Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

विशेष शिक्षालाई प्रविधिसँग जोड्दै जनता क्याम्पस

उद्‌घोष संवाददाता
२० माघ २०८२, मङ्गलवार

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) र दक्षिण कोरियाको  अग्रणी विश्वविद्यालय परियोजना अन्तर्राष्ट्रिय सहकार्य (लुपिक) बीचको सहकार्यमा विराटनगरमा विशेष आवश्यकता भएका बालबालिकाको शिक्षा (एसएनई) का लागि सूचना प्रविधि तथा सङ्केतीकरण (आईटी टेक्नोलोजी फर स्पेसियल एजुकेशन विद कोडिङ च्यालेञ्ज) प्रतिस्पर्धा सम्पन्न भएको छ ।

विराटनगरस्थित जनता आदर्श बहुमुखी क्याम्पसमा मंगलबार आयोजित उक्त प्रतिस्पर्धामा ’विशेष आवश्यकता भएका बालबालिकाको शिक्षा’ (एसएनई) अध्ययनरत विद्यार्थीहरू सहभागी थिए ।

सो कार्यक्रमको मुख्य उद्देश्य एसएनई अध्ययनरत विद्यार्थीलाई सूचना तथा प्रविधि (आईटी) सँग जोड्नु रहेको थियो ।

क्याम्पस प्रमुख एवं निर्देशक महेश निरौलाका अनुसार, सन् २०२० देखि लुपिकसँगको सम्झौता अनुसार स्नातक तहमा ‘विशेष आवश्यकता भएका बालबालिकाको शिक्षा’ लाई मुख्य विषयका रूपमा अध्यापन गराउन थालिएको हो ।

यस विषयको पहिलो ब्याचका विद्यार्थीहरूले चार वर्षको अन्तिम परीक्षा समेत दिइसकेका छन् ।

विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि दक्षिण कोरियाका आईटी विज्ञ प्राध्यापकहरूले पटक–पटक क्याम्पसमा आएर तालिम प्रदान गर्दै आएका छन् । मंगलबारको कोडिङ च्यालेञ्जमा सहभागी विद्यार्थीहरूलाई ६ वटा समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो ।

प्रतिस्पर्धाका विजेताहरूलाई लुपिकका निर्देशक प्राध्यापक जङ, प्राध्यापक लीले नगद पुरस्कार प्रदान गरे । कार्यक्रममा लुपिकका नेपाल व्यवस्थापक किम इयुनयोङ को पनि विशेष उपस्थिति थियो ।

कोडिङ च्यालेञ्जमा निर्णायकको भूमिका पूवि विज्ञान तथा प्रविधि संकायका आईटी प्रशिक्षक मनोज हलवाई, सह–प्राध्यापक अजय शाह र वसन्त पौडेलले निर्वाह गरेका थिए ।

View : 767

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved