Biratnagar, Morang, Nepal
३ असोज २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीमा देउवा–शेखर दुवै कमजोर, गगनतिर नेताहरुको ओइरो

विशेष महाधिवेशनमा सहभागी नभएका  नेताहरूलाई हालैको केन्द्रीय कार्यसम्पादन समिति बैठकले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यकै हैसियतमा वर्तमान केन्द्रीय समितिमा समायोजन गर्ने निर्णय गरेको थियो ।  त्यसपछि थापाले उनीहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए । त्यही निर्णयपछि पहिलोपटक बसेको केन्द्रीय समिति बैठकमा देउवा र शेखर निकट नेताहरू सहभागी भएका हुन् ।
उद्‌घोष संवाददाता
२ असोज २०८३, शुक्रवार

Advertisement

विराटनगर । नेपाली कांग्रेसले  १५ औँ महाधिवेशनको प्रक्रिया अघि बढाइरहेका बेला  निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला निकट नेताहरु धमाधम सानेपा फर्किन थालेका छन् । 

कोशी प्रदेशका उल्लेख्य संख्याका नेताहरु मूल कांग्रेसमा फर्केका हुन् । बिहीबार मात्रै संस्थापन इतर समूहका ५१ नेता पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर सभापति गगन थापा नेतृत्वमा भएको बैठकमा सहभागी बनेका छन् ।

विशेष महाधिवेशनमा सहभागी नभएका  नेताहरूलाई हालैको केन्द्रीय कार्यसम्पादन समिति बैठकले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यकै हैसियतमा वर्तमान केन्द्रीय समितिमा समायोजन गर्ने निर्णय गरेको थियो । 

त्यसपछि थापाले उनीहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए । त्यही निर्णयपछि पहिलोपटक बसेको केन्द्रीय समिति बैठकमा देउवा र शेखर निकट नेताहरू सहभागी भएका हुन् ।

सानेपा फर्किने यो समूहमा कोशी प्रदेशबाट विगतमा देउवा पक्षमा रहेका तर पछिल्लो समय गगन थापा नेतृत्वको संस्थापनतर्फ खुलेका नेताहरूको संख्या पनि उल्लेख्य छ । 

मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, सरस्वती बजिमय, उमेशजंग रायमाझी, सीता गुरुङ, प्रदीपकुमार सुनुवार, माया राई, महेन्द्र लिम्बू,  भीम पराजुलीलगायत देउवा निकट नेताहरु बैठकमा सहभागी भएका छन् ।

त्यसो त उनीहरुभन्दा केही समय अघि नै देउवा पक्षमै रहेका कोशीका नेताहरु लक्ष्मी परियार, आङ्गेलु शेर्पा र राजीव ढुंगाना  पनि यसअघि नै देउवा समूह छाडेर गगन नेतृत्वको संरचनामा समाहित हुने बाटो रोजिसकेका छन् । 

वैशाखमा गगनले मनोनित गरेका १९ केन्द्रीय सदस्यमध्ये लक्ष्मी परियार, आङ्गेलु शेर्पा र राजीव ढुंगाना देउवा पक्षबाट आएका थिए ।

कोशीमा देउवाको पक्षमा अहिले कृष्णप्रसाद सिटौला र दीपक खड्का मात्रै रहेको दाबी गरिएको छ । यसअघि देउवा–सिटौला समीकरणमा रहेका धेरै नेता गगन नेतृत्वको संरचनातर्फ गइसकेका छन् ।

देउवा समूहमा मात्र होइन, कोशीमा डा. शेखर कोइराला नेतृत्वको संस्थापनइतर समूहमा पनि पछिल्ला महिनामा निरन्तर क्षयीकरण देखिएको छ । 

हालै मात्रै रुक्मणि कोइरालाले शेखरको साथ छाडेकी छन् । यसअघि सुजाता कोइराला, राजीव कोइरालालगायत नेताहरू पनि शेखर समूहबाट अलग भएका थिए । 

‘हामी केन्द्रीय कार्यालय आएका छौं । १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनका लागि सबै तहबाट पहल गरौं भन्ने हाम्रो अपिल छ,’ बिहीबार सञ्चारकर्मीसँग मीन विश्वकर्माले भने ।

त्यसो त यसअघि नै १४औँ महाधिवेशनमा कोशी प्रदेश सभापतिका उम्मेदवार बनेका डा. शेखरका निकट मानिने गुरुराज घिमिरे विशेष महाधिवेशनकै क्रममा अर्को धारमा लागेर महामन्त्री भइसकेका छन् ।  

कोशी कांग्रेसको संस्थापनइतर समूहको अवस्था प्रदेशसभामा पनि कमजोर बनेको छ । २०७९ को निर्वाचनपछि कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा नौ मत पाएका पूर्वमुख्यमन्त्री केदार कार्कीसँग अहिले त्यसमध्ये दुई जनाको मात्र समर्थन रहेको नेताहरूको दाबी छ ।

प्रदेशसभामा कांग्रेसका २९ सांसद छन् । तीमध्ये केदार कार्की, भूपेन्द्र राई, भूमिप्रसाद राजवंशी र रामकुमार खत्री मात्रै संस्थापनइतरतर्फ रहेको बताइएको छ । बाँकी सांसदहरू संस्थापनतर्फ खुलेका छन् । 

यसअघि २०७९ को संसदीय दलको निर्वाचनमा पनि कोशी कांग्रेसभित्र शेखर र सिटौला समूह छुट्टाछुट्टै देखिए पनि दुवै समूहको ठूलो हिस्सा संस्थापनविरुद्ध उभिएको थियो । 

त्यतिबेला उद्धव थापा सिटौला समूहका तर्फबाट र केदार कार्की शेखर समूहका तर्फबाट संसदीय दलको नेतृत्वका लागि प्रतिस्पर्धामा थिए । अहिले भने समीकरण उल्टिएको छ । 

पूर्वमुख्यमन्त्री कार्की र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालगायत सीमित नेता मात्र शेखरको पक्षमा उभिएका छन् । देउवा सत्ता र पार्टी दुवैमा प्रभावशाली हुँदा कोशीको राजनीति सम्हाल्दै आएका पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समेत देउवालाई अप्ठ्यारो परेको समयमा साथ छाडेका छन् ।

View : 134

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved