Biratnagar, Morang, Nepal
१५ असार २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगर विमानस्थलमा आपतकालीन उद्धार अभ्यास

उद्घोष सम्वाददाता
२७ जेठ २०८१, आइतवार

विराटनगर । विमान उडान र अवतरणका क्रममा हुन सक्ने दुर्घटनाजन्य आगालागीका घटनालाई समयमै नियन्त्रण गर्ने उद्देश्यले विराटनगर विमानस्थलमा प्रयोगात्मक अभ्यास गरिएको छ । शनिबार विहान विमान दुर्घटनाको अवस्था श्रृजना गरेर उद्धार र आगो नियन्त्रणको अभ्यास गरिएको हो ।

आपत्कालीन अवस्थामा आइपर्न सक्ने जोखिमलाई न्यूनीकरण गर्न विराटनगर विमानस्थलमा पूर्ण क्षमताको आपतकालीन उद्धार अभ्यास गरिएको छ । दुर्घटनापछि आगलागीको अवस्था श्रृजना गर्दै आगो निभाउने र घाइतेहरुको उद्धारको अभ्यास गरिएको छ । अभ्यासमा विमानस्थलमा कार्यरत सुरक्षा निकाय, नागरिक उड्डयन कार्यालयका कर्मचारी, विभिन्न एयरलाइन्सका कर्मचारी, रेडक्रस सहित सरोकारवाला विभिन्न निकायका प्रतिनिधि सहभागी भएका थिए । 

अभ्यासको क्रममा विराटनगर विमानस्थल रनवेको पश्चिम दक्षिणतर्फको खाल्डोमा पेट्रोल खन्याएर आगलागीको अवस्था श्रृजना गरिएको थियो । त्यसअघि नै वारुणयन्त्रलाई तयारी अवस्थामा राखिएको थियो भने अग्नि नियन्त्रक कर्मचारीहरू समेत आवश्यक उपकरण सहित तम्तयार अवस्थामा थिए ।

लगत्तै अभ्यासमा खटिएका कर्मचारीले पेट्रोल खन्याइएको खाल्डोमा आगो सल्काउने बित्तिकै विमानस्थलमा जडान भएको आपतकालीन साइरन एकतमासले बज्न थाल्यो । अभ्यासमा खटिएका अग्नि नियन्त्रक कर्मचारी, एम्बुलेन्स र दमकल  त्यसतर्फर् हुँइकिए । 

अभ्यासका क्रममा खटिएका अग्नि नियन्त्रकहरूले दन्दनी सल्केको आगो दुई मिनेटभित्रै पूर्णरुपमा नियन्त्रणमा लिएका थिए भने काल्पनिक घटनामा घाइते भएका यात्रुलाई प्राथमिक उपचारपछि एम्बुलेन्समा राखेर अस्पतालतर्फ लगिएको थियो । 

विमानस्थलमा हुन सक्ने दुर्घटना र आगलागीको जोखिमलाई तत्काल न्यूनीकरण गर्ने सक्ने उद्देश्यका साथ पुनर्ताजगी अभ्यास गरिएको सम्बद्ध अधिकारीहरूको भनाइ छ । विमान दुर्घटनाको अवस्था सृजना गर्न एक्सरसाइज एयरको नामक काल्पनिक विमान कम्पनीको विमान दुर्घटना भएको अवस्था सृजना गरिएको थियो भने वास्तविक अवस्थामा हुन सक्ने दुर्घटनाजस्तै घटनापछि राहत उद्धारसँगै पत्रकारलाई घटनामा भएको क्षति र अवस्थाको बिषयमा ब्रिफिङ गरिएको थियो ।

विमानस्थलका वरिष्ठ अधिकृत युवराज भण्डारीले घटनाको ब्रिफिङ गरेका थिए । आपतकालीन अभ्यासको क्रममा विराटनगर विमानस्थलबाट हुने उडानको आवागमन समेत केही बेरका लागि ठप्प गरिएको थियो ।

View : 146

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved