विराटनगर । कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । कोशी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चालु चौथो अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।
सरकारको सिफारिसअनुसार कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले अधिवेशन अन्त्य भएको घोषणा गरेका छन् । अधिवेशन बुधबार राती १२ बजेपछि अन्त्य हुने जनाइएको छ ।
बुधबार बसेको चौथो अधिवेशनको अन्तिम २३औं बैठकमा सभामुख अम्बरबहादुर बिष्टले प्रदेश प्रमुख खापुङ्गले अधिवेशन अन्त्य गरेको सूचना पढेर सुनाएका थिए ।
उनले चालु अधिवेशन २०८० असोज १७ गते सुरु भएको जानकारी दिए । चौथो अधिवेशनको २२औं बैठकसम्म ३१ घण्टा ४१ मिनेट बैठक बसेको र बुधबार करीव ४ घण्टा ३६ मिनेट बैठक बसेर जम्मा ३६ घण्टा २० मिनेट चौथो अधिवेशनमा समय खर्च उनले बताए ।
उनले चालु अधिवेशनले पाँचवटा विधेयकहरू पारित गर्नुका साथै प्रदेशसभाका विषयगत समितिहरूको गठन गरेको र रिक्त रहेको सभामुख पदको चयन गरेको बताए । सभामुख बिष्टले अधिवेशनको अन्त्य भएपछिको अवधिमा पनि विषयगत समितिहरूमार्फत प्रदेशसभा क्रियाशील हुने अपेक्षा गरेको बताए ।
View : 268
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved