Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

पश्चिमी वायुसामु मनसुन निरीह, ह्वात्तै बढ्यो गर्मी

जल तथा मौसम विज्ञान विभागले दिएको जानकारीअनुसार बुधबारदेखि कोशी प्रदेशसहित देशका विभिन्न भागमा पानी पर्ने प्रणाली विकसित हुने सम्भावना छ ।
उद्‌घोष संवाददाता
२७ जेठ २०८२, मङ्गलवार

विराटनगर । विराटनगर–१९ घिनाघाटका प्रेमराज राजवंशी महानगर क्षेत्रमा सिटी सफारी चलाउँछन् । सोमबार दिउँसो विराटनगरको बुद्धचोकमा यात्रु पर्खेर बसिरहेका उनी भन्दैथे ‘प्यासेन्जर नपाए पनि सिटी कुदाइराखु जस्तो भएको छ । गर्मीमा थोरै भएपनि हावा खान त पाइन्छ ।’

केही दिनयता बढेको गर्मीको प्रत्यक्ष मारमा परेका लाखौं सर्वसाधारणका एक प्रतिनिधि पात्र राजवंशीले सोमबार भने सिटी चलाइरहँदा पनि शितल अनुभव गर्न गाह्रो परेको सुनाए ।

‘अरुबेला चर्को घाम लागे पनि हावा चल्दा शितल हुन्थ्यो, आज त हावा पनि चलेको छैन’ उनले भने ‘अलिअलि चलेको हावा पनि तातो छ ।’

उच्च गर्मी होस् या जाडो, दिनभरि सडकमा यात्रु ओसारेर बिताउने प्रेमराजको जस्तै ‘तातो हावा’ चलेको अनुभव विराटनगरबासीले दुई दिनयता गरिरहेका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपणअनुसार यस्तो अनुभवका दिन विराटनगरसहित तराईका धेरै जिल्लामा अरु लम्बिन सक्छ ।

‘विराटनगरसहित तराईका जिल्लामा अहिलेकै जस्तो गर्मीको अवस्था मंगलबार दिनैभरि पनि विद्यमान हुने अवस्था देखिन्छ’, जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद मीनकुमार अर्यालले भने । 

वरिष्ठ मौसमविद् अर्यालका अनुसार लगातार दुई वा तीन दिन अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यो भन्दा बढी भएपछि हावा पनि तातो नै चल्न थाल्छ ।

‘यसलाई मौसम विज्ञानको भाषामा तातो दिन भनिन्छ’, उनले भने, ‘विराटनगरसहितका सहरहरूमा दुई दिनयता दिनहरू तातो नै भएका छन् । त्यसैले हावा तातो लागेको हो ।’

उनका अनुसार बुधबारबाट मनसुनी वायु कोशी प्रदेशमा केही सक्रिय हुने सम्भावना छ । मनसुनी वायु मात्रै सक्रिय भएर पानी पर्ने सम्भावना हुँदैन ।

पानी पार्नलाई मनसुनी वायु, स्थानीय वायु र पूर्वेली हावाको संयुक्त प्रभाव चाहिन्छ ।

‘अहिले मनसुनी वायु नेपाल प्रवेश गरिसकेको भए पनि पश्चिमी वायुकै उपस्थिति बलियो छ’, उनले भने ‘त्यसैले मनसुन सक्रिय हुनै सकेको छैन ।’ 

मनसुन सक्रिय भएर पानी पर्न थाले मात्रै वर्षा हुने र त्यसले अधिकतम तापक्रम घटाउने सम्भावना हुन्छ ।

‘बुधबारबाट देशैभरि आंशिक बदली भएर मौसममा फेरबदल आउने सम्भावना छ’, उनले भने ‘मंगलबार रातिसम्म मौसममा फेरबदलको सम्भावना कमजोर छ ।’ 

मौसमविद्का अनुसार नेपालमा राम्रोसँग पानी पार्न बंगालको खाडीमा सशक्त न्यून चापीय क्षेत्र बन्नुपर्छ । 

मंगलबारसम्म त्यहाँ न्यून चापीय क्षेत्र बन्ने सम्भावना देखिएको छैन । त्यसैले बुधबारबाट मात्रै नेपालमा पानी पर्न थाल्ने सम्भावना रहेको अर्यालले बताए ।

मौसम पूर्वानुमान महाशाखाको अभिलेखअनुसार विराटनगरमा सोमबार अधिकतम तापक्रम ३७ देखि ४० डिग्री सेल्सियससम्म पुगेको छ ।

मंगलबार अधिकतम तापक्रम अझै बढ्ने सम्भावना देखिन्छ । यसले विराटनगरसहितका क्षेत्रमा तातो झनै बढाउने जोखिम छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यसपालि चाँडो मनसुन भित्रिए पनि परिपक्व हुन समय लागेको छ । बंगालको खाडीमा पानी पार्ने न्यून चापीय प्रणाली बन्न समय लागेकाले पनि त्यसको असर नेपालको मनसुनी प्रणालीमा देखिएको छ ।

‘मनसुन चाँडो भित्रिए पनि परिपक्व भइसकेको छैन । यो बलशाली नभएकैले विस्तारित हुनबाट रोकिएको हो’ अर्यालले भने । कोशीबाट विस्तारित हुन समय लाग्नुको अर्को कारण पनि छ ।

नेपालमा हिउँदयाम र प्रि–मनसुन यामभरि पश्चिमी वायुको दबदबा रहन्छ । यो हावा पश्चिमबाट पूर्वतिर बहन्छ । सोमालियाबाट उत्पत्ति भएर बंगालको खाडी हुँदै नेपाल भित्रिने मनसुनी वायु पूर्वबाट पश्चिमतिर बहन्छ ।

बंगालको खाडीतिरबाटै पर्याप्त मोइस्चर (जलवाष्प) बोकेर आउने वायुले नेपालमा मनग्गे वर्षा गराउँछ ।

अहिले पश्चिमी वायु कमजोर भइसकेको छैन । कमजोर मनसुनी वायुलाई त्यसले धकेलेर राखेका कारण कोशीमा पनि धेरै सक्रिय नभएको र यहाँबाट अघि बढ्न नसकेको मौसमविद् अर्यालले बताए ।

‘बंगालको खाडीमा न्यून चापीय प्रणाली बनेको छैन । पश्चिमी वायु कमजोर नभइसकेकाले त्यसले मनसुनी वायुलाई धकेलिरहेको छ । यो क्रम केही दिन रहन्छ । 

असार २८ पछाडि मनसुनी वायुले गति लिने देखिन्छ । त्यसपछि मधेस, बागमती हुँदै नेपालभर फैलने अनुमान गर्न सकिन्छ’ उनले भने । 

बढ्न सक्छ स्वास्थ्य समस्या

लगातार मौसम तात्तिएर गर्मी बढ्दा स्वास्थ्य समस्या पनि धेरैथरी आइरहेको हुन सक्छ । 

पछिल्लो केही दिनयता स्वास्थ्य संस्थाहरूमा मौसमी प्रतिकूलताका कारण विरामीको संख्या बढेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । 

कोशी अस्पतालका डा. रोशन खड्काका अनुसार लगातारको गर्मीले मानिसलाई टाउको दुख्ने, मुटुको गति तिव्र हुने, श्वासप्रश्वास र रक्तचाप कम हुने, छाला सुख्खा हुने, रिंगटा लाग्ने अचेत हुनेसम्मको जोखिम हुन सक्छ । 

प्रचण्ड गर्मीको असरबाट जोगिन चर्को घाममा घरबाट बाहिर ननिस्कने, निस्कनै परे छाता ओढ्ने वा पातलो कपडाले टाउको छोप्ने गर्नुपर्छ ।

प्रशस्त पानी पिउने,  फलफूल र फलफूलको रस सेवन गर्ने, चिसो पानीले नुहाउने, चिनीको मात्रा धेरै भएका चिसो पेय, चिया, कफी, सोडा, मदिरा सेवन गर्न नहुने डा.खड्काको भनाइ छ ।

गर्मीले छटपटी हुने अवस्था आए निधार, छाती, हातखुट्टामा पानीपट्टी गर्ने उपाय गर्न सकिने उनको भनाइ छ । धेरै समस्या आए तत्कालै स्वास्थ्य संस्थामा गएर चिकित्सक भेट्नुपर्ने उनको सुझाव छ ।

View : 665

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved