Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रतिनिधिसभा निर्वाचन

झापामा तीन मतदान केन्द्रको नेतृत्व महिलालाई

उद्‌घोष संवाददाता
१४ फागुन २०८२, बिहिवार

झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ को तीन मतदान केन्द्रकोे नेतृत्व महिलाले पाएका छन् ।

भद्रपुर नगरपालिका–८ स्थित मेची रङ्गशालामा रहेको मतदानस्थलका तीन मतदान केन्द्रको नेतृत्व महिलालाई सुम्पिएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी डिल्लीप्रसाद प्रसाईले जानकारी दिए ।

उनले रङ्गशालामा तीन वटा मतदान केन्द्र रहेका बताउँदै भने, “यहाँको मतदान अधिकृतदेखि कर्मचारी, प्रहरीसमेत महिलालाई तोकिएको छ ।”

उनका अनुसार मतदानस्थलको ‘क’ केन्द्रको बुथमा मतदान अधिकृतको रुपमा घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरकी प्रमुख पुष्पलता उप्रेती रहेकी छन् । सहायक मतदान अधिकृतमा प्रतिक्षा घिमिरे छिन् ।

‘ख’ केन्द्रको बुथमा मतदान अधिकृतको रुपमा विशेष नापी कार्यालय दमककी सृजना पन्त रहेकी छन् भने सहायक मतदान अधिकृतमा जुनु पोखरेल रहेकी छन् ।

‘ग’ केन्द्रको बुथमा भद्रपुर नगरपालिकाकी गोमा दाहाल हुनुहुन्छ भने सहायकमा प्रतिमा राई रहनुभएको उनले जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालयका पाँच वटै निर्वाचन क्षेत्रका मतदान अधिकृतहरुलाई धमाधम निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिरहेको कार्यालयमा प्रमुख तुलसी नेपालले बताए ।

झापामा सात लाख १३ हजार ५३७ जना मतदाता, ८१५ मतदान केन्द्र र २८५ मतदानस्थल रहेका छन् ।

यहाँ ८१५ मतदान अधिकृतसहित चार हजार ९३६ जना कर्मचारी खटाइएको उनको भनाइ छ ।

निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित बनाउन जिल्लाका २८५ वटै मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको र कर्मचारीहरू धमाधम कार्यक्षेत्रमा खटिने क्रम सुरु भएको कार्यालयले जनाएको छ ।

View : 136

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved