरू बिहारीको चंगुलमा फँसिसकेका छन् । विराटनगरको बाटा रोडको फेमस टेलर्सका सञ्चालक अस्मत अली पनि विहारीबाट पीडित छन् । ज्ञानेश्वर पण्डितलगायत धेरै जनाको पैसा खाएपछि अवधेश बिहारी विराटनगर आउन छाडेको बताइएको छ । 

तीन महिना अघि विराटनगर आएको थाहा पाएर विराटनगर–३ को सोमबारे हाटमा पीडितहरूले उसलाई घेरेका थिए । त्यसबेला उनी प्रदिप लुनियाँको जमानीमा छुटेका थिए ।

उनीबाट ठगिएकाहरूले एलआईसीको केन्द्रीय कार्यालय मुम्बईमा उजुरी गरेका थिए । केन्द्रीय कार्यालबाट एक टोली आई छानविन गरेर गएको थियो । तर अररियाको ब्राञ्च म्यानेजर महमद एहसानले बिहारीलाई संरक्षण दिएकाले ठगीको उजुरी गर्दा पनि कुनै कार्वाही नभएको बताइएको छ ।

View : 238

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved