विराटनगर । धनकुटाकी करुणा कटुवाल नेपाल विद्यार्थी संघको पहिलो महिला अध्यक्ष बनेकी छन् । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघ नेपालको पुरानोमध्येको मुख्य विद्यार्थी संगठन हो ।
पार्टी सभापति गगन थापाले सोमबार कटुवाललाई नेविसंघ अध्यक्ष नियुक्त गरेका हुन् ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको वैशाख २१ गतेको निर्णय बमोजिम सभापति थापाले विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको भ्रातृ सस्था नेविसंघको अध्यक्षमा कटुवाललाई नियुक्त गरेका हुन् ।
करुणाको काँधमा अब नेविसंघको महाधिवेशन गर्नुपर्ने जिम्मेवारी आएको छ । २०७२ पछि नेविसंघमा महाधिवेशन भएको छैन ।
नेपाल विद्यार्थी संघ नेपालको सबैभन्दा पुरानो र प्रभावशाली विद्यार्थी संगठनमध्ये एक हो । यसको स्थापना वि.सं. २०२७ साल वैशाख ६ गते भएको थियो ।
नेपाली कांग्रेसको वैचारिक निकटतामा स्थापित यस संगठनले नेपालमा प्रजातन्त्र, बहुदलीय व्यवस्था, मानवअधिकार र शैक्षिक सुधारका आन्दोलनहरूमा महत्वपूर्ण भूमिका खेलेको छ ।
प्रारम्भिक चरणमा संगठनले भूमिगत रूपमा गतिविधि सञ्चालन गर्नुपरेको थियो ।
पछि २०३६ सालको विद्यार्थी आन्दोलन, २०४६ सालको जनआन्दोलन र २०६२÷६३ को लोकतान्त्रिक आन्दोलनमा नेविसंघ अग्रपंक्तिमा देखियो ।
नेविसंघले शिक्षा क्षेत्रमा सुधार, विद्यार्थी अधिकार, शुल्क नियन्त्रण, छात्रवृत्ति, क्याम्पस स्वतन्त्रता र युवाको नेतृत्व विकासका मुद्दामा पनि आवाज उठाउँदै आएको छ ।
पूर्वसभापति शेरबहादुर देउवादेखि हालका सभापति गगन थापासम्म नेविसंघबाटै पार्टी राजनीतिमा आएका नेताहरू हुन् ।
आफूले पनि संघको इतिहास र वर्तमान अवस्थाका आवश्यकताका आधारमा संघलाई अघि बढाउने कटुवालले प्रतिबद्धता जनाएकी छन् ।
समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरणसहित कटुवाललाई जिम्मेवारी दिइएको कांग्रेसले जनाएको छ ।
कटुवाल यसअघि नेविसंघ केन्द्रीय सदस्य थिइन् भने कांग्रेस महाधिवेशन प्रतिनिधि पनि थिइन् । गएको पुसमा भएको कांग्रेसको विशेष महाधिवेशनमा करुणा सक्रियतापूर्वक खटिएकी थिइन् ।
नेविसंघ लामो समयदेखि तदर्थ समितिको भरमा सञ्चालित छ । यसअघि तत्कालीन सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पालाई मनोनीत गरेका थिए ।
तोकिएको समयमा महाधिवेशन गर्न नसकेको भन्दै कांग्रेसले ५ भ्रातृ संस्था स्वतः विघटन गरेको थियो । नेपाल महिला संघ, तरूण दल र नेविसंघमा अहिले नेतृत्व चयन गरिएको छ ।
View : 111
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved